मिर्गौलारोगी अनशनमा

काठमाडौं, २६ साउन । मिर्गौलारोगीले आर्थिक अभावका कारण उपचार गराउन नसक्दा धेरैले ज्यान गुमाउनुपरेको भन्दै रिले अनशन बसेका छन् । सरकारले मिर्गौलारोगीको उपचार नि:शुल्क गराउनुपर्नेलगायत ११ सूत्रीय माग राखी नेपाल किड्नी समाजको अगुवाइमा मिर्गौलारोगीले बिहीबार रिले अनशन थालेका हुन् ।
सरकारले उपचार र हेमोडायलासिसमा लाग्ने खर्च नि:शुल्क गराउनुपर्नेलगायत माग राखी अनशन सुरु गरिएको समाजका उपाध्यक्ष तथा मिर्गौलारोगी पत्रकार रमेश चालिसेले बताए । उपाध्यक्ष चालिसेका अनुसार रत्नपार्कको शान्तिबाटिकामा ६० भन्दा बढी मिर्गौलारोगीले सुरु गरेको अनशन सरकारले माग पूरा नगरेसम्म चल्नेछ ।
उपचारका लागि एकमुष्ट आर्थिक सहयोग गरिनुपर्ने, स्वैच्छाले अंगदान गर्न पाउनुपर्ने, ब्रेन डेथ भएकाको मिर्गाैला निकाली प्रत्यारोपणको व्यवस्था गरिनुपर्ने, प्रत्येक जिल्लामा कम्तीमा एउटा हेमोडायलासिस केन्द्र सञ्चालन गर्नुपर्ने, डायलायसिस सेवा २४ घन्टै सञ्चालन गर्नुपर्ने, बन्द–हडतालका बेला मिर्गौलारोगीलाई अस्पताल लैजान छुट्टै गाडीको व्यवस्था गरिनुपर्नेलगायत माग गरेको छ । त्यसैगरी, मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका बिरामीलाई एकमुष्ट १० लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने, औषधोपचारका लागि एकमुष्ट २ लाख रुपियाँ वा नि:शुल्क सेवाको व्यवस्था गर्नुपर्ने माग पनि समाजले गरेको छ ।
सरकारी तथ्यांकअनुसार २७ लाख जनामा कुनै न कुनै रूपमा मिर्गौलारोग पाइएको छ । जसमध्ये २५ हजारभन्दा बढीको दुवै मिर्गौला फेल भएको पाइएको छ । मिर्गौलारोगीले जीवन जोगाउन सातामा २ पटक हेमोडायलासिस गर्नुपर्छ, जसका लागि हरेकपटक तीन हजारभन्दा बढी रकम तिर्नुपर्छ भने मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा कम्तीमा पनि ५ लाख रुपियाँ खर्च गर्नुपर्छ ।

प्रतिक्रिया