कार्बन व्यापारमा बाघ पाइने वनको छुट्टै मूल्यांकन

काठमाडौं, २५ साउन । कार्बन व्यापारमा बाघ पाइने वनको छुट्टै मूल्यांकन गरिने भएको छ । विश्वकै लोपोन्मुख जनावरमध्येमा पर्ने बाघ पाइने नेपालका संरक्षित वन विशिष्ट प्रकारको तथा वर्षौंसम्म रहिरहने भएको भन्दै नेपालले कार्बन व्यापारमा छुट्टै मूल्यांकनको प्रस्ताव गरेको हो ।
जीवजन्तुका राम्रा वासस्थान भएको, संरक्षित तथा अन्य कुनै पनि वनको कार्बन व्यापारको विश्व बजारमा प्रतिस्पर्धा गर्ने दर भने अहिलेसम्म तोकिएको छैन । यसबारे अध्ययनसमेत हुन सकेको छैन । तापनि, कार्बन व्यापार विश्वव्यापी भइसकेकाले त्यसबाट लाभ लिन सकिने हुँदा बाघ पाइनेजस्ता राम्रो वासस्थान भएको वनको छुट्टै मूल्यांकन गर्नुपर्ने प्रस्ताव कार्बनसम्बन्धीे अन्तर्राष्ट्रिय बैठकमा प्रमुखताका साथ उठाइने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले दुई वर्षअघि ‘ग्लोबल टाइगर इनिसिएटिभ’ सुरु हँुदा नै यसबारे प्रस्ताव राखिएको र अबका सम्मेलन र बैठकमा यसलाई मुख्य मुद्दा बनाइने बताए । ‘कुरा पहिले नै उठाइएको हो अब कार्बनसम्बन्धी अन्तर्राष्ट्रिय छलफलमा बाघ पाइने वनको विशिष्ट मूल्यांकन हुनुपर्छ भन्ने कुरालाई मुख्य मुद्दा बनाउँछौँ,’ महानिर्देशक आचार्यले सौर्यसँग भने, ‘संरक्षित क्षेत्रको कार्बन व्यापारको दर भने अध्ययन गरेर तोकिनेछ ।’
विश्व बैंकजस्ता दातासमक्ष यस्ता वनको सम्भाव्यता अध्ययन गर्ने विषयमा तत्काल कुरा अघि बढाइने आचार्यको भनाइ छ । अति कम विकसित देशहरूको विज्ञ समूहका अनुसार संरक्षित वनलाई जलवायु परिवर्तनको असर कम गर्न सबैभन्दा बढी कार्बन सोस्ने वनका रूपमा परिभाषित गर्न सके सोबापतको रकम दाबी गर्न सजिलो हुन्छ ।
‘अन्तर्राष्ट्रिय समुदायमाझ कार्बन व्यापारमा संरक्षित वनलाई छुट्टै परिभाषित र प्रमाणित गर्न सके त्यसबाट संरक्षित वन घोषणा भएदेखिकै रकम हात पार्न सकिन्छ,’ विज्ञ समूहका उपाध्यक्ष बटुकृष्ण उप्रेतीले भने, ‘तर यसका लागि संरक्षित वनले सोस्ने कार्वनको दर र त्यो वन अरूभन्दा किन विशिष्ट छ भनेर स्पष्ट पार्ने खालको विस्तृत अध्ययन आवश्यक छ ।’
संरक्षित वन अरू वनजस्तो चाँडै विनाश नहुने तथा घना हुने भएकाले यसलाई छुट्टै रूपमा परिभाषित गर्न गाह्रो नहुने सरोकारवाला बताउँछन् । हाल १० राष्ट्रिय निकुञ्ज, ६ संरक्षित क्षेत्र, तीन वन्यजन्तु आरक्ष, एक सिकार आरक्ष गरी कुल भू–भागको २३ दशमलव २३ प्रतिशत संरक्षित छ । जसमध्ये चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज तथा शुक्लाफाँटा र कोसी वन्यजन्तु आरक्षमा बाघ पाइन्छ । पछिल्लो तथ्यांकअनुसार ती क्षेत्रमा गरेर हाल नेपालमा जम्मा एक सय ७६ वटा बाघ छन् ।
के हो कार्बन व्यापार ?
जलवायु परिवर्तनको मुख्य कारक हरितगृह ग्यासमध्येको एक कार्बनडाइअक्साइड वायुमण्डलमा अरू ग्यासभन्दा बढी मात्रामा रहन्छ । जहाँको वनले यस्तो विषाक्त र प्रदूषणयुक्त कार्बनडाइअक्साइड सोसेर वातावरण स्वच्छ बनाउन योगदान दिन्छ सोही वनले रकम प्राप्त गर्ने व्यापारलाई कार्बन व्यापार भनिन्छ । कार्बनडाइअक्साइडलगायत हरितगृह ग्यास गाडी, कलकारखाना, इन्धनलगायतबाट निस्कने गर्छ ।

प्रतिक्रिया