सरल रेखा कि तिक्डम रेखा ?

पुन: उदयको होड : निरंकुश राजतन्त्र, पञ्चायत, नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादीजस्ता शक्ति केन्द्रहरू एकपछि अर्को गरी असफल भएपछि नेपाली जनताको भागमा आशावादिता मात्र बाँकी छ । चमत्कारी ढंगले नयाँ शक्ति केन्द्रको उदयको सम्भावना पनि देखिँदैन । बरु मैदानमा पछारिएका हस्तिहरू नै उठेर धुलो टक्टक्याउने प्रयत्नमा छन् । आफ्नो जीवनरथलाई तिक्डम रेखाबाट नभई सरल रेखाबाट गुडाउन सक्ने हो भने पुन:उदयको यस दौडमा एमालेले बाजी मार्नसक्ने आधार प्रशस्त छन् । समस्या कहाँनेर छ भने एमाले जब सफलताको प्रवेशद्वारमा पुग्नै थाल्छ, नेतृत्वपंक्ति चुलिएको महत्त्वाकांक्षा र वास्तविकताबीच तालमेल मिलाउन चुक्ने गर्छ । कांग्रेसमा २०५८ सालतिर संकट देखापरेपछि एमाले नेतृत्वले भुइँ हेर्न छोडेको थियो । अहिले पनि माओवादीको विभाजनलाई शिरानी हालेर आनन्दले सुत्ने गल्ती नगर्ने खतरा टरिसकेको छैन ।
अघिको तीतो : एकता नहुँदा र योजनाशून्य हुँदा महाविपत्ले घेर्न समय लाग्दैन । जनसहभागिताको रक्षाकवचविना एउटा शक्तिकेन्द्रले आफ्नो वर्चश्व र आन्दोलनका उपलब्धिको रक्षा गर्न सक्तैन । जुझारु र जागरुक जनमतको धार सिर्जना गरी अन्य शक्तिकेन्द्रलाई चपानमा पार्ने कला पार्टी एकताको सारतत्त्व हुनुपर्छ, न कि पार्टी कब्जा गर्ने अभीष्ट । सबै नेताहरूले मनको लड्डु घिउसँग खाइरहेमा एकता यद्धविराम मात्र हुनेछ । पहिलाको तीतो, पछिको मीठो व्यवहारमा राम्रो मानिन्छ । घोषित एकताको छहारीमुनि षड्यन्त्रको खतरनाक एम्बुस बिछ्याइएको त छैन ? सर्पदंशमा परेको मानिस डोरी देख्दा तर्सन्छ । किनकि विगतको अनुभव राम्रो मात्र छैन । ०५८ सालमा पार्टी एकताको सुन्दर आवरणमा गुटबन्दीको खतरनाक मिसाइल प्रयोग गरिएको थियो । जमिनमुनिबाट जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र शैलीको उक्त षड्यन्त्र ०६४ सालको संविधानसभा चुनावको दुुष्परिणाम भएर प्रकट भएको थियो । ०५४ सालदेखि माधव नेपालले प्रदीप नेपाल, ईश्वर पोखरेल र युवराज ज्ञवालीजस्ता काँचा खेलाडी जम्मा गरेर राष्ट्रियसभामार्गी ग्याङ खडा गरे । भूगोलमा चुनावी अनुभव नभएको उक्त धार फुर्संदमा थियो । खाली दिमाग सैतानको घर त्यसै भनिएको होइन । सिपी मैनाली, वामदेव गौतम र झलनाथ खानाललाई समाप्त पारेर मात्र उक्त ग्याङको चित्त बुझेन । बरु, केपी ओलीधार जबर्जस्त देखेपछि भित्रभित्रै जल्न थाल्यो ।
भैँसीको मासु सिङको अचानो गरी ओलीधारलाई ताछ्न झलनाथ खनाललाई अप्राकृतिक गठबन्धनमा हुलियो । खासगरी मनमोहन अधिकारीको शेषपछि यो बेपर्दाको खेल तीव्रतापूर्वक अघि बढ्यो । जिल्ला–जिल्लामा माले कार्यकर्ता र ओलीधारको चिसो सम्बन्ध थियो । ओली खेमा र गौतम खेमाबीच भाले भिडन्त गराउनकै लागि घरफर्क अभियानलाई ओझेलमा पार्ने गरी पार्टी एकताका लागि पहल भए । ता कि ०५६ सालको चुनावमा ओली धारको अवरोधका कारण छुट्टै पार्टी चलाउने सपना ध्वस्त भएको बदलामा माले नेता कार्यकर्ताहरू पार्टीमा भित्रिएर संस्थापनको छहारीमा आऊन् र एम्बुसभन्दा खतरनाक तुष ओली खेमामाथि पोखून् । मालेले पाउनुपर्ने १४ जना केन्द्रीय सदस्यका लागि पात्र चयनका क्रममा पनि बेइमानी गरियो । सिफारिसमा नपरेकालाई मनमौजीले मनोनयन गरेपछि गौतम राष्ट्रिय सभामार्गी ग्याङ छोडेर ओली कित्तामा पुगे । तर, चाल नपाएका कार्यकर्ताहरूले सातौँ महाधिवेशनमा माधव नेपालको जहाज बचाए र ओलीधारसँग प्रतिशोध साँधे । अन्तत: गौतमविना संस्थापनको छहारी मालेगणका लागि चिन्डेको तालुमा नरिवलको छोक्रा साबित भयो र काजफिर्ताको लहर चल्यो । त्यतिबेला एकताको सुन्दर बहानामा गरिएको खतरनाक चलखेलको भन्डाफोर गर्ने सामथ्र्य केपी ओलीको बाक्पटु जिब्रो र प्रदीप ज्ञवाली तथा शंकर पोखरेलका धारिला कलमहरूसँग पनि रहेन ।
सङ्लो मुहान : अहिले एमालेले गरेको एकता घोषणा साँच्चिकै एकता प्रयास हो वा विकराल आँधी आउनुअघिको सन्नाटा मात्र ? यस प्रश्नको उत्तरले केवल एमालेको मात्र नभई नेपालको राजनीतिको भाविष्यलाई समेत प्रभावित पार्नेछ । कम्तीमा एक दशकसम्म आन्तरिक जीवनलाई सन्तुलनमा राखी राष्ट्रिय राजनीतिमा परिपक्व भूमिका देखाउनसक्ने हो भने दाहिने वा देब्रे कोणबाट हुने हमला र शंकामा निकै गिरावट आउनेछ । खासगरी, द्ुईवटा जनआन्दोलनको सहयात्री नेपाली कांग्रेस, आफूजस्तै नेपाल कम्युनिस्ट पार्टीको खेमाका रूपमा रहेका अन्य वामघटकहरू, उदीयमान शक्ति मधेसी मोर्चासम्बद्ध दलहरू, देश सञ्चालनको लामो अनुभब बोकेका राप्रपाका विभिन्न घटक, कसैकाप्रति पनि घातक नभई विश्वसनीय छवि पस्कन सक्ने हो भने संक्रमणको यो जटिल मोडमा एमाले एक भरोसायोग्य शक्तिका रूपमा स्थापित हुनेछ । मुहान सङ्लिएपछि चुहानको धमिलो हट्दै जान्छ ।
नेताहरू एकताको अभेद्य किल्लाका रूपमा खडा भइरहेमा अहिले देखिएको जनजाति नेताहरूको भड्काव मात्र होइन, मातहत कमिटी र भातृसंगठनहरूमा विगत दुुई दशकको गुटबन्दीका जुन अवशेष छन्, धेरै दिन टिक्नेछैनन् । एकताको न्यानो हात मिलाइरहेमा एकातिर नेताहरूको मानसिकतामा पनि परिवर्तन आउनेछ भने अर्कोतिर नेताको घरको दैलोमा निहुरिने जतिलाई दास ठान्ने र ननिहुरिने जतिलाई शत्रु घोषणा गर्ने गुटबन्दी युुगको घातक मापदण्डलाई पनि बेकम्मा पार्न सकिनेछ । तर, एकताका नाममा निजी स्वार्थको जोड र कोण तथा नाफानोक्सानको अर्थशास्त्रले भुसको आगोभैँm सुषुप्त रूपले गति लिइरहेको छ भने समीकरणका अनेक अभ्यास चाँडै सतहमा आउने छन् । विशेष गरी ओलीको चुलोमा भानुभक्त ढकाल, महेश बस्नेतहरूको रापले माधव नेपालका लागि रोटी सेक्ने र गौतमको चुलोमा योगेश भट्टराई, नीरज आचार्यहरूको रापले झलनाथ खनालका लागि रोटी सेक्नेहरूको नियत असल देखिँदैन । गोप्य चलखेल नियन्त्रण रेखाबाहिर गएमा एमाले यस प्रकारका समीकरणमध्ये कुनै एक विकल्प ओकल्न बाध्य हुनेछ :
१. माधव+केपी – झलनाथ+वामदेव
२. माधव+केपी– झलनाथ+वामदेव– ईश्वर
३. माधव+ईश्वर – झलनाथ+केपी+वामदेव
४. माधव+केपी+ईश्वर– झलनाथ+वामदेव
पतन कि परिवर्तन ?
मदन भण्डारीको अवसानपछि दिल, दिमाग, वचन र कलम, सबै हिसाबले असाधारण प्रतिभाशाली नेता एमालेले पाउन सकेन । यस्तो अवस्थामा सहमतीय र सामूहिक नेतृत्व आवश्यकता हो । त्यसो त नेतृत्व परिवर्तनको शृंखला हेर्दा सहमतीय नेतृत्व एमालेले निर्माण गरेको संस्कार पनि हो । ०३५ मा सिपी मैनाली, ०३९ र ०६४ मा झलनाथ खनाल, ०४६ मा मदन भण्डारी र ०५० मा माधव नेपाल सबैलाई महासचिव सर्वसहमतिले चयन गरिएको थियो । गम्भीर गोलमालले स्थान नपाउने हो भने सम्भवत: एमालेको भावी नेतृत्वको चयन पनि सहमतिकै आधारमा हुनेछ । निरन्तरको झगडा र षड्यन्त्रले एमालेलाई नेकपा संयुक्तमा रूपान्तरण गराएको इतिहासबाट पाठ सिक्दै नेताहरूले समस्याका पोका, पदका भोका हुने खेल बन्द गनुपर्छ । परिवर्तन संसारको नियम हो । आगामी नवौँ महाधिवेशनबाट ओली, दसौँबाट गौतम, एघारौँबाट ईश्वर पोखरेलको हातमा बागडोर सुम्पिनु एमालेको जीवनरथका लागि सरल रेखा हो भने झलनाथलाई टिकाइराख्ने वा माधवलाई चौथोपटक पार्टी प्रमुखमा पुन:स्थापित गर्ने दुश्चेष्टा तिक्डम रेखा हो । पाका नेताहरूलाई पालो दिँदै घर पठाउँदै नगर्ने हो भने केही दशकपछि एमाले झन् थकित, अस्तव्यस्त र बूढा नेताहरूको प्रौढ संगठन हुनेछ । छुचुन्द्रोको टाउकोमा चमेलीको तेल दल्ने क्रम नरोकेमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, कृष्णगोपाल श्रेष्ठ र रघुवीर महासेठहरूको पौरख र प्रखरता देश र जनताको सौन्दर्यकर्मी हुनमा नभई अकर्मण्य नेताको सौन्दर्यकर्मी हुनमा दुरुपयोग हुनेछ । जानी राखौं : त्यागी, र अनुशासित हुनुको अर्थ योजनाहीन, सपनाशून्य र कर्महीन हरिलठ्ठक हुनु होइन ।

प्रतिक्रिया