ग्यास बिक्री वितरण ठप्प

काठमाडौं, २४ साउन । नेपाल आयल निगमसँगको वार्ता नमिलेपछि मंगलबारदेखि एलपी ग्यास उद्योग संघले ग्यास बिक्री बन्द गरेको छ । दुई रंगको सिलिन्डरको विरोध र कमिसन बढाउन माग गर्दै आएको संघले निगमसँग वार्ता नमिलेपछि ग्यास बिक्री ठप्प पारेको हो ।
ग्यास खरिद आदेश (पिडिओ) खरिद नगर्ने जनाउँदै आएको संघले माग पूरा नभएसम्म ग्यास बिक्री ठप्प पार्ने जनाएको छ । आयल निगमसँग सोमबार भएको वार्ता विनानिष्कर्ष टुंगिएपछि संघले पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार पिडिओ खरिद नगर्ने जनाएको हो । यसले राजधानीलगायत मुलुकभरका उपभोक्ता प्रत्यक्ष मारमा पर्ने छन् ।
निगमले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै रंगका सिलिन्डर बनाउने योजनाअनुसार ग्यास बोटलिङ प्लान्टलाई साउन १५ गतेभित्र ५० प्रतिशत सिलिन्ड नीलो बनाउन निर्देशन दिएको थियो । तर, निगमले बनाएको नयाँ योजना नमान्ने जनाउँदै संघले चरणबद्ध आन्दोलन सुरु गरेको हो । संघले केही समयअघि सो योजना खारेजीसहित १६ बुँदे मागसहित आन्दोलन घोषणा गरेको थियो ।
चरणबद्ध आन्दोलन सुरु गरेको संघले २४ साउनदेखि भारतबाट ग्यास लोडिङ नगर्ने, २५ साउनदेखि भन्सार नछुटाउने र ३१ साउनदेखि उद्योगको बिक्रीसमेत बन्द गर्ने जनाएको छ । ‘हाम्रो कार्यक्रम पूर्वनिर्धारित हो,’ संघका उपाध्यक्ष शिवप्रसाद घिमिरेले भने, ‘माग पूरा नभए ३१ साउनदेखि उद्योगको बिक्री बन्द गरिने छ ।’ ग्याँसमा उद्योगीले उद्योगी, डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च तत्काल वृद्धि गर्नुपर्ने, उपभोक्ता र व्यवसायीका लागि दुईथरीका सिलिन्डर प्रचलनमा ल्याउने निर्णय खारेज गर्नुपर्ने सहितका १६ बुँदे माग अघि सारेको हो । निगमको निर्णयले विकृति ल्याउने भन्दै संघले सो निर्णय खारेजीको माग गरेको जनाएको छ ।
निगम भने घाटा कम गर्न र बोटलिङ प्लान्टको गतिविधि सूक्ष्म रूपमा निगारानीमा राख्ने योजनामा छ । सोही योजनाअनुसार व्यवसायीलाई परल मूल्यमा नीलो सिलिन्डरमा ग्यास बेच्ने योजना बनाएको निगमको दाबी छ । ग्यासको अभाव चर्केको समयमा कालाबजारी हुने र उपभोक्ता ग्यास पाउनबाट बञ्चित हुनुपरेको भन्दै निगमले सो योजना अघिसारेको हो ।
तर, उपभोक्तालाई प्रत्यक्ष मारमा पार्ने गरी आन्दोलन गरी ग्यासजस्तो अतिआवश्यक वस्तुको बिक्री बन्द गर्नु जायज नभएको निगम अधिकारीको भनाइ छ । निगमको घाटा कम गर्ने र बजारमा अभाव सिर्जना नहुने गरी ल्याएको योजनामा संघले पनि सहयोग गर्नुपर्ने निगको भनाइ छ । लामो समयसम्म ग्यासको अभाव भोगेका उपभोक्ता फेरि आन्दोलनको चपेटामा पर्ने भन्दै निगमले वार्ताको प्रयास गरिरहेको जनाएको छ ।

प्रतिक्रिया