काठमाडौं, २३ साउन । क्यासिनोमा नेपालीको प्रवेश गैरकानुनी मानिन्छ । तर, प्रत्येक क्यासिनोमा ९० प्रतिशत ग्राहक नेपाली नै हुन्छन् । आखिर किन रोकिएको छैन क्यासिनोमा नेपाली प्रवेश ?
यसको मूल कारण हो घुस । स्रोतका अनुसार हरेक क्यासिनो सञ्चालकले प्रहरीलाई पाँच तहसम्म घुस खुवाउने गरेका छन् । घुस खुवाउनकै लागि क्यासिनो सञ्चालकले मासिक लाखौं रुपियाँ बजेट छुट्याउँछन् । फलस्वरुप घुस खाने प्रहरी आक्कलझुक्कल क्यासिनोमा छापा मारिटोपल्छन् तर, निर्णायक रूपमा कारबाही गर्दैनन् ।
उपत्यकामा सञ्चालित एउटा क्यासिनोले पहिलो चरणमा स्थानीय प्रहरी कार्यालयमा
घुस खुवाउनुपर्ने हुन्छ । घुस खाने त्यसपछिको निकाय हो, प्रहरी परिसरका हाकिम । क्यासिनो सञ्चालकहरूले परिसरपछि महानगरीय प्रहरी आयुक्तको कार्यालयमा घुस दिन्छन् । त्यसपछि घुस खाने पालो आउँछ, प्रहरी महानिरीक्षकको कार्यालयको । प्रहरीका सबै निकायमा घुसको व्यवस्था गरेपछि अन्तिममा घुसको पोको गृह मन्त्रालयमा पुग्छ ।
स्रोतका अनुसार तहैपिच्छे घुसको दर पनि फरक हुन्छ । पहिलो चरणमा स्थानीय प्रहरी कार्यालयमा प्रत्येक महिना ५० हजार रुपियाँ बुझाउनुपर्छ । त्यसभन्दा मथिल्लो निकायमा प्रतिमहिना ७० देखि ७५ हजारसम्म दर कायम रहेको छ । यसभन्दा माथिल्लो निकायमा बुझाउने रकमको दर पेटी (लाख) मा पुग्छ । स्रोतले भन्यो, ‘त्यसैले त उपत्यकाभित्र माथिदेखि तल्लो निकायसम्मका प्रहरी कार्यालयमा प्रमुख बन्न लाखौँको सौदाबाजी चल्छ ।’
प्रहरी नै स्विकार्छन्, ‘उपत्यकाका क्यासिनोमा ९० प्रतिशत ग्राहक नेपाली हुन्छन्, नत्र विदेशी पर्यटकबाट मात्रै क्यासिनो कसरी चल्न सक्छ ?’ स्रोतका अनुसार प्रत्येक महिना गृहदेखि प्रहरीका स्थानीय निकायसम्म मोटो रकम बुझाउनुपर्ने भएकाले पछिल्लोपटक क्यासिनोमा पहुँचावालाहरूले लगानी बढाएका छन् । काठमाडांैमा अहिले नेपाल क्यासिनो, क्यासिनो र्याड, क्यासिनो भेनस, रोयल क्यासिनो, क्यासिनो अन्ना, क्यासिनो एभरेष्ट, क्यासिनो सांग्रिला सञ्चालनमा छन् ।
क्यासिनो रोयलमा चर्चित ‘डन’ गणेश लामाको लगानी भित्रिइसकेको छ । उनले आºनो लगानी क्यासिनो डनको उपनामले चिनिने बलराम सापकोटा ‘बले’ मार्फत रोयलमा गरेका हुन् । पाँच महिनादेखि लगानी भित्र्याएका लामाको रोयलमा ५० प्रतिशतभन्दा धेरै सेयर रहेको स्रोतले बतायो । सेयरकै कारण अर्का साझेदार राजबहादुर शाहीसँग कुरा नमिलेपछि केही साता रोयल बन्द भयो । दुवै पक्षको सहमतिपछि केही अघि मात्रै रोयल पुन: सञ्चालनमा आएको छ ।
लामाकै अर्का सहयोगी शोभित सिलवालमार्फत सोल्टी होटलस्थित क्यासिनो नेपालमा लगानी भित्रिने चरणमा छ । यद्यपि, लामाले सिलवालमार्फत क्यासिनो जाने नेपालीलाई चर्को ब्याजमा पैसा भने दिइरहेका छन् । लामाकै सहयोगीका रूपमा चिनिने चन्द्र लामा, विष्णुु लामा, दावा लामालगायतले क्यासिनो र्याड, क्यासिनो भेनस र क्यासिनो एभरेष्टमा जाने नेपाली ग्राहकलाई चर्को ब्याजमा ऋण दिने गरेको स्रोतको भनाइ छ ।
एमाले निकट युवा संघका कार्यकर्ता चरी भनिने दिनेश अधिकारीले होटल मल्लस्थित क्यासिनो भेनसमा जाने ग्राहकलाई चर्को ब्याजमा ऋण दिइरहेका छन् । क्यासिनो अन्नामा जाने ग्राहकलाई ऋण उपलब्ध गराउने कल्पदीप राई हुन् । राई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका खास व्यक्ति हुन् । यसअघि राई क्यासिनो अन्नाका कर्मचारी थिए ।
क्यासिनोमा आपराधिक पृष्ठभूमिका व्यक्तिहरूको लगानी हुन सक्ने तथ्यलाई महानगरीय प्रहरी काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्द पनि स्विकार्छन् । तर, प्रहरीका विभिन्न निकायले क्यासिनो सञ्चालकबाट रकम लिने गरेको कुरालाई भने उनले अस्वीकार गरे । उनले भने, ‘कुन क्यासिनोमा कसको लगानी छ, कसको व्यापारमा को साझेदार छ, ती सबैको विवरण राख्न साध्य पनि हुँदैन तर क्यासिनो सञ्चालकबाट प्रहरीले रकम लिने कुरा भने झुटो हो ।’
महानगरीय आयुक्त कार्यालयका एसएसपी पूर्णसिंह खड्काले क्यासिनोमा डनहरूको लगानी रहेको कुरा आफूलाई थाहा नभएको बताए । क्यासिनो सञ्चालकबाट भने प्रहरीले यदाकदा घुस लिने गरेको गुनासो सुन्नमा आएको स्विकार्दै उनीहरूलाई कारबाही पनि गरिएको उनले जानकारी दिए । उनले भने, ‘आर्थिक लेनदेन गर्ने प्रहरीलाई कारबाही गर्ने गरेको थाहा भएकै हो नि †’ खड्काका अनुसार त्यस्ता गतिविधिमा लाग्ने जो–कोहीलाई पनि सख्त कारबाही गर्न मातहतका सबै निकायलाई निर्देशन दिइसकिएको छ ।
क्यासिनोमा चर्चित ‘डन’हरूको लगानी भित्रिएको तथ्यलाई प्रहरी पनि स्विकार्छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी देवेन्द्र सुवेदीका अनुसार क्यासिनोमा आपराधिक समूहका नाइकेहरूको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगानी छ । उनी भन्छन्, ‘यो समस्या अन्य अपराधजस्तो नभएकाले यसलाई चाहेको खण्डमा नियन्त्रण गर्न सकिन्छ ।’
प्रतिक्रिया