ओझेलमा साना उद्योग

चितवन, २१ साउन । राजनीतिक स्थिरता हुन नसक्दा जिल्लामा साना उद्योगको संख्या उत्साहजनक ढंगले बढ्न सकेको छैन । बर्सेनि केही उद्योग दर्ता हुने भए पनि निरन्तर सञ्चालन हुने उद्योगको संख्या भने न्यून रहेको छ ।

गत आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालय चितवनमा ६ सय १७ वटा नयाँ फर्म दर्ता भएका छन् जसमध्ये १५ प्रतिशतजति मात्र उद्योग छन् भने अन्य वाणिज्य क्षेत्रका छन् । दर्ता भएका उद्योग उत्पादनमूलक, ऊर्जामूलक, कृषि तथा वनमूलक, पर्यटनमूलक, सेवामूलक र निर्माणमूलक रहेको घरेलु तथा साना उद्योग कार्यालय चितवनका नासु रमेश सुवेदीले बताए ।
कार्यालयमा दर्ता हुने क्रममा परामर्शका लागि उद्योग संघमा जाने प्रावधान छ । उद्योग संघ चितवनका अध्यक्ष कृष्ण अधिकारी विविध कठिनाइका कारण उत्साहजनक ढंगले उद्योग दर्ता हुन नसकेको बताउँछन् ।
राजनीतिक अस्थिरता, औद्योगिक क्षेत्र असुरक्षित हुनु, चर्काे लोडसेडिङ, लगानीमैत्री वातावरण नबन्नु, बैंकको ब्याज महँगो हुनु, व्यावसायिक व्यक्तिहरूको पैसा घरजग्गामा गएर फस्नुले उद्योगतर्फको आकर्षण कमी भएको संघका अध्यक्ष अधिकारीको तर्क छ । सञ्चालनमा आएका उद्योगसमेत यिनै कठिनाइका कारण अगाडि बढ्न नसकेको अधिकारी बताउँछन् ।
उद्योग संघ चितवनमा ४ सय १२ वटा उद्योग दर्ता भएका छन् । पछिल्लो समय दर्ता भएका उद्योगहरू कृषिमा आधारित रहेको संघले जनाएको छ । डेरी फर्मतर्फ व्यवसायीको आकर्षण बढेको छ भने केही मात्रामा पोल्ट्री उद्योग पनि दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
चितवनमा हालसम्म खनिजमूलक उद्योग सञ्चालनमा आएको छैन । त्यस्तै ऊर्जामूलक उद्योग एउटा मात्रै सञ्चालनमा आएको कार्यालयले जनाएको छ । चितवनमा टेक्सटाइल, आइसक्रिम, अल्लो कपडा, मेटल, मौरीघार, भेनियर, जुत्ता, पाउरोटी, फर्निचर, इँटा, चाउचाउजस्ता उत्पादनमूलक उद्योग पनि ठूलो मात्रामा सञ्चालनमा आएका तर तिनीहरूको यकिन तथ्यांक भने उपलब्ध भइनसकेको कार्यालयले जनाएको छ ।
चितवनमा पर्यटनमूलक उद्योगको हिसाबले होटल व्यवसाय गर्न ३० जनाभन्दा बढीले उद्योग दर्ता गराएका छन् । सेवामूलकतर्फ छापा, टुर्स एन्ड ट्राभल, ब्युटीपार्लर, दन्त सेवा, अल्लो कपडा प्रेसिङ, फोटो स्टुडियो, पुल हाउस, प्याथोलोजी, सिलाइकटाइ, मिल, निर्माण सेवा, यान्त्रिक पुल, कम्प्युटर इन्स्टिच्युट र तेल मिल गरी १ सयभन्दा बढी उद्योगको दर्ता भएको कार्यालयले जनाएको छ ।
कार्यालयमा दर्ता भएका उद्योगहरू धराशयी बन्दै गएपछि नवीकरणको क्रमसमेत घटेर गएको छ । गत आर्थिक वर्षमा २१ वटा उद्योगले मात्र नवीकरण गराएका छन् । कार्यालयका अनुसार पहिले प्रत्येक वर्ष साना उद्योग नवीकरण गर्नुपर्ने प्रावधान रहेकोमा पछि तीन/तीन वर्षमा र त्यसपछि प्रत्येक पाँच वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान रहिआएको छ ।
यसैबीच, उद्योग दर्ता तथा नवीकरणबाट गत आर्थिक वर्ष ०६८/६९ मा ८८ लाख ७५ हजार ४ सय ८५ रुपियाँ राजस्व संकलन भएको छ जसमध्ये दर्ता तथा नवीकरणबाट ६९ लाख २१ हजार ५ सय ३५ रुपियाँ राजस्व संकलन भएको छ ।
त्यसैगरी निवेदन तथा अन्य प्रशासनिक दस्तुरबापत दुई लाख ३७ हजार ४ सय रुपियाँ संकलन भएको कार्यालयले जनाएको छ । त्यस्तै दण्ड जरिवानाबाट १६ लाख ५६ हजार ५ सय ५० रुपियाँ संकलन भएको छ ।

प्रतिक्रिया