साइपाल एकेडेमी फाइनलमा

काठमाडौं : लगातार दोस्रो जित हात पार्दै साइपाल एकेडेमी दोस्रो एस अन्तर ‘ए’ लेभल कलेज बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शनिबार फाइनलमा प्रवेश गरेको छ । ४ टिम सम्मिलित राउन्ड रोविन लिगमा साइपालले ग्रेडेड मिडियम इङलिस स्कुल (जेम्स) लाई २८–१९ ले पराजित गर्‍यो । साइपालको जितमा रितु माझीले १४ अंक योगदान गरिन् ।
पहिलो क्वार्टरमा १२–५ को अग्रता लिएको साइपालले दोस्रो र तेस्रोमा पनि अग्रतालाई कायम राख्दै क्रमश: ७–४ र ७–३ अंक जोडयो । चौथो क्वार्टर जेम्सले ७–२ ले आफ्नो पक्षमा पारे पनि जित हात पार्न सकेन ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको गल्र्सकै अर्को खेलमा रुपिजले आयोजक एस इस्टिच्युट अफ म्यानेजमेन्टलाई १४–१२ को झिनो अन्तरले निराश पार्‍यो । रुपिजकी केल्साङ डोल्करले ६ अंक जोडिन् । लगातार दोस्रो हारसँगै एसको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ । रुपिज र जेम्स दुवैको फाइनल पुग्ने सम्भावना जीवितै छ । दुवैले एक–एक खेल जितेका छन् । दुवै एकआपसमा भिड्न पनि बाँकी छ । त्यो खेलले फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ ।
ब्वायजमा जेम्स, रातो बंगला र जेभियर इन्टरनेसनल क्वार्टरफाइनलमा पुगे । जेम्स समूह ‘सी’, रातो बंगला समूह ‘बी’ तथा जेभियर समूह ‘डी’ को उपविजेता भए । जेम्सले किङ्स कलेजको यात्रा ३६–२२ ले पूर्णविराम लगायो । जेम्सका मोहित श्रेष्ठले ११ स्कोर गरे । आनन्द गौचनको ६ अंक सहयोगमा रातो बंगलाले लिटिल एन्जल्स कलेजमाथि २७–१२ को जित निकाल्यो । ग्लोबल कलेज इन्टरनेसनलविरुद्धको खेलमा जेभियर ४१–२१ ले विजयी भयो । जेभियरका सुरज खत्रीले १६ अंक बटुले ।
यसअघि नै क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेका दुई टिमको भिडन्तमा मोडर्न इन्डियन स्कुल (एमआइएस) ले एजेडब्लु कलेजलाई ३०–१४ ले पन्छयाउँदै समूह ‘ए’ को विजेता बन्यो । (सुष्मा कुँवर/प्रशिक्षार्थी)

प्रतिक्रिया