ब्ल्याक डायरीमा भुवनका बाबुछोरा

काठमाडौं : पछिल्ला केही वर्षदेखि आºनै होम प्रोडक्सनका चलचित्र मात्र खेल्दै आएका नायक भुवन केसीलाई अब बाहिरी चलचित्रमा पनि देखिने भएको छ । भुवन मात्र होइन, उनका छोरा अनमोल पनि नायकका रूपमा देखिने भएका छन्, बिहीबार शुभमुहूर्त गरिएको चलचित्र ब्ल्याक डायरीमा । यद्यपि निर्माणसमूहले अहिलेसम्म अनमोलले पनि सो चलचित्रमा अभिनय गर्ने कुरा गोप्य नै रोखेको छ ।
मुहूर्तमा भुवन मात्र उपस्थित थिए, छोरा अनमोल देखिएनन् । प्रदर्शनका बेला अनमोललाई विशेष किसिमले प्रस्तुत गर्न अहिले उनको अभिनय गोप्य राखिएको मुहूर्तमा उपस्थित एक प्राविधिकले जानकारी गराए । भुवनले यसअघि होम प्रोडक्सनको साथी म तिम्रोबाट छोरालाई चलचित्रमा डेब्यु गराइसकेका छन् ।
भुवनको विशेष भूमिका रहेको ब्ल्याक डायरीमा अनमोलका अलावा निकिता शाही, पूजा भट्ट, बबी घिमिरेलगायत कलाकार रहनेछन् । पुराना रंग पत्रकार सविन शाक्यको प्रस्तुतिमा अनुप अधिकारीले यो चलचित्र निर्माण गर्न लागेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन, शंकर महर्जनको द्वन्द्व, मनोजराज भण्डारी र चेतन सापकोटाको संगीत छ । बाइक स्टन्ट गर्ने केटाहरूको जीवनशैली अनि प्रेमका विषयवस्तुमा बुनिएर अघि बढ्ने कथालाई नवनिर्देशक सुजन घिमिरेले निर्देशन गर्दै छन् । (सौर्य)

प्रतिक्रिया