नयाँ निर्देशकले जगाए आशा

केही छाडा संवादलाई बिर्सने हो भने चलचित्र लुटका सकारात्मक पक्ष थुप्रै छन् । सुस्ताइसकेको चलचित्र बजारलाई उठायो नै, सँगसँगै पारम्परिक शैलीमा मात्र अल्झिरहेको चलचित्र बजारमा पृथक् धार लिएर आयो । मान्न कर लाग्छ– नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने केही दर्शकलाई पनि यसले हलसम्म तानेकै हो ।

जहिल्यै पुरानै कथावस्तुका चलचित्र बनाउने अनि जति राम्रो बनाए पनि नेपाली दर्शकले हेर्दैनन् भनेर झारा टार्ने निर्माता–निर्देशकलाई पाठ बन्यो, लुटको सफलता । चलचित्र चल्न स्थापित कलाकारले नै खेलेको हुनुपर्छ भन्ने परम्परा पनि यहाँ आएर गलत साबित भयो ।
लुटका निर्देशक हुन्, निश्चल बस्नेत । चलचित्र निर्देशनमा बिल्कुलै फ्रेस व्यक्ति । पहिलो चलचित्र भए पनि पाका निर्देशकले जस्तो क्षमता देखाए उनले । यसको कारण एउटै हुन सक्छ– उनी परम्परागत रूपमा सुटिङ हेरेकै भरमा निर्देशक भएका होइनन्, यससम्बन्धी लामो शैक्षिक अध्ययन पनि गरेर आएका हुन् ।
खुसीको संकेत हो, नेपाली चलचित्रमा हिजोआज पढेर आउने निर्देशक बढेका छन् । जसले दर्शकको चाहना र रुचिलाई ध्यानमा राखेर चलचित्रको धार फनक्कै मोडेका छन् । विषयवस्तु र प्रस्तुतिका दृष्टिले नयाँ लाग्ने चलचित्रको संख्या बढ्दै छ ।
निर्देशक बस्नेत आफैँ पनि अध्ययनलाई नै आºनो सफलताको आधार मान्छन् ।
‘अध्ययनले मलाई दर्शकको मनस्थिति, चेन्ज हुनुपर्ने विषयवस्तु र चलचित्रमा अपनाइने टेक्निकल नलेजको राम्रो ज्ञान दिएको छ’, यही क्षमताको बलमा चलचित्र बनाएको हुँ, पहिलो प्रयास नै हिट भयो, खुसी लागेको छ ।’
दयाहाङ राई, ऋचा शर्मा, प्रवीण बुढाथोकीलगायत नितान्त नयाँ अनुहार राखेर दर्शनीय चलचित्र बनाउन सक्ने कन्फिडेन्ट अध्ययनले नै दिलाएको निश्चल दाबी गर्छन् ।
चलचित्र अपवादले पनि धारका हिसाबले पृथक् उपस्थिति देखायो । यसका निर्देशक सुवास कोइराला पनि चलचित्रसम्बन्धी पाठ्यक्रम अध्ययन
गरेरै आएका हुन् । ‘अध्ययनकालदेखि कुन विषयवस्तु र प्रस्तुति अहिले उपयुक्त हुन्छ भन्ने बुझेकाले चलचित्र बनाउन सजिलो भयो’, उनले भने । सुवासका अनुसार पहिलेपहिले थोरै मात्र चलचित्र हेर्ने गरे पनि यसैको अध्ययनमा लागेपछिचाहिँ राम्रो चलचित्र बनाउनुपर्छ भन्ने उत्प्रेरणा मिलेको सुनाए– ‘अब पनि जति चलचित्र बनाउँछु, फरक–फरक प्रस्तुति र शैलीका बनाउँछु ।’
चलचित्र उद्योगमा निर्देशनसम्बन्धी विशेष अध्ययन गरेरै आउनेहरूको जमात बढेकामा प्रसन्न छन्, पुराना निर्देशक शिव रेग्मी । अनि यी नयाँ जोसका निर्देशकले पुरानै धारमा अलमलिएको चलचित्र उद्योगलाई नयाँ गोरेटोमा प्रवेश गराउने आशा उनी गर्छन् । ‘अध्ययनसहित आएका युवाले बनाएका चलचित्र नौला छन् अनि राम्रा छन्, यिनीहरूले नेपाली चलचित्रमा नौलोपन दिने आशा गर्न सकिन्छ’, उनले भने, ‘अहिले चलचित्र उद्योग धान्नुपर्ने जिम्मेवारी पछिल्लो पुस्तामा छ, अब आउनेहरूले विशेष अध्ययन नगरे प्रतिस्पर्धामा पछि परिन्छ ।’
इटालीको भेनिस फिल्म फेस्टिबलमा भर्खरै एउटा नेपाली चलचित्रले सहभागिता जनाएर आयो– बासुल्ली । नेपालमा प्रदर्शन भइनसकेको यो चलचित्रका निर्देशक हुन् मीनबहादुर भाम । अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्र बनाउन अध्ययनले नै सपोर्ट गरेको उनी बताउँछन् । ‘मभित्रको क्षमतालाई माझ्ने र उचाइ दिने काम पढाइले नै गरेको हो’, उनले भने– ‘ज्ञानले उपयुक्त विषय र प्रस्तुति छनोट गर्न सक्ने सीप सिकाउँछ ।’
‘कलाकारले हैन, सही कथा र प्रस्तुतिले मात्र दर्शकलाई मनोरञ्जन दिन सकिन्छ, मेरो अध्ययनले मलाई यही सिकाएको छ’, अर्का नयाँ निर्देशक मनोजबाबु पन्त भन्छन् । यिनले पनि कास्मिरी गलबन्दी चलचित्रमार्फत नयाँ धार भित्र्याउने तयारी गरेका छन्, बिल्कुलै नयाँ कलाकार लिएर । ‘अध्ययनको समयमा हामीलाई कलेजले ट्रेनिङ दिएको मात्र होइन, चलचित्रको मूल भाग के हो र कसरी एक्सपोज गर्ने भन्ने पनि सिकाएको छ’, उनले भने । यो चलचित्र दसैंताका रिलिज गर्ने तयारी भइरहेको छ ।
यतिखेर फरक धारको चलचित्रका रूपमा साँघुरोको चर्चा व्यापक छ चलचित्रवृत्तमा । निर्माणको अन्तिम चरणमा रहेको यो चलचित्रका निर्माता हुन्, जोस पाण्डे । पुराना स्थापित निर्देशकहरूले चाहेर र प्रयास गरेर पनि युवालक्षित नयाँ धारका चलचित्र बनाउन नसकिरहेका बेला आशा जगाउने निर्देशका रूपमा चर्चा हुँदै छ पाण्डेको पनि । यिनको पनि सबल पक्ष छ त अध्ययन नै । ‘पढाइले चलचित्रमा उतारिने क्यारेक्टर, ब्याकग्राउन्डलगायत थुप्रै पक्षलाई उत्कृष्ट किसिमले संयोजन गर्न सघाउँदो रहेछ’ –उनको अनुभव ।
चलचित्र बुझ्न मात्रै पनि अध्ययनको आवश्यकता बढ्दै गएका बेला निर्देशन गर्नेले त विशेष अध्ययन गर्नैपर्ने र त्यस्ता निर्देशकले बनाएको चलचित्र कुनै न कुनै पक्षबाट राम्रो नै हुने उनलाई लाग्छ ।
‘सधैँ मोनोटोनस लाग्ने नेपाली चलचित्रको पुरानो धारबाट अलग्गिएर यो चलचित्र बनाएको छु, अध्ययन गरेर आएका नयाँ निर्देशकले बनाएका अरू चलचित्र पनि सफल भएकाले म पनि आशावादी छु,’ उनले भने ।
चलचित्र छड्केका निर्देशक निगम श्रेष्ठ, अध्यायका निर्देशक प्रवीन श्याम्बुलगायत अन्य केही निर्देशक पनि चलचित्रसम्बन्धी विशेष अध्ययनपछि मात्रै निर्देशनमा लागेका मानिन्छन् ।
हुन पनि अध्ययनसहित लागेका नयाँ निर्देशकले बनाएका पछिल्ला चलचित्रले व्यापार राम्रै गरेका छन् । नभए पनि क्रिटिकल्ली राम्रा मानिएका छन् ।
कलेज अफ फिल्म स्टडिज कलेजका प्रिन्सिपल विनोद पौडेल यसको श्रेय अध्ययनलाई नै दिनुपर्ने बताउँछन्– ‘पहिले जति नै चलचित्र निर्माण भए पनि एकै खालका देखिन्थे, अहिले नयाँ दस जनाले बनाएका प्रत्येक चलचित्र दसैथरीका हुन्छन्, टेक्निकल मात्र होइन, अरू पक्ष पनि उत्कृष्ट बनाएका छन् ।’ कलेजबाट विषयवस्तुलगायत अन्य प्राक्टिकल कुरामा पनि राम्रो नलेज लिएर गएकाले नयाँ निर्देशकहरू सक्षम ठहरिएको उनलाई लाग्छ ।
कलेज अफ फिल्म स्टडिज नेपालमा चलचित्रसम्बन्धी पढाइ हुने एक मात्र कलेज हो । दस जनाबाट सुरु भएको कलेजमा अहिले सय जना बढी विद्यार्थी छन् । अध्ययनसहित प्रवेश गरेका विद्यार्थीको सफलताकै देखेरै अहिले कलेजमा विद्यार्थी संख्या बढेको पौडेल दाबी गर्छन्–
‘अध्ययन गरेर गएकाहरू खाली बसेका छैनन्, टेलिभिजनमा भए पनि अवसर पाएकै छन् ।’
चलचित्रमा झाँगिएको नयाँ निर्देशकको उपस्थिति अनि उनीहरूले देखाएको नयाँ स्वादलाई सकारात्मक उपलब्धि मान्नुपर्ने लाग्छ चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईलाई । ‘चलचित्र क्षेत्र प्राक्टिकलले मात्र सधैँ चल्न सक्दैन, जसले पढेर आउँछ उसैमा आवश्यक ज्ञान हुन्छ, धार परिवर्तन गर्न सक्ने खुबी पनि उसैले मात्र देखाउन सक्छ,’ उनले भने । नयाँ निर्देशकले अबको चलचित्र उद्योगले लिनुपर्ने बाटो बनाउन थालेकाले अरूले पनि त्यसतर्फ ध्यान दिनुपर्ने लाग्छ राईलाई । धार परिवर्तन गर्न नसक्नु नेपाली चलचित्रको सबैभन्दा ठूलो कमजोरी देखिँदै आएको मान्छन् दर्शकहरू पनि । धार परिवर्तन समयको माग हो ।

प्रतिक्रिया