सिन्धुपाल्चोक, २४ साउन । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले नेपालको चावी नेपालीकै हातमा ल्याउन आफूहरुले नयाँ पार्टी स्थापना गर्नु परेको वताएका छन् ।
कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले देशको चावी अन्यत्रै रहेको सार्वजनिक अभिव्यक्ति दिए लगत्तै थापाले सोही कारण पार्टी विभाजन भएको बताए । उनले भने, ‘चावी को सँग छ, जनातालाई भन्नु पर्छ ।’
सिन्धुपाल्चोकको चौतारामा आज आयोजित कार्यक्रममा उनले एमाओवादी जनघाती र नवसंशोधनवादी रहेको आरोप लगाए । उनले भने, ‘उनीहरुसँग आधारभूत रुपमै सैद्धान्तिक मतभेद रहेकाले नयाँ पार्टी स्थापना गरेका हौं ।’
‘उनीहरु सच्चिएर आए पार्टी एकता पनि हुन सक्छ,’ उनले भने, ‘एमाओवादीसँग हामीहरु फुटेको नभई सम्बन्ध विच्छेद मात्रै गरेका हौं ।’
उनले सशस्त्र विद्रोहको कुनै योजना नभएको वताएका छन् । थापाले भने, ‘बरु हामी अरुलाई जंगल पठाउँछौ तर हामी जंगल जाने कुनै संभावना छैन ।’
प्रतिक्रिया