काठमाडौं, २७ साउन । आर्थिक समस्याका कारण वन जोगाउन अहोरात्र लागिरहने एक संरक्षणकर्मीको बिचल्ली भएको छ । गरिखाने हातै काटिएपछि संरक्षणकर्मी कैलाली मालाखेतीको मधुमालती प्रस्तावित सामुदायिक वन उपभोक्ता समूहकी ४० वर्षीया अध्यक्ष नन्दादेवी कुँवरको बिच्चली भएको हो ।
उनको गत वैशाख ९ गते बिहान ९ बजे वन अतिक्रमणकारी हरि भाटले मार्न भनी प्रहार गरेको खुर्पा छेक्ने क्रममा दुवै हात काटिएका थिए । घाँटी ताकेर हानेको हातले छेकिएपछि बायाँ हातमा एकपटक र दायाँ हातमा दुईपटकसम्म प्रहार भएपछि हात चुँडिन मात्रै बाँकी थियो । उनले गरेको गाईबाख्रा पालन र खेती किसानीबाट हात परेको दुई/चार पैसाले गुजारा चलेको ६ जनाको परिवारको अहिले बिचल्ली भएको छ । उपचारका लागि कैलाली र काठमाडौं ओहोरदोहोर र खानपिनमा मात्रै अढाई लाख खर्च भइसकेको छ भने २५ हजार रुपियाँ लिएको ऋण तिर्नसक्ने अवस्था छैन । ‘त्योभन्दा ठूलो कुरा के खाएर बाँच्ने र परिवार पाल्ने नै समस्या छ,’ उनले सुनाइन् ‘हिजोसम्म वन जोगाउँथेँ आज आफ्नो र परिवारको जीवन जोगाउन नसक्ने भएँ ।’
समूहकी निडर र संरक्षणमा दत्तचित्त भएर लाग्ने एक मात्र महिला भएकाले उनी गत पुसमा समूहको अध्यक्ष बनेकी थिइन् । उनीबाहेक वन अतिक्रमणकारीसँग पाँैठेजोरी गर्ने अर्को कोही थिएन । आक्रमण भएपछि दुई हात कामै नलाग्ने भएका छन् । उनलाई खाना खुवाउने, दिसापिसाब गराउने, सरसफाइ सबै हेरचाह गर्नुपर्दा उनका श्रीमान्ले भारतको जागिर छाडिसकेकाले आम्दानीको अर्को उपाय छैन । चार सन्तानमध्ये जेठो छोरा बेपत्ता भएको र जेठी छोरी अपांग छिन् भने बाँकी एक छोरा र छोरी विद्यालयमा पढ्दै छन् ।
कमाएर पेट पाल्ने मेलो गर्ने दुवैजना उपचारमा लागिपर्दा आम्दानीको अर्को स्रोत नभएका कारण पूरै परिवार विस्थापित हुने अवस्थामा पुगेको उनका श्रीमान् लक्ष्मीबहादुर गुरागाईंले बताए । ‘अब त परिवारै विस्थापित हुने अवस्था भइसक्यो,’ उनले भने ‘हिजो आफँै काम गरी खान्थ्यौँ अहिले कसैले दिन्छ कि भनेर संघ/संस्थाको ढोका चहार्नुपर्ने अवस्था आयो ।’ कैलाली र काठमाडौंमा गरी दुईवटा अपरेसन गरिसकेको नन्दाको हातको अर्को अपरेसन डाक्टरले दुई महिनापछि गर्नुपर्छ भनेको उनीहरूले बताए । गाडीभाडा र औषधि खर्चका लागि कहिलेकाहीँ अरूले सहयोग गर्ने गरेको र कहिले ऋण गर्नुपर्ने बाध्यता रहेको उनीहरूले बताए ।
सामुदायिक वन उपभोक्ता महासंघले नन्दादेवी कुँवर सहयोग समिति गठन गरेर राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वरमा ३२६५ नम्बरको चल्ती खाता खोलिदिएको छ ।
वन अतिक्रमण गरेर १० मिटर पर तारको जाली सारेर बसेका अतिक्रमणकारी हरि भाटले ९ वैशाखमा ‘जाली हटाएर वन जोगाउने तैँ होस्’ भन्दै खुर्पाले हिर्काएको पीडितले बताइन् । वन अतिक्रमण गरेकै कारण थुनामा रहेका भाटलाई अरू स्थानीय बासिन्दाले दबाब दिएपछि अघिल्लो दिन मात्रै स्वयं नन्दाले थुनामुक्त गराएकी थिइन् । भाटले वनको जग्गा १० मिटर मिचेर सिमानाको तारेबार सारेपछि उनलाई अत्तरिया रेन्जर पोस्टले पक्राउ गरेर थुनेको थियो । त्यसपछि अध्यक्ष नन्दादेवीसहितको टोलीले अतिक्रमण हटाई तारेबार पुरानै ठाउँमा सारेको थियो । दुवै हात काटिदिएपछि भाग्दै गर्दा बाटैमा बेहोस भएपछि उनलाई स्थानीयले कैलालीको पद्मा अस्पताल पुर्याएका थिए । प्रहरीले खोजी गरे पनि भाट अहिलेसम्म पक्राउ परेका छैनन् ।
प्रतिक्रिया