विदेशबाट फर्किएर संगीतमा

काठमाडौं २१ साउन । गायकका रूपमा चिनिनुभन्दा पहिले मुग्लानमा लामो समय बिताएर फर्किएका हुन् सन्तोष श्रेष्ठ । साधना एल्बममार्फत गायकका रूपमा उदाएका उनले केही समयअघि क्षितिज नामक एल्बम पनि बजारमा ल्याइसके । अहिलेचाहिँ उनी गायक कम संगीतकार बढी भएका छन् । अन्य गायकगायिकाको एकल तथा कलेक्सन एल्बममा पनि संगीत दिइरहेका हुन्छन् । दुईचार वर्षे बहराइन बसाइपछि मात्रै उनले संगीत क्षेत्रमा संघर्ष गर्न थालेका हुन् । संगीतमा रहर भएर पनि विदेश जानुअघि चाहिँ किन संगीतमा व्यावसायिक किसिमले लागेनन् त उनी ?
‘म्युजिक कम्पनीले नयाँ एल्बममा लगानी गरिदिँदैन, आफूसँग पैसा नभए एल्बम बजारमा आउँदैन, त्यसैले विदेशबाट केही कमाएर आएपछि मात्र यस क्षेत्रमा हात हालेको हुँ’, सन्तोषले भने, ‘विदेश गएर लगानी गर्नसक्ने भएपछि मात्रै एल्बम निकाल्न सकियो, त्यसअघि त आँट गर्नसक्ने अवस्था कहाँ थियो र ? रहरले मात्रै नहुने रहेछ ।’
सन्तोषजस्ता अरू पनि थुप्रै छन् । जो दुईचार वर्ष विदेश बसेपछि नेपाल फर्किएर संगीत क्षेत्रमा संघर्ष गरेका छन् । उनीहरू पैसा कमाएर संगीतमा लगानी गर्ने उद्देश्यले बिदेसिए वा विदेशबाट पैसा कमाएर आएपछि त्यसलाई लगानी गर्ने ठाउँ संगीतलाई देखे । यसभित्रका अन्तरकथा सबैको आ–आफ्नै छ ।
एल्वम अनमोलमार्फत देखिएका प्रवेश हमाल पनि केही वर्ष कतार बसेर फर्केपछि मात्र गायक बनेका हुन् । उनको हास्नलाई ओठ खोली बोलको गीतले निकै चर्चा पायो । अपेक्षा एल्बमसाथ सांगीतिक क्षेत्रमा देखिएका रमेशराज भट्टराई बहराइन बसेर आएका हुन् । लोकदोहोरी नजाऊ है सानु पँधेरीमामार्फत चर्चा कमाएका कुवेर विष्टले पनि बहराइनबाट फर्केपछि गायन करियर सुरु गरे ।
‘पैसा भएन भने गीतजति नै राम्रो भए पनि कुनै कम्पनीले जिम्मा लिइदिँदैनन्, त्यसैले संगीतमा रुचि हुने तर पैसा नहुनेले दोहोरो संघर्ष गर्नुपर्ने अवस्था छ । एकचोटि विदेशमा अनि फर्किएर नेपालमा ।’ गायक तथा संगीतम् म्युजिक कम्पनीका प्रोप्राइटर झलक संगीतम्ले भने । उनले थपे, ‘अहिले संगीत व्यापार भइसकेको छ, जसले लगानी गर्नसक्छ ऊ नै गायकका रूपमा परिचित हुन थाल्छ ।’ झलक आफँैले पनि विदेशबाट आर्थिक रूपमा दरिलो भएर आएपछि मात्रै संगीतक्षेत्रमा लाग्ने आँट गरेका हुन् । काठमाडौंमा घर, राख जमरा, झलकलगायत एल्बम निकालेका उनी कम्पनी नै सञ्चालन गरेर संगीतमा होमिएका छन् ।
मैले संसार छोड्दा बोलको गीतबाट चर्चा कमाएका गायक अर्जुन विकको संगीतमा लाग्नुअघिको कहानी पनि विदेशसँगै जोडिन्छ । बिहानी सांगीतिक समूहका अध्यक्ष हरिबहादुर महतले पाँच वर्ष कतार बसेर आएपछि सिकौँ कम्प्युटर एल्बम बजारमा ल्याएका छन् ।
सयौँ जुनी एल्बममार्फत देखापरेका गायक मिलन शाक्य, गायक गंगा ओझा, सुदीप शाही ठकुरीलगायत थुप्रै संगीतकर्मी छन्, जसले नेपाली संगीतकर्ममा होमिनुअघि विभिन्न मुलुक पुगेर आफूलाई आर्थिक रूपमा सबल बनाएर फर्किएका छन् । एकातिर संगीतप्रतिको आकर्षण यस्तो छ भने अर्कातिर एल्बमको बिक्री ठप्प हुनाले सांगीतिक बजार शिथिल भइरहन्छ । एल्बम कम्पनी लगानी गर्नै डराउँछन् । यस्तो अवस्थामा विदेशबाट कमाएर फर्कनेले सांगीतिक उत्पादनको रफ्तार कायमा राख्नमा केही भूमिका भने पक्कै खेलेका छन् ।

प्रतिक्रिया