सर भएर पनि धोती लाउने ?’ पहिलोपटक गणेश सरलाई देख्दा जिज्ञासा उठ्यो । मैले त सर्ट पाइन्टमा सजिएका सरहरू मात्रै देखिरहेको । सिन्धुपाल्चोकको पुरानो र चर्चित स्कुल– ऐँसेलुखर्क मावि । माध्यमिक तहको अध्ययनका लागि त्यता लागेको म । कक्षा आठमा भर्ना भएदेखि नै अनौठो पात्रका रूपमा लिएँ उहाँलाई । कति दिन त उहाँ पढाउन आउनुभएन । हाम्रो कक्षामा विषय परेनछ । म भने उहाँको बोली सुन्न इच्छुक । हाफटाइममा अरू साथीहरू खेल्न लाग्थे । म उहाँको वरिवरि झुमिरहन्थेँ । एकनासले चुनासूर्ति मोल्दै चेसमा दृष्टि पुर्याउनुहुन्थ्यो । आधा घन्टा कुर्दा एक–दुईपटक केही बोलेको सुनिन्थ्यो, केही नबुझिने । हाम्रो गाउँ कुञ्चोकबाट अढाई घन्टा लाग्थ्यो ऐँसेलुखर्क पुग्न । आठ–दसजना साथी हुन्थ्यौँ त्यहाँ पढ्न जाने । नौ, दस कक्षाका साथीहरू स्कुल र सरहरूका विशेषता तथा थेगोका बारे बाटाभरि गफ गर्थे । हेडसर श्यामानन्द मिश्रको ‘फलत:’ भन्ने थेगो छ भन्थे । गणेश सर (गणेश मिश्र) चाहिँ विज्ञान, गणित, अंग्रेजी, नेपालीलगायत सबै विषय पढाउन सक्ने । र, अर्को कुरा कुनै पनि विषय पढाउन किताब नचाहिने । पढाउन थाल्दा ‘उफ्’ भन्दै हात टाउकामाथि पुर्याएर पाखुरा सुर्कने । चौधरी सर (उमेशचन्द्र चौधरी) चाहिँ पहिले ‘चोट्टा’ भन्नुहन्थ्यो रे विद्यार्थीलाई । विद्यार्थीहरूको संगठित विरोधपछि त्यसो भन्न छाडेको भन्ने सुनेँ, मैले यो शब्द सुन्न पाइनँ ।
ऐँसेलुखर्क साँच्चै सुन्दर ठाउँ । डाँडोलाई कोपेर सय बाइ पचास मिटरको चौर बनाइएको थियो । ठूल्ठूला विद्यालय भवन । सँगै रणनैनेश्वर मन्दिर र धर्मशाला पनि । लप्सीको ठूलो रूख । विद्यालयको पुरानो भवननजिकै बूढो स्याउको रूख । नवलपुरबाट सल्लाघारी छिचोल्दै विद्यालय पुग्न लाग्दा ढक्क मन फुल्थ्यो । काँडा उम्रेजस्तो हुन्थ्यो शरीरमा । सायद बिरानो ठाउँ र साँघुरो विद्यालय परिसरबाट त्यस्तो ठाउँमा पुग्नु परेकाले त्यसो भएको होला । कक्षा आठमा असीको संख्यामा विद्यार्थी । त्यहाँ होमवर्क चेक गर्ने वा एक–एकलाई सोधेर पाठ पढाउने भन्ने त कुरै थिएन । हाजिर गर्दा पनि एकदम तयार भएर बस्नुपर्ने बोल्नलाई, नत्र छुटिहाल्ने । पाँचवटा विद्यालयबाट निमावि अध्ययन सकेर आउने विद्यार्थीको भेटघाट भएको त्यहाँ । सरहरूले चिन्ने कुरै थिएन । साथीहरूबीच बिस्तारै चिनजान हुन थाल्यो । आठ कक्षाको रिजल्ट भएछ । ‘तँ थर्ड भइछस्’ भनेर साथीहरूले सुनाए । पत्याउन सकिनँ । पाँच ठाउँबाट आउने त फस्टब्वाइ मात्र छन् । म त महेन्द्र निमाविबाट सेकेन्ड भएर गएको विद्यार्थी, कसरी थर्ड भएँ होला र ? त्यति विश्वास लागेन । तर, कुरो साँचो हो रहेछ, थर्ड नै भएको रहेछु । लागर्चेबाट आउने मीनबहादुर कटुवाल फस्ट, ऐँसेलुकै खेवाङसिंगे लामा सेकेन्ड भएछन् । फस्ट हुने नम्बर भएर पनि हाम्रो विद्यालयबाट फस्ट भएर जाने दिनेश अधिकारीलाई नेपाली विषय लागेर उनी पछि परेछन् । म नौ कक्षाको थर्ड ब्वाई । ठूलो विद्यालय, ठूलै कक्षा र ठूलै स्थान । मन ढक्क फुथ्ल्यो । धेरैले चिने । सरहरूले पनि चिन्न थाल्नुभयो । मलाई भने कोर्सबुक पटक्कै पढ्न मन नलाग्ने । सामान्यज्ञान पढ्थेँ हाजिरजवाफमा जित्न । कविता, कथा, उपन्यास पढ्थेँ रमाइलाका लागि । समस्या के पर्यो भने सरहरूले उभ्याएर सोधिदिने । बेइज्जत नै हुने अवस्था भयो । अंकगणित सजिलै लाग्थ्यो । बीजगणित र ज्यामिति भनेपछि पट्यार लाग्ने । बीजगणितको सूत्र हेर्दा नै दिक्क लाग्थ्यो । यो सूत्र जिन्दगीको कुन ठाउँमा प्रयोग हुने होला भनेर सोच्थेँ । बिहीबार र शुक्रबार ज्यामितिको पालो । बिहीबार पढाउने र शुक्रबार सोध्ने । पढाउने उनै गणेश सर । ‘अरे, भारती बता त’ भन्दै उहाँ मलाई साध्य (थिअरम) प्रमाणित गर्न लगाउने । सबैको अगाडि आएर ब्ल्याकबोर्डमा लेखेर साध्य प्रमाणित गर्नुपर्ने । ओहो कति कठिन काम † साथीहरूसामु लज्जित हुनु थिएन, फत्ते गर्थें काम । गणेश सरको थिअरम प्रमाणित गर्ने तरिका नै फरक, किताबको जस्तो होइन । ध्यान दिएमा छिट्टै टिप्न सकिन्थ्यो ।
आठ कक्षा पढ्दै गर्दाको कुरो हो । कोही साथीले खबर ल्यायो, ‘गणेश सरले बोलाउनुभएको छ’ भनेर । कुरो सुनेपछि शरीरमा भय तरंगित भयो । ‘केही गल्ती गरेजस्तो त लाग्दैन, किन बोलाउनुभएको होला ?’ यस्तो सोच्दै लुरुलुरु उहाँसमक्ष पुगेँ । ‘अरे, डम्बर भारती भनेको तिमी हौ ?’ उहाँको बोली पनि गर्जन भयो, डरले होला । ‘हजुर सर, मै हुँ ।’ घोसे मुन्टो लगाएरै भनेँ । ‘सूचनापाटीमा तिम्रो शुभकामना कविता हेरेँ, राम्रो लाग्यो । ‘सुन्दर’ शब्दमा चाहिँ पातलो ‘स’ प्रयोग गर ।’ सरले यति भनेको मात्र याद भयो । मुन्टो हल्लाएर हिँडे । ‘सुन्दर’ लेख्दा मोटो ‘श’ प्रयोग गरेको रहेछु । त्यसलाई पातलो ‘स’ बनाएँ । सजाय भोग्न गएको मान्छे, ठूलो पुरस्कार मिलेझैँ भयो । छाती फुलेर नाङ्लो जत्रो भयो । दसैँको बिदा हुने समय थियो, सबैलाई दसैँको शुभकामना दिन लेखेको कविता विद्यालयको सूचनापाटीमा टाँसेको थिएँ ।
गणेश सरले कि हामीलाई विज्ञान पढाउनुभयो कि गणित । तर, उहाँ भाषामा पनि उत्तिकै ख्याल गर्ने । खासमा उहाँ भारतीय नागरिक हुनुहुँदो रहेछ । हामी पढ्न जाँदै त्यहाँ डेढ दशक पढाइसक्नुभएको थियो । पढाउँदा कहिल्यै किताब लिनुभएन । गणितको अभ्यास र विज्ञानको सबै पाठ कण्ठ । उदाहरणबाट सिकाउनुहुन्थ्यो । अनि गार्हो लागेको हिसाब सोध्ने वा विज्ञानका पाठ सोध्थ्यौँ ।
यतिखेर धेरै सरहरूलाई सम्झिराखेको छु । राजेन्द्र कोइराला सरको पातलो र अग्लो ज्यान त आकर्षक थियो नै उहाँको वाक्कला उत्तिकै मनमोहक । इतिहास पढाउनुभयो कक्षा आठमा । पाठ यति जीवन्त तरिकाले पढाउनुहुन्थ्यो कि लाग्थ्यो, इतिहासको घटना उहाँले नै हिजो हेरेर आउनुभएको हो र आज हामीलाई सुनाउँदै हुनुहुन्छ । त्यो शैलीकै कारण मैले इतिहासमा चाख राखेँ र डिप्लोमासम्म विषय अध्ययन छुटाइनँ । नरेन्द्र झा सरले अतिरिक्त क्रियाकलापको संयोजन गर्नुहुन्थ्यो । प्रत्येक शुक्रबार हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकला, हिज्जे प्रतियोगिता गराएर विद्यार्थीको प्रतिभालाई तिखार्न लागिपर्नुभयो । त्यसमा हामीले प्रत्यक्ष सहयोग पुर्यायौँ । बोल्ने कलामा मनग्गे प्रगति भयो हाम्रो । पढाइबाहेक अरू विषयमा चासो राख्नुपर्ने कुरामा पनि सचेत भयौँ । विद्यालयबाट हामीले जिल्लास्तरीय हाजिरीजवाफ, हिज्जे तथा निबन्ध–लेखनमा प्रथम स्थान हासिल गर्न सक्यौँ ।
पढ्नु भनेको किताबको कखरा मात्र होइन रहेछ । जीवन, जगत सबै अध्ययनमा अटाउन जरुरी रहेछ भन्ने बुझ्न सक्यौँ । त्यस्ता विषय ज्ञान गराउने सरहरूलाई सम्झँदा श्रद्धा जाग्छ । ओहो, अहिले त ती समय पनि कहाँ पुगिसक्यो † सरहरू पनि कता–कता पुगिसक्नुभयो । राजेन्द्र सरलाई यदाकदा भेटिन्छ । नमस्कार गर्न पाउँदा पनि धेरै दिनसम्म चित्त शान्ति भएको महसुस हुन्छ ।
पक्षीले वेग हानेजस्तै रहेछ मानव जीवन । चाराको खोजीमा भौतारिनुपर्ने । के–के न बितिरहेझैँ हिँडिरहनुपर्ने गन्तव्य थाहा नभएरै पनि । अनि निरन्तर काममा जोतिनु नै जिन्दगीको परिभाषाजस्तो, कसैलाई केही समय निकालेर बोल्न पनि समय नपुगेझैँ । जे होस् ती पल सम्झँदा अहिले पनि मन उल्लसित हुन्छ । एउटा गीतको भाव सम्झन्छु– कसैले केही माग भने, म माग्थेँ बालापन….।
प्रतिक्रिया