चालीस करोड लगानी थपिँदै

धनगढी, २४ साउन । कैलालीमा आव ०६८/६९मा नयाँ दर्ता भएका तीनसय २० उद्योगमा ४० करोड एक लाख रुपियाँ लगानी थपिने भएको छ ।

लगानी थपिने उद्योगमा धानमिल, इँटा, चिनी, खाद्य उत्पादन, समिललगायत उत्पादनमूलक उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । आव ०६७/६८ मा तीनसय आठ उद्योग दर्ता भएकामा करिब २६ करोड ५८ लाख लगानी भएको थियो । आव ०६८/६९ मा ठूलो पुँजी भएका उद्योग दर्ता भएकाले अघिल्लो वर्षका तुलनामा लगानी बढेको देखिएको कार्यालय प्रमुख ऋषिराम केसीले बताए ।
लगानी प्रस्ताव गरिएमध्ये गत आवमा बढी संख्यामा दर्ता भएका उत्पादनमूलक उद्योगमा सबैभन्दा बढी करिब २५ करोड ८० लाख लगानीको प्रस्ताव भएको छ । नयाँ दर्ता भएका उद्योगबाट वार्षिक करिब एक अर्ब ३४ करोड ५८ लाख मूल्यबराबरका वस्तु उत्पादन गर्ने लक्ष्य छ ।
आव ०६८/६९ मा प्रस्ताव गरिएको लगानीमा उद्योगको स्थिर पुँजी करिब २२ करोड दुई हजार र चालु पुँजी करिब १८ करोड एक लाख ४१ हजार छ । पुरुषका नाममा बढी उद्योग दर्ता हुने गरेकामा पछिला केही वर्षदेखि महिलाका नाममा पनि उद्योग दर्ता हुने क्रम बढेको छ । गत आवमा मात्रै दर्ता भएमध्ये ८० उद्योग महिलाका नाममा दर्ता भएका छन् ।
नयाँ दर्ता भएका उद्योगले दुईहजार चारसय ७७ रोजगारी सिर्जना गर्ने छन् । जिल्लामा सञ्चालनमा रहेका उद्योगमध्ये सेवामूलक उद्योगले ठूलो रोजगारी सिर्जना गर्न नसके पनि इँटा, ग्रिलसटर, पर्यटनलगायत उद्योगले अनुकूल समयमा रोजगारी सिर्जना गर्ने गरेको पाइएको छ ।
सञ्चालनमा रहेका उद्योग बन्द गर्ने मनस्थितिमा उद्योगी नभए पनि थप लगानी गर्ने वातावरण अझै बनिनसकेको उद्योग अधिकृत केसीले बताए ।
लामो समयदेखिको देशको अस्थिर राजनीतिसँगै उत्पन्न खराब औद्योगिक सम्बन्ध, ऊर्जा संकट, अशान्ति, बन्द, हडतालजस्ता कारणले नै उद्योगमा लगानी आकर्षक हुन सकेको छैन । हालसम्म दर्ता भएका दुई हजार पाँचसय चार उद्योगमध्ये करिब ७० प्रतिशत उद्योगमात्र सञ्चालनमा छन् । गत असारसम्म ६ सय ९९ उद्योगले नवीकरण गरिएकामा गत वर्ष मात्रै ११ उद्योग खरेजीमा परेका छन् । निरन्तरको लोडसेडिङ, चन्दा आतंक र रकम सहयोग दिनुपर्ने जस्ता समस्याका कारण उद्योगीले हैरानी खेप्नुपरेको सम्बन्धित व्यवसायीको गुनासो छ ।

प्रतिक्रिया