काठमाडौं : एक्काइस वर्षदेखि हुन नसकेको एमाओवादीको महाधिवेशन आगामी १४ माघमा हुने भएको छ । शनिबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले महाधिवेशनको मिति टुंगो लगाएको हो ।
दुई साताअघि सम्पन्न विस्तारित बैठकले माघमा महाधिवेशन गर्ने निर्णय गरे पनि मिति टुंगो लगाएको थिएन । यसअघि पटक–पटक महाधिवेशन गर्ने भने पनि एमाओवादीले स्थगन गर्दै आएको थियो । ०४८ मा एकता महाधिवेशनपछि माओवादीको महाधिवेशन हुन सकेको छैन । उसले विस्तारित बैठक गर्दै आएको थियो ।
बैठकले महाधिवेशनअघि गाउँ, जिल्ला र राज्य समितिको सम्मेलन गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता दीनानाथ शर्माका अनुसार १६ देखि ३० असोजसम्म गाउँ कमिटीको, १ देखि १५ पुससम्म जिल्ला र १५ देखि पुस मसान्तसम्म राज्य समितिको सम्मेलन गरिसक्ने निर्णय बैठकले गरेको छ । बैठकले नेताहरूको जिम्मेवारी हेरफेर पनि गरेको छ । अध्यक्ष पुष्पकमल दाहाललाई केन्द्रीय कार्यालय र समग्र पार्टी हेर्ने जिम्मा दिएको छ । त्यस्तै, उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ र सचिव पोष्टबहादुर बोगटीलाई केन्द्रीय कार्यालय र सरकार हेर्ने जिम्मा दिइएको छ ।
बैठकले अमिक शेरचनलाई संयुक्त मोर्चा र सम्पत्ति छानबिन आयोग, कृष्णबहादुर महरालाई संगठन विभाग र विशेष ब्युरो प्रमुख, गिरिराजमणि पोखरेललाई पूर्वी ब्युरो इन्चार्ज, वर्षमान पुनलाई कानुन विभाग प्रमुख, टोपबहादुर रायमाझीलाई खेलकुद तथा उद्योग विभाग प्रमुख, लीलामणि पोखरेललाई पश्चिम ब्युरो इन्चार्ज, दीनानाथ शर्मालाई बुद्धिजीवी विभाग प्रमुख, हरिबोल गजुरेललाई मधेस ब्युरो इन्चार्ज, अग्निप्रसाद सापकोटालाई पार्टी प्रवक्ता तथा प्रचार र शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । त्यस्तै, राम कार्कीलाई अन्तर्राष्ट्रिय विभाग प्रमुख, जनार्दन शर्मालाई जनवर्गीय संगठन इन्चार्ज, निनु चापागार्इंलाई सांस्कृतिक विभाग प्रमुख, स्वनाम साथीलाई स्कुल विभाग प्रमुख र हसिला यमीलाई महिला विभाग इन्चार्जको जिम्मेवारी दिइएको छ । हितराज पाण्डेलाई केन्द्रीय कार्यालयको मुख्यसचिव, अर्थ तथा लेखा आयोग प्रमुखको जिम्मेवारी दिइएको छ ।
बैठकले राज्य समितिका इन्चार्जको पनि हेरफेर गरेको छ । देवेन्द्र पौडेललाई नेवा:, विश्वभक्त दुलाललाई ताम्सालिङ, शक्तिबहादुर बस्नेत सुदूरपश्चिम ब्युरो र सेती–महाकाली, लोकेन्द्र विष्टमगरलाई मगरात, हेमन्तप्रकाश ओलीलाई लिम्बुवान, गोपाल किरातीलाई कोचिला, लेखराज भट्टलाई भेरी–कर्णाली, नवराज सुवेदीलाई थारुवान, भीमप्रसाद गौतमलाई मिथिला, लीलाबहादुर थापालाई किरात, डिलाराम आचार्यलाई तमुवान, विश्वनाथ शाहलाई भोजपुरा र चन्द्रप्रकाश खनाललाई अवध राज्य समिति इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै, हिसिला यमीलाई नेवा: राज्य समितिको सह–इन्चार्जको जिम्मेवारी पनि दिइएको छ ।
अघिल्लो बैठकले मनोनयन गरेका महाधिवेशन आयोजक समिति सदस्यहरूको पनि चाँडै कार्यविभाजन गरिने माओवादीले जनाएको छ । यसअघि बिहीबार बसेको बैठकले बहालवाला केन्द्रीय सदस्यभन्दा झन्डै डेढ गुणा बढी मनोनीत गरेर महाधिवेशन आयोजक समिति २ सय ५१ सदस्यीय बनाएको थियो । २० सदस्य मनोनीत गर्न बाँकी छन् । (सौस)
प्रतिक्रिया