अनुशासन उलंघन नगर्न कोइरालाको आग्रह

पोखरा, २० साउन । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीमा पछिल्लो समय अनुशासन उलंघन भएको भन्दै चिन्ता जनाएका छन् ।
जिल्ला सचिवहरुको राष्ट्रिय प्रशिक्षण भेलाको आज पोखरामा उद्घाटन गर्दै कोइरालाले पार्टीको विधान र अनुशासनलाई सबै नेता र कार्यकर्ताले ध्यान दिनुपर्ने बताए । वरिष्ठ नेता शेरबहादुर देउवा तर्फ संकेत गर्दै उनले पार्टीको विधान र नीति सबैका लागि बराबर रहेको बताए ।
कांग्रेसलाई आन्तरिक रुपमा एकताबद्ध र मजबुत बनाएर लैजानुपर्ने बताएका कोइरालाले विधान र अनुशासन तोड्ने नेतालाई जिल्ला सभापति तथा सचिवहरुले पनि सचेत बनाउनु पर्ने बताए । ‘तपाईहरु मलाई मात्रै सच्चिन भन्नु हुन्छ,’ उनले भने, ‘अनुशासन भङग गर्ने नेताहरुलाई पनि भन्ने गर्नुस, तपाईहरुले सबैलाई दबाव दिनु पर्छ ।’
आफू पार्टी मिलाएर लैजान हमेसा तयार रहेको बताएका कोइरालाले भने, ‘तपाईहरुले चुनाव जिताएर सभापतिमा पठाउनु भएको हो, यदी काम गर्दा म बाट गल्ती भएको छ भने सच्चिन तयार छु ।’
यद्यपी उनले अनुशासनको उलंघन कोही नेता वा कार्यकर्ताबाट भएको छ भने त्यसलाई जिल्ला सभापति र सचिवहरुले पनि दबाव दिएर भन्नु पर्ने बताए । उनले भने, ‘मलाई मात्रै मिल्न नभन्नुस अरुलाई पनि भन्नुस ।’
कांग्रेसलाई आन्तरिक रुपमा मजबुद बनाउन गाउँ तहसम्म संगठनलाई विस्तार गर्न पनि निर्देशन दिएका छन् ।
यसैवीच, सभापति कोइरालाले मुलुकलाई अब कांग्रेसले मात्रै निकास दिने बताएका छन् । उनले निकासका  लागि कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने बताए ।
‘कांग्रेस नेतृत्वमा सरकार बनाउन भन्दा सत्तालिप्साको आरोप लाग्ने गर्छ,’ कोइरालाले भने, ‘एमाओवादी र एमालेले दुई, दुई पटक नेतृत्व गरेपनि कुनै निकास दिन सकेनन् त्यसैले कांग्रेस अग्रसर भएको छ ।’
एमाओवादीले मुलुकलाई अन्धकारमा धकेलेको बताउदै सभापति कोइरालाले एमाओवादीको अविश्वासले सहमति बनाउन समस्या भएको बताए ।
उपसभापति रामचन्द्र पौडेल मुलुकलाई निकास दिन राष्ट्रपतिले अब टुलुटुलु हेरेर बस्न नहुने बताए । उनले संविधानलाई राम्रोसँग पढेर राष्ट्रपतिले कदम चाल्नुपर्ने बताए । ‘राष्ट्रपतिले संविधान पढेकै छैनन्,’ उनले भने, ‘संविधानका मसिना अक्षर पनि राम्रोसँग पढु पर्छ ।’
‘एमाओवादी संविधान र संविधानसभा नै चाहदैन,’ पौडेलले भने, ‘एमाओवादीको छलफलछामको राजनीति अब पार लाग्दैन ।’
महामन्त्री प्रकाशमान सिंहले कांग्रेसका जिल्ला सभापतिले माईन्युटलाई काखिच्यापेर हिड्ने गरेको आरोप लगाए । उनले पार्टीको माईन्युटलाई काखीमा सचिवहरुलाई असजिलो बनाउन नहुने बताए ।
सिंहले जिल्ला सभापतिहरु लामालामा भाषण गरेर हिड्ने गरेको भन्दै उनीहरुको आलोचना समेत गरेका छन् । उनले केन्द्रीय नेताहरुले जस्तो लामालामा भाषण गरेर नहिड्न सभापतिहरुलाई सुझाव दिए ।
केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले मुलुकलाई निकास दिन संविधानसभा व्यूताउनु पर्ने माग गरे । उनले अन्तरिम संविधान संशोधनका लागि पनि संविधानसभाको पुनःस्थापना अनिर्वाय भएको बताए ।
तीन दिन सम्म चल्ने भेलामा जिल्ला सचिवहरुलाई राजनीतिक, सांगठनिक तथा प्रशासनिक प्रशिक्षण दिईने छ । भेलामा वरिष्ठ नेता शेरबहादुर देउवा उपस्थित हुने भनेपनि उनी अनुपस्थित रहे । देउवा समापनका क्रममा भेलामा सहभागी हुने उनका समर्थकले जनाएका छन् ।

प्रतिक्रिया