पहिलो सटमै भिलेनलाई किक

मिसन पैसा चलचित्रबाट ठूलो पर्दाको करियर सुरु गरेकी हुन्, अभिनेत्री निशा अधिकारीले। उनले अभिनय गरेका नैनारेसम, फस्र्ट लभ, पल, अपवाद, मायाज बार प्रदर्शन भइसके भने धुवाँ यो नसा, सुनगाभा, मेरो भ्यालेन्टाइन, पद्मिनी, मिसन पैसा, रिलोडेड आदि प्रदर्शनको तयारीमा छन्। अहिले लगातारजसो चलचित्रमा अभिनय गरेकी निशाको फस्र्ट ब्रेकको अनुभूतिचाहिँ कस्तो होला त ? उनकै शब्दमा :

कान्तिपुर टेलिभिजन छाडेको केही समय मात्र भा’थ्यो । निर्देशक सिमोस सुनुवारले मिसन पैसामा खेल्न अफर गर्नुभयो । त्यसअघि उहाँसँग दुईवटा विज्ञापनमा काम गरिसकेकी थिएँ । त्यो चलचित्र नेपालमा उति बेला भर्खरै भित्रिएको डिजिटल प्रविधिमा बनाइने रहेछ । कथा पनि मन पर्‍यो । अफर स्विकारेँ ।
पहिलोचोटि चलचित्रमा काम गर्नु मेरा लागि चुनौती थियो । त्यतिबेला चलेका नायक निखिल उप्रेती, सुरज आरडी, आस्मा गौतम, आइसा बस्नेतसँग काम गर्नु थियो । तर, चलचित्र गर्दै जाँदा मलाई कुनै संकोच र अप्ठ्यारो भएन किनकि त्यसअघि म्युजिक भिडियो, टेलिचलचित्रमा अभिनय गरिसकेकाले म कन्डिफेन्ट भइसकेकी थिएँ ।
सुरुमै फाइटको सिन गर्नुपर्ने भयो । अभिनय गरे पनि मैले फाइट भने खेलेकी थिइनँ । यससम्बन्धी केही प्रशिक्षण दिइयो र सुटिङ सुरु भयो । भिलेनका केटासँग फाइट खेल्नुपर्ने भएकाले अलि अप्ठ्यारो महसुस भइरहेको थियो । तीनजना भिलेनमध्ये एकलाई किक हानेर ढालेँ । कहिल्यै किक नहानेकी मलाई निकै गाह्रो भयो, खुट्टा दुख्यो । आºना लागि यो महत्त्वपूर्ण हुने ठानेर मैले दुखाई भुलेर पनि यसमा काम गरेँ । एक्सन चलचित्र भएकाले यसमा मेरो ड्रेस खासै धेरै थिएन । यो चलत्रिचमा मैले गर्नुपर्ने भूमिकाका लागि कालो ओभरकोट र पाइन्ट सिलाइएको थियो । अन्य समयमा चाहिँ जिन्स पाइन्ट र टिसर्ट नै प्रयोग गरेँ । गीत जम्मा एउटा थियो । त्यो पनि मेरो भागमा नपरेकाले गीतको अनुभवचाहिँ लिन पाइनँ ।
शृंगार पनि खासै गर्नुपरेन । रोलअनुसार बोल्ड देखिनुपथ्र्यो । चरित्रलाई सुहाउने सामान्य मेकअप मात्रै भयो । ६० प्रतिशत सुटिङ भएपछि चलचित्र एकाएक रोकियो, मलाई नरमाइलो लाग्यो । तर, पछि फेरि सुरु भयो । अभिनय गरे पनि त्यसअघि डाइलग डबिङ कहिल्यै गरेकी थिइनँ । निकै डर लागेको थियो तर निर्देशकले सिकाउनुभयो । त्यसपछि मैले जानेँ, डबिङ के हो र किन भन्ने ।
प्राविधिक कार्य सकिएपछि चलचित्र चल्ने बेला भयो । प्रमोसनका लागि फोटोसुट गरियो । प्रचारप्रसारका लागि मिडिया–मिडिया धाउनुपर्‍यो । अभिनयभन्दा पनि गाह्रो हुँदो रहेछ, प्रचारप्रसारका बेला । जे होस्, टिमको पछि लागेर प्रचारप्रसार पनि गरेँ । हेदाहेर्दै चलचित्र चल्ने दिन पनि आइपुग्यो । अघिल्लो रातभर मलाई निद्रा लागेन । अनेक कुरा मनमा खेलिरहे– के हुने हो, मेरो अभिनयलाई कसले के भन्ने हुन् ? डरैडरमा रात बित्यो ।
भोलिपल्ट चलचित्र प्रदर्शनमा आयो । चिन्नेजान्ने सबैलाई खबर दिएँ । मेरो खुसीको सीमा नै थिएन । दुई/तीन दिन त कहिले जयनेपाल, कहिले बिग सिनेमा धाउँदैमा बित्यो, दर्शकको प्रतिक्रिया हेर्न ।
आºनो पहिलो चलचित्र तीन/चारचोटि हेरेँ । कहिले मिडिया र चलचित्रको युनिटसँग बसेर, कहिले साथीहरूसँग, कहिले आमासँग बसेर हेरेँ । जति पटक हेर्थें, हरेकचोटि आफूलाई सुधार्नुपर्ने फरकफरक कुराहरू देखेँ । फाइट, ड्रेसअप, अभिनयलगायत सुधार्नुपर्ने पक्ष धेरै थिए । पछिल्ला चलचित्रमा ती कमजोरी क्रमश: सुधार्दै जाँदै छु । सिकाइका हिसाबले हेर्दा मेरो पहिलो ब्रेक छायांकनदेखि प्रदर्शनसम्मको अवधिमा एउटा गतिलो पाठशाला बनेको छ ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया