कालो झन्डा देखाउनेमाथि कुटपिट

बुटवल, २५ साउन । शिक्षामन्त्री दीनानाथ शर्मालाई विरोधस्वरूप कालो झन्डा देखाउने विभिन्न विद्यार्थी संगठनका कार्यकर्तालाई प्रहरीले लखेटेर कुटपिट गरेको छ ।

शिक्षामन्त्रीलाई कालो झन्डा देखाउन गएका विद्यार्थीलाई प्रहरीले लखेटेर कुटपिट गर्ने क्रममा आधा दर्जनभन्दा बढी घाइते भएका छन् । पाल्पा उद्योग वाणिज्य संघको प्रांगणमा भएको महेन्द्रबोधी उच्च माविको स्वर्ण महोत्सवमा सहभागी हुन पाल्पा पुगेका मन्त्री शर्मालाई नजिकैको एउटा घरको छतबाट कालो झन्डा देखाएर विरोध गरिरहेका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको थियो ।
प्रहरीको कुटपिटबाट अनेरास्ववियुका जिल्ला सचिव चिरञ्जीवी न्यौपाने, कोषाध्यक्ष सिर्जना बस्याल, सदस्य प्रदीप पोखरेल, नेविसंघका पुण्य सुवेदी, अखिल छैटाँैका निश्छल क्षेत्री र कान्तिकारीका राजकुमार पन्थी घाइते भएका छन् ।
त्यसैगरी, प्रहरीको कुटाइबाट रेशम कँडेल र तारा बस्याल पनि घाइते भएको विद्यार्थीले बताए । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । घटनापछि विद्यार्थीले तानसेनका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेका थिए । उनीहरूले घटनाका विरोधमा बैठक बसेर विरोधका कार्यक्रम तय गरिने जनाएका छन् ।
यसैबीच, शिक्षामन्त्री शर्माले शान्ति र संविधानको ग्यारेन्टी नहुँदासम्म प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा नदिने बताएका छन् । मुलुकमा शान्ति कायम भए पनि बनिसकेको संविधान घोषणा गर्ने वातावरण तयार नहुँदासम्म सरकारले राजीनामा दिन नमिल्ने उनको भनाइ थियो ।
पाल्पाको तानसेनस्थित महेन्द्रबोधी उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सव मूल समारोहको उद्घाटनका लागि पाल्पा पुगेका मन्त्री शर्माले समस्या समाधानको सही एजेन्डा ल्याउन विपक्षी दललाई आग्रह पनि गरे ।

प्रतिक्रिया