दाहाल र भट्टराई पतन भईसके

दाङ, २५ साउन । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईका गलत कार्यका कारण उनीहरु सबै क्षेत्रवाट पतन भइसकेको दाबी गरेका छन् ।
रिपोटर्स क्लव दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको साक्षत्कारमा उनले दाहाल र भट्टराई राजनीतिक एवं नैतिक रुपबाटै पतन भइसकेकाले कारवाही स्वरुप नयाँ पार्टी बनाउनु परेको वताए ।
‘पुष्पकमल दाहाल र बाबुराम भट्टराईले गल्ती स्वीकार गरेर रुपान्तरित भई आए दुई माओवादी एकीकरण हुन सक्छ,’ सचिव चन्दले भने ।
ठूला दलका शीर्ष नेताहरुको अकर्मन्यताले देशमा शान्ति र संविधान बन्न नसकेको उनको आरोप थियो । उनले संविधान बन्न नसकेको दोष ठूला दलका शीर्ष नेताहरुले लिनुपर्ने बताए ।
देशलाई राजनीतिक संकटबाट निकास दिन विगतमा भएको १२ बुँदे सहमति कार्यान्वयनमा उनले जोड दिए । उनले भने, ‘अबको निकास भनेको १२ बुँदे सहमति कार्यान्वयन हो ।’
उनले संकट समाधानको दोस्रो विकल्पका रुपमा बृहत राजनीतिक सम्मेलन गरेर सहमतिका साथ जान पनि सकिने बताए ।
परिमार्जन सहितको निवार्चन भएमा आफूहरु चुनाव लड्न सक्ने जनाएका उनले संविधानसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताए । उनले भने, ‘संविधानसभा पुनःस्थापन गर्नु भनेको मरेको शरीरलाई अस्पतालमा फर्काउनु हो ।’

प्रतिक्रिया