दलीय विवादले ४० लाख फ्रिज

रुकुम, २२  साउन । राजनीतिक विवादले विजयश्वरीमा सञ्चालित चौरजहारी खानेपानी आयोजनाको ४० लाख रुपियाँ फ्रिज भएको छ । आयोजना निर्माणका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट प्राप्त ४६ लाख रुपियाँमध्ये ४० लाख रुपियाँ फ्रिज भएको हो । पञ्चवर्षे खानेपानी आयोजना निर्माण उपभोक्ता समितिमा दलहरूबीच विवाद भएपछि रकम फ्रिज भएको हो ।

निर्माण उपभोक्ता समिति गठन प्रक्रियामा विवाद भएपछि तोकिएको समयमा काम हुन नसक्दा रकम फिर्ता गएको हो । निर्माण उपभोक्ता समिति अवैधानिक भएको बताउँदै नेपाली कांग्रेसका तिलक भण्डारी, नेकपा एमालेका ऋषिप्रसाद शर्मा र एमाओवादीका खड्कबहादुर विष्टले पुनरावेदन अदालत तुल्सीपुर दाङमा रिट दायर गरेका थिए । त्यसपछि अदालतले काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो ।
असार अन्तिम साता अदालतले रिटको विपक्षमा फैसला सुनाए पनि काम हुन नसक्दा रकम फ्रिज भएको हो । अन्तिम समयमा काम गर्न सम्भव नभएकाले योजनाको रकम फ्रिज भएको चौरजहारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर गिरीले बताए ।

प्रतिक्रिया