मायोजका मजदुरलाई भत्ता दिने सहमति

काभ्रे, २३ साउन । हिमालयन स्न्याक्स एन्ड नुडल्स् प्रालिमा कार्यरत मजदुरका लागि ओभरटाइम भत्ता दिने सहमति भएको छ । व्यवस्थापन र मजदुरका प्रतिनिधिबीचको छलफलपछि आइतबारबाटै सो सहमति भएको हो ।

कम्पनीमा कार्यरत मजदुर संगठन एमालेनिकट जिफन्ट, माओवादीनिकट र कांग्रेसनिकट कारखाना श्रमिकका प्रतिनिधि र व्यवस्थापनले ओभरटाइम र बिदाका दिन काम गर्ने मजदुरका लागि भत्ता दिने सहमति गरेका हुन् । मजदुरले ओभरटाइम काम गरेबापत दिउसोको समयमा प्रतिघन्टा ६ रुपियाँ र रातको समयमा ८ रुपियाँ पाउनेछन् । यसअघि मजदुरले ओभरटाइम काम गरेबापत पारिश्रमिक मात्रै पाउने गरेका थिए ।
कारखानामा काम गर्ने एक सयजना अस्थायी र ज्यालादारी मजदुर तीन महिनाअगाडि हटाएपछि स्थायी कर्मचारीमार्फत नै कम्पनीले कारखानामा थप काम गराउँदै आएको छ । अफसिजन भएको भन्दै मायोजलगायतका अन्य उत्पादनमा ह्रास आएपछि कम्पनीले मजदुर हटाएको थियो । २४ घन्टा चल्ने कारखाना चाउचाउ नबिकेकै कारण दिउँसोको आठ घन्टा मात्रै सञ्चालनमा आएको थियो । आठ घन्टा मात्रै कारखाना सञ्चालन गर्दा दैनिक पाँच हजार कार्टुन चाउचाउ उत्पादन हुँदै आएको छ ।
मजदुरले ओभरटाइमको भत्ता पाउने भएपछि कारखाना २४ घन्टा चलाउने तयारी व्यवस्थापनले गरेको छ । मायोजका अलावा कम्पनीले रुचि, लेकाली र साकालाका बुम तथा चिजबल उत्पादन गर्दै आएको छ । दुई सयजना स्थायी मजदुर रहेको सो कम्पनीले दैनिक १५ हजार कार्टुन चाउचाउ तयार गर्छ । ओभरटाइम सुविधाका लागि केही समयदेखि मायोजका मजदुर आन्दोलित हुँदै आएका थिए । आन्दोलनका कारण व्यवस्थापनले दुई महिनादेखि मजदुरको तलब दिएको छैन ।

प्रतिक्रिया