प्रहरीले गरायो बालविवाह

रौतहट, २४ साउन । समाजमा हुने बालबविवाह रोक्नुपर्ने दायित्व बोकेको प्रहरीले नै १३ वर्षीया बालिकाको विवाह गराइदिएको खुलासा भएको छ । टयुसन पढ्न आएकी बालिकालाई यौनशोषण गर्ने शिक्षकसँग बालिकाको विवाह गराउने काम वडा प्रहरी कार्यालय विर्ता वीरगन्जले गरेको खुल्न आएको हो ।

रौतहट समनपुर–४ की कक्षा ८ मा अध्यनरत १३ वर्षीया बालिका अनिता कुमारी (नाम परिवर्तन) लाई शिक्षक रामआधार पासवानले लामो समयदेखि यौनशोषण गरेको परिवारले बताएका छन् । टयुसन पढ्न गएका बेला पासवानले विवाह गर्छु भन्दै सानैदेखि यौनशोषण गरेको पीडित बालिकाले बताइन् ।
श्री शंकर गुदर उच्चमाध्यमिक विद्यालयमा अध्यनरत बालिका र शिक्षक पासवानबीच यौनसम्बन्ध रहेको हल्ला चलेपछि पासवान भागेर वीरगन्ज गएका थिए । ३१ जेठमा वीरगन्जमा अनितालाई पासवानले माईस्थान मन्दिरमा विवाह गरेका थिए । वडा प्रहरी कार्यालय विर्ता वीरगन्जले उनीहरूको विवाहलाई वैधानिकता दिँदै लेटरप्याडमा विवाह भएको प्रमाणित गरेर दिएको थियो । चलानी नम्बर ९३२ को पत्रमा पर्सा प्रहरीले भद्रभलाद्मीको रोहवरमा विवाह भएको प्रमाणित गरेर दिएको छ ।
प्रहरीले दिएको पत्रमा बालिकाको उमेर २० वर्ष तथा शिक्षकको उमेर २१ वर्ष देखाइएको छ । बालिकालाई ललाइफकाई यौनशोषण गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने प्रहरीले नै विवाह गराएर पठाइदिएकोमा पासवानले अहिले बालिकालाई बिचल्ली पारेर छाडेपछि घटना सार्वजनिक भएको हो ।
विवाह गरेर एक साता सँगै रहेका पासवानले दुई लाख रुपियाँ र एक थान कम्प्युटर दिए मात्र पत्नी बनाएर राख्ने बताउँदै माइती फर्काएपछि बालिकाको बिचल्ली भएको हो । उनी अन्यायमा परेको बताउँदै रौतहट प्रहरीमा न्यायका लागि आएकी हुन् ।
महिला अधिकारकर्मी देवकी नेपालले उनलाई अधिकार दिलाउने बताइन् । इलाका प्रहरी कार्यालय समनपुरले बालिकालाई न्याय दिलाउन पहल नगरेर पचास हजार रुपियाँ दिएर बालिकालाई माइतीमै राख्नु भनेपछि पीडित परिवार थप अन्यायमा परेकाले जिल्ला प्रहरी कार्यालयमा आएको अधिकारकर्मी नेपालले बताइन् ।
प्रहरी कार्यालयका सइ लीलाबहादुर बस्नेतले समाजमा मिलेर बस्नुपर्छ भन्दै शिक्षक पासवानलाई पक्राउ नगरी बालिकाको परिवारलाई नगद लिएर चुप लाग्न दबाब दिएको बालिकाका अभिभावक श्रीराम पासवानले बताए ।
प्रहरीले शिक्षक पासवानलाई पक्राउ गरेर अनुसन्धानका लागि थुनामा राखेको छ । प्रेम प्रसंगमा फसाएर बालिकासँग करणी गरेको भन्दै गरुडा प्रहरीले शिक्षकलाई पक्राउ गरेको जनाएको छ । ‘१३ वर्षीयासँग विवाह गरेर दाइजो माग्दै बालिकालाई घर फर्काएको निवेदन परेपछि पासवानलाई पक्राउ गरेका हौँ,’ इन्स्पेक्टर ललन कुर्मीले भने ।

प्रतिक्रिया