चितवन, २८ साउन । सोमबहादुर मगर यतिखेर बाख्रापालनबाट आत्मनिर्भर बनिसकेका छन् । बाख्रा पालनबाटै आत्मनिर्भर बनेका सोमबहादुरकी जीवन संगिनी निर्मला चाडबाड आएपछि ऋण माग्न साहुको दैलो कुर्नु नपरेको बताउँछिन् । बरु दुई–चार हजार अरूलाई सहयोग गर्न सक्षम भएकामा उनी गर्व गर्छिन् । ३२ वर्षीय युवा सोमबहादुरको परिश्रमले गाउँका युवालाई व्यावसायिकताको पाठ सिकाएको छ । गोठमा ५० वटा खसी–बाख्रा छन् । १५ दिनअघि मात्रै १६ वटा खसी उनले बेचे । घरअगाडि आधुनिक प्रणाली अपनाएर बनाएका दुईवटा ठूला खोर छन् । घाँस र दाना खुवाउने ठाउँ फरक छन् । गाउँमा परम्परागत रूपमा गर्ने बाख्रा पालनजस्तो फोहोर छैन । खोर सुग्घर–सफा छ । घाँस, पानी, औषधि उपचार बेलामा पाएर बाख्रा पनि पोसिला छन् । पाँच वर्षयता व्यावसायिक बाख्रापालन थालेका सोमबहादुर अहिले शक्तिखोर गाउँकै ठूला बाख्रापालक बनिसकेका छन् । उनले बाख्रापालन थालेपछि सोमबहादुरकै सल्लाहअनुसार गाउँका १६ जना युवा पनि बाख्रा पालेर आम्दानी बढाउन लागिसकेका छन् ।
तर, यति सजिलै आफूलाई व्यावसायिक बनाउन उनलाई संभव भएको होइन । सोमबहादुर विगत सम्झन्छन, ‘एसएलसी पढेपछि पढ्न जाला, कमाएर ल्याउला भनेको थोत्रो डोको बोकेर घाँस रोप्न पो थाल्छ । हामीले पनि जिन्दगीभर त्यही गर्यौँ । अहिलेसम्म सुख पाएनौँ । यसले पनि जीवनभर घाँस–दाउरा र माटो खोतलेर नै जीवन बिताउने भो ।’ ०५५ सालमा एसएलसी पास गरेका उनको क्रियाकलाप देखेर गाउँभरिकाले यसरी खास्खुस् कुरा काट्न थाले । मनखानेले सिधै भने, ‘पढ्न नगएर बिग्रिइस् ।’ परिवारको दु:ख भने सोमबहादुरलाई नै थाह थियो । पढ्नका लागि उनका हातमा खर्च थिएन । बाबुआमाले बनिबुतो गरेर पाखोबारी खोस्रिएर आएको कमाइ त खान ठिक्क । त्यसैले उनी जिल्ला वन कार्यालयले कबुलियती वन भनेर दिएको घाँस लगाउने कार्यक्रममा सहभागी भए । ‘गाउँलेले नमीठो गरी भनेको सुन्नुभन्दा लुकीलुकी घाँस रोप्थेँ,’ सोमबहादुरले भने ।
कबुलियती वन साढे दुई बिगाह लिएर उनले उन्नत जातका घाँस लगाए । जिल्ला वनको समूहमा पनि सहभागी थिए उनी । तर, सोमबहादुरले लगाएको घाँसले एकैपटक आम्दानी बढाउन पुर्याएन । उनले घाँस लगाउन आफ्नो एक बिगाह जग्गा पनि छोडेनन् । डोको बोक्दै घाँसका बिरुवा सार्दै दिन बिताउन थालेका थिए । ‘पढ्नलाई खर्च थिएन । त्यसैले आफ्नै घरगाउँमा व्यावसायिक किसान बन्ने चाहना मलाई थियो ।’ भर्खर एसएलसी दिएको ठिटो गाउँमै उदाहरणीय किसान बन्ने इख लिएर अगाडि बढे पनि ०६४ सालसम्म चाहनाले मूर्त रूप लिन सकेन ।
आफ्नो इच्छा पूरा हुन नसकेपछि सोमबहादुरको गाउँमै उदाहरणीय बन्ने चाहना बिस्तारै सेलाउँदै गएको थियो । त्यतिबेला २५ वर्ष भएका सोमबहादुर मलेसिया गएर काम गर्न ठिक्क परेका थिए । पासपोर्ट तयार थियो । विदेश पठाइदिने भनेको कम्पनीसँग कुराकानी पनि भइसकेको थियो । त्यही वर्ष सरकारले गाउँमा खर्च जुटाउन नसकेर आफ्नो कृषि कामलाई व्यावसायिक रूप दिननसकेका आफूजस्ताका लागि युवा स्वरोजगार कार्यक्रम ल्याएको भन्ने उनले थाहा पाए ।
गाउँको एउटा काम लिएर जिल्ला पशु कार्यालय चितवनमा पुग्दा उनले भित्तामा टाँसिएको पम्प्लेट देखे । त्यही पम्प्लेटमा लेखिएको जानकारीले उनको विदेश जाने बाध्यता भंग भयो । युवा स्वरोजगार कार्यक्रमअन्तर्गत किसान युवालाई सहयोग गर्ने भनिएको तीस हजार रुपियाँ लिनका लागि जिल्ला पशुसेवा कार्यालय चितवनमा प्रक्रिया पूरा गरी आवेदन दिए उनले । कार्यालयले उनको आवेदनको अनुगमनपछि स्वीकृत गर्दै तीस हजार रुपियाँ स्वरोजगार बन्न सघायो । अनि विदेश जान खोजेको रकमबाट बीस हजार थपेर पचास हजार लगानीमा दसवटा माउ बाख्रा किनेर उनले आधुनिक खोर बनाए ।
‘त्यतिबेला पाँच वर्षको योजना गरेर बाख्रापालन थालेको थिएँ ।’ व्यावसायिक बाख्रापालन थाल्दा बनाएको योजना सुनाउँदै उनले थपे, ‘पाँच वर्षमा दश लाख आम्दानी गर्ने योजना थियो । योजनाभन्दा बढी १६ लाख रुपियाँ आम्दानी भयो ।’ आफ्नो योजना सफल भएपछि सोमबहादुरका परिवार बाख्रापालनमा हौसिएका छन् । उनले अबको दस वर्षमा ५० लाखको आम्दानी गर्ने योजना गरेर बाख्रा पालन गर्ने बताए ।
सोमबहादुरका अनुसार बाख्रा पाल्दा समयमा नाम्ले, जुकालगायतका रोगको औषधि बेलाबेलामा खुवाउने, समयमा घाँसपानी दिएमा नौदेखि १० महिनामा बाख्रा बेच्न उपयुक्त हुन्छ । अन्य किसानलाई पनि व्यावसायिक कृषि खेती गर्न उनले सुझाव दिएका छन् ।
चितवनमा सोमबहादुर मात्रै होइन, जिल्ला कृषि विकास कार्यालय चितवनबाट युवा स्वरोजगार कार्यक्रमअन्तर्गत अनुदान सहयोग लिएका एक सय ३९ जना युवाले जीविकोपार्जनका लागि व्यावसायिक कृषि थालेको जिल्ला पशुस्वास्थ्य कार्यालय चितवनका प्रमुख विष्णुकुमार श्रेष्ठले बताए ।
प्रतिक्रिया