संविधानसभा पुनःस्थापना आवश्यक छैन

रुकुम, २१ साउन । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले नेपाली जनताको सार्वभौमसत्ता माथि आँच पुराउने जो कोहीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
क्रान्तिकारी पत्रकार संघ रुकुमले आज खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेताहरुवाट जनतालाई घात हुने काम भए कहिल्यै माफी नदिने बताए । उनले भने, ‘वर्तमान सरकार र प्रधानमन्त्री बाबुराम भट्टराई एक पछि अर्को राष्ट्रघाति र जनविरोधी कार्य गर्नमा सक्रिय छन् ।’
संविधानसभा पुनःस्थापना र नयाँ निर्वाचन आवश्यक नरहेको बताएका उनले भने, ‘प्रमुख दलहरुले फेरी पनि जनता झुक्काउने काम गर्दै छन् ।’
उनले निकासका लागि गोलमेच सम्मेलनको माग दोहराएका छन् । उनले भने, ‘नयाँ निर्वाचन वा संविधानसभा पुनःस्थापनामा जानु भनेको जनता झुक्काउनु हो ।’
मुलुकलाई राजनीतिक संकटमा प्रवेश गराउन प्रमुख दल र शीर्ष नेताहरु जिम्मेवार रहेको उनको आरोप थियो ।

प्रतिक्रिया