सेयरमा सुधार देखिएन

काठमाडौ, २८ साउन । सेयर बजारमा गतसाता पनि सुधारको संकेत देखिएन । युवा संघको नेतृत्वमा सुरु भएको आन्दोलनसँगै यातायात व्यवसायीले पनि आफ्नो माग राखी सवारीसाधनको आगमन बन्द गरेपछि सेयरमा सुधार आउन नसकेको हो ।

योभन्दा अघि भने सेयरमा केही सुधार देखिएको थियो । अहिले सेयरमा लगानी गर्ने उपयुक्त समय भएको लगानीकर्ताले बताएका छन् । चिलिमे हाइड्रोपवार कम्पनीका सञ्चालक यमकुमार श्रेष्ठ भने सूचीकृत कम्पनीले लाभांश घोषण गरिहेको र सेयर खरिदको रसिदले नै ‘सेयर कर्जा’ पाउने प्रावधान सुरु भएकाले सुधार आउने बताउँछन् । बंैकमा निक्षेप राख्नुभन्दा सेयरमा लागनी गर्दा बढी प्रतिफल पाइने हुँदा अबका दिनमा सेयरमा सुधार देखिनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।
गतसाता स्टक एक्सचेन्जमा एक सय १२ कम्पनीको कारोबार भएको थियो । जसमा पाँच हजार पाँच सय ९९ कारोबारबाट २७ करोड ३३ लाख ७९ हजार हजार रुपियाँ बराबरका नौ लाख ३५ हजार ६ सय ८५ कित्ता सेयर खरिदबिक्री भएका छन् । योभन्दा अघि एक सय १० कम्पनीको कारोबार भएको छ । जसमा पाँच हजार तीन सय ६१ कारोबारबाट २० करोड ८० लाख ७३ हजार रुपियाँ बराबरका ६ लाख ९० हजार पाँच सय १० कित्ता सेयर खरिदबिक्री भएका थिए । कारोबार रकम गतसाताका तुलनामा ३१.३९ प्रतिशतले वृद्धि भएको हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र १९ करोड ८० लाख रुपियाँ बराबर कारोबार भएको छ । यो कुल कारोबारको ७२.४३ प्रतिशत हो ।
साताको नेप्से परिसूचक पहिलो दिनका तुलनामा शून्य दशमलव ४७ अंकले र्‍हास भई अन्तिम दिन चारसय २ दशमलव ४७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा शून्य दशमलव १९ अंकले र्‍हास भई एक सय २ दशमलव ३६ अंकमा पुगेको छ ।
यो साता कारोबार रकम सात करोड १७ लाख रुपियाँका आधारमा चिलिमे हाइड्रो पावर कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर दई लाख ८४ हजार तीन सय ८० कित्ताका आधारमा किस्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्याका आधारमा सात सय सातवटाका आधारमा चिलिमे नै अग्रस्थानमा रहेको छ । साताका उत्कृष्ठ पाँच कम्पनीमा चिलिमे हाइड्रो, किस्ट, एभरेस्ट बंैक, बैंक अफ काठमाडौं र ग्रान्ड बंैक रहेका छन् । गतासाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन । सेयर सूचीकरणतर्फ पु्रडेन्सियल फाइनान्स कम्पनी रहेका छन् ।

प्रतिक्रिया