राजविराज : सप्तरीका अधिकांश गाविसको सामाजिक सुरक्षा भत्ता अन्योलमा परेको छ । जिल्लाका करिब पाँच दर्जन गाविसका सर्वसाधारणले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।
जिल्ला विकास समिति सप्तरीले समयमा रकम उपलब्ध गराउन नसकेका कारण ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, एकल महिला, लोपोन्मुख आदिवासी, जनजाति, आंशिक र पूर्ण अपांगलगायतले चैतदेखि असारसम्मको सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । गोबरगाढा, २ नम्बर जोगिनिया, भारदह, मध्वापुर, डिमन, मैनाकडेरी, कञ्चनपुर, धरमपुर वैरवा, जगतपुर, पिप्रा पूर्व, घोघनपुर, बद्गामा, ठेलिया, प्रशवनीलगायत ६० गाविसमा सामाजिक सुरक्षा भत्ता नगएको जिविसले जनाएको छ ।
मन्त्रालयले वार्षिक कार्यक्रममा रकम कटौती गरेर कम रकम पठाएका कारण गाविसमा भत्ता रकम पठाउन नसकिएको जिविसले जनाएको छ । आएको रकम निकासा गइसकेकाले बाँकी गाविसलाई पैसा पठाउन नसकिएको पञ्जीकरण शाखाका हरिहर चौधरीले बताए । ‘यस वर्ष जिल्लामा करिब पाँच करोड रुपियाँ कम आएको छ,’ उनले भने, ‘आएकोमध्ये समयमा बिल, भौचर बुझाउने गाविसले निकासा लगे, अन्य गाविस बाँकी छन् ।’ सरकारको नीति तथा कार्यक्रमअनुसार काम हुन नसक्दा हरेक वर्ष यस्तो समस्या आउने गरेको उनले बताए । यस वर्ष मात्र नभई मन्त्रालयले अघिल्ला वर्षमा समेत रकम कम पठाउने गरेकाले हरेक वर्ष समस्या दोहोरिँदै आएको चौधरीले बताए । (सौस)
प्रतिक्रिया