२४ दिनमा ३० को मृत्यु

धादिङ : चालकको लापरबाही र लामो दूरीमा एक मात्र सवारीचालकको व्यवस्था गर्ने यातायात व्यवसायीका कारण पृथ्वी राजमार्ग ज्यानमारा बन्दै गएको छ ।
पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङखण्डमा २५ साउनसम्ममा १४ सानाठूला दुर्घटना भएका छन् । दुर्घटनामा ३० ले ज्यान गुमाइसकेको र ५० भन्दा बढी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
राजमार्गमा अत्यधिक सवारीको चाप, तीव्र गति, भत्केको सडक दुर्घटनाको मुख्य कारण बन्न पुगेको छ । साँघुरो सडक, घुमाउरा मोड त्यसमा पनि उत्तेजित प्रकारका होर्डिङबोर्ड राखिनु पनि दुर्घटनाको कारण बनेको छ । सडकको बिग्रँदो अवस्था, सवारीसाधन पुरानो हुनु, रात्रिकालीन र लामो दूरीमा गुड्ने सवारीमा एक जना मात्र चालक हुनुजस्ता कारणले पनि सवारी दुर्घटना बढेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक विनोद घिमिरेले बताए ।
चालकको लापरबाहीका कारण पनि दैनिकजसो दुर्घटना हुने गरेको छ । चालकलाई उचित मात्रामा तालिम नदिनु र सडकको बिग्रँदो अवस्थालाई बेलैमा मर्मत नगरिनु सवारी दुर्घटनाको अर्काे कारण रहेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रमुख एवं प्रहरी निरीक्षक हेमन्त थापा बताउँछन् । नदीका किनारबाट सडक निर्माण भएको र सडकका छेउमा प्याराफिट र ग्याबिन नराखिनाले दुर्घटना बढी भएको उनको भनाइ छ ।
राजमार्गको छेउबाट कच्ची सडक निर्माण तथा ठूला मोड र तीव्र गतिले गर्दा वर्षायाममा बढी दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया