कर्मयोगी आमा: दिलशोभा

‘मा…† तल मान्छे भेट्न आएका छन्’ राजु तामाङको आमा सम्बोधनले दिलशोभाको अनुहार केही चम्किलो देखियो । हृदयको अज्ञात ठाउँबाट उर्लेर आउने मातृत्वको शक्तिशाली चमक सायद यस्तै हुन्छ । वर्षाको मेघमालाबीच हजारौँको भोल्टमा चम्केको बिजुलीझैँ दिलशोभाको हृदयमा पनि मातृत्व कम्पन पैदा भयो । आफ्नै कोखबाट नजन्मेको उनको छोरो । ‘मेरो जेठो छोरा सत्र वर्षको भयो, आँखा देख्दैन । ब्रेललिपिबाट कक्षा सातमा पढ्दै छ ।’ छोराको परिचय गराउँदै गर्दा उनको छातीमा एउटा हिक्काले सास रोकेझैँ देखियो । छोरा नजन्माएकै आरोपमा २१ वर्षअघि श्रीमान्ले छोडे । आफ्नो अगाडि उभिएको त्यही छोराको प्राप्तिभावले होला उनका आँखा क्षणभरमै रसाए र क्षणभरमै खुसीमा फर्किए । जागिर सरुवाको बाहनामा घर छोडेका श्रीमान्ले अर्कै घरजम गरे, यो उनको कहालीलग्दो विगत । तर, वर्तमान त दिलशोभाकै सुखद छ श्रीमान्ले छोडेपछि उनले गरेको कर्मका कारण । तीन वर्षका बालकदेखि ८० कटेका वृद्धवृद्धासम्मको ‘आमा’ बनेर उनी उज्याली छिन्, सुखी छिन् र खुसी छिन् । उनको अनुहारको उज्यालो कतै बनावटी छैन, कतै कृत्रिम छैन ।
‘आमा’ शब्दको वजन हृदयले मात्र बहन गर्न सक्छ । आमा हुनुअघिको कठोर तपस्याविना नै मनदेखि सयौँकी आमा ठहरिनु कत्रो गौरव † कत्रो आत्मातृप्ति † त्यसैले खुसी छिन् दिलशोभा, त्यसैले सुखी छिन् दिलशोभा । दिलशोभा श्रेष्ठ अहिले ८० सन्तानकी आमा हुन् । ५९ वर्षीया उनका ३ वर्षका बालक छोरादेखि ८० वर्षीया वृद्धासम्म छोरी छन् । ती वृद्धाहरूलाई ‘आमा’ भन्छिन् दिलशोभा, आफ्नै हातले पस्केर नदिई उनका वृद्धा र बालक सन्तानको गाँस खुसीले छिर्दैन । जसलाई उनले आफ्नै आमा र आफ्नै सन्तानका रूपमा पालेर राखेकी छिन् तिनीहरू आफ्नै जन्मका आमाबाबु र जन्मैका सन्तानहरूबाट त्यगिएर दिलशोभाको छत्रछायामा आइपुगेका हुन् ।
कोखै छोराले घरबाट औषधी गर्ने बाहना बनाई काठमाडौं सहरमा मिल्काएर हिँडेका आमाहरू दिलशोभाका सन्तान हुन् । यहाँ वर्गीय विभेद अन्त्य हुने सपना देखाएर माओवादी सशस्त्र द्वन्द्वमा आमाबाबु गुमाएका ४८ जना बालक पनि छन्, जसले दिलशोभाको मातृस्नेह प्राप्त गरेका छन् ।
मृत्यु र जीवनबीचको दूरी पनि कत्ति नजिक वा टाढा होला । दिलशोभा सम्झिन्छिन््, श्रीमान्ले त्यागेपछि छोरीसहित विष पिएर मर्न आफूले गरेको प्रयास । त्यो निराशामा उनले तीनपटक विष पिएर मर्ने प्रयास गरेकी थिइन् । दुईपटक त विष पिए पनि उनीहरू बाँचे । तेस्रोपटकको मृत्यु प्रयासमा दिलशोभालाई काखकी छोरीले जीवनप्रतिको मोह जगाइन् ।
हेलत्वको महानिराशाबाट मुक्त भएपछि सडकमा फालिएका पाँचजना आमालाई घरमा ल्याइन् र पालिन् । काठमाडौं रवीभवनको त्यो घरमा अहिले ८० जना आमाहरू छन् । स्नेहमा मानिस कति लयालु हुन्छ, त्यो दिलशोभाले पालेका आमाहरूबाट देख्न सकिन्छ । बुढ्यौलीको पट्यारलाग्दो लयमा सबैसँग झर्कने ती आमाहरू दिलशोभाको हातबाट मात्र भात खाने मन गर्दारहेछन् । बिरामी आमाहरूले छि:छि: सुन्नुपर्दैन । बरु भन्छन्, ‘माले खुवाइदिए मात्रै खान्छु ।’ मातृ स्नेहको न्यानोपन मानिसको रोगको आधा औषधी पनि हो, दिलशोभा बिरामी आमाहरूछेउ पुगेर मुसार्दा उनीहरू आफूलाई हल्का भएको महसुस गर्छन् ।
१५ वर्षको अवधिमा ६० जनाभन्दा बढी आमा दिलशोभाकै काखमा बिते । मृत्यु मानिसको अन्तिम सत्यवरण हो, कतिलाई लाग्दो हो आफैँले जन्माएका सन्तानका काखमा देह बिसाउँm । चाहे पनि नचाहे पनि मान्छे मर्छ । तर, आफ्नै सन्तानले सडकमा छोडेर गएका कैयन आमाले दिलशोभाको न्यानो काखमा मृत्युवरण गरे । हरेक आमाको अन्तिम संस्कार गरेर फर्किएपछि चार वर्षअघि बितेकी आफ्नी आमाको जस्तै मृत्युशोकमा डुब्छिन् उनी । तर, उनको मनमा बल्झेको मातृवियोगको शोक लामो समय टिक्न पाउँदैन । उनको मन बुझाउन अरू आमाहरू मुस्कुराइदिन्छन् अनि भन्छन्, ‘आमा तपाईं शोकमा बस्नुभयो भने हामी कसको स्नेहले जिउने †’
घेरा लागेर बसेका आमाहरू अझ भनाँै आफ्ना पाका सन्तानको मायाले दिलशोभाको बेचैन मनलाई शान्ति मिल्छ । आमाहरूसँगै नाचगान गर्छिन्, कथा भन्छिन् । भन्छिन्, ‘तपाईंहरू गीत गाइदिनुस् म नाच्छु ।’ दिलशोभाले काठमाडौंको रविभवनमा रहेको चारतले सामान्य घरलाई स्नेहको रंगीन स्वर्गमा बदलेकी छिन् । वृद्धवृद्धाको गन्थन पनि त्यही घरभित्र सुन्न पाइन्छ । दलशोभाले हुर्काएका स–साना सन्तानहरूले पनि हजुरआमाको काखमा खेल्ने मौका पाएका छन् । ‘धेरै रमाइलो छ, स्वर्ग भनेको योभन्दा फरक कहाँ होला र †’ दिलशोभाले व्यस्तताबीचै भनिन् । स्वर्गको परिभाषा कसलाई थाह छ, के होला स्वर्गमा, रंगीन फूलका सुमधुर बासना † कि हृदय अल्हादित हुने अपूर्व स्नेह † लाग्छ, स्नेहको लोभमा मानिस स्वर्गप्रति यत्ति आशक्त हुन्छ भने ती वृद्धा आमाहरूका लागि दिलशोभाको काख नै स्वर्ग हो ।
बिहान साढे ३ बजेदेखि राति साढे नौ बजेसम्म दिलशोभालाई भ्याइनभ्याई हुन्छ । बिहान उठेपछि जपध्यान अनि चियानास्ताको जोहो । ८ बजे सम्म ३२ जना छोराहरूलाई खाना तयार । उनीहरूलाई स्कुल पठाएपछि आमाहरूका लागि खानाको तयारी । भात पकाउने, खुवाउने, सफा गर्ने सबै काममा दिलशोभा आपैँm लाग्छिन् । शरीरले काम गर्नसक्ने आमाहरू दिलशोभालाई सघाउँछन् । दिउँसो २ बजेपछि खाजा अनि ४ बजेपछि खानाको तयारी सबै काम आफू एक्लै गर्छिन् दिलशोभा तर उनको शरीर अनि अनुहारमा थकान पटक्कै देखिँदैन ।
भात पनि उनकै हातले पस्किएको सबैलाई मन पर्छ । दिलशोभाको एकल पहलमा थालिएको साहराविहीनका लागि मातृस्नेहले भरिएको आमाको घरमा बस्न कसैले नागरिकताको प्रमाणपत्र देखाउनुपर्दैन । मानवीयताको कुनै प्रमाणपत्र हुँदैन सायद । भोको अनुहारले चिनिन्छ, नांगो आँखैले देखिन्छ तब मानिसलाई बाँच्न पनि किन चाहियो नागरिकता † ‘जन्मिएपछि बाँच्न पनि केको नागरिकता, केको सिफारिस’ ? आफूलाई श्रीमान्ले दिएको पीडा सम्भँmदा घरीघरी आँखा रसाउने दिलशोभा सडक पेटीमा फालिएका ती आमाहरूको विगत कोट्याएर झन् दु:खाइ बढाउन चाहँदिनन् । ‘यहाँ ल्याएपछि आफूले सक्नेजति माया र खुसी बाँड्छु’ दिलशोभाले भनिन् ।
दिलशोभाले सञ्चालन गरेको आमाको घरमा घरबाट छोराछोरीले हेला गरेर निकालेका, काठमाडौंका सडकमा मागेर गुजारा चलाएका, आफ्नो तागतले गरेर खान नसक्ने, मन्दिरमा फालिएका वृद्धा तथा अपांगको संख्या ३६ जना छ । २ जना बुबा छन् भने ४८ बालक रहेका छन् । सबैलाई बालबालिकालाई उनले काठमाडौंका विभिन्न बोर्डिङ स्कुलमा सहयोग मागेर पढ्न पठाएकी छिन् ।
दिलशोभाको चारतले आफ्नै घर ‘आमा घर’ हो । अमेरिका बसेकी उनकी एक्ली छोरीले आमाको घरका लागि सहयोग पठाउँछिन् ‘आमाको घरका लागि यस्तो चाहियो भनेपछि छोरीले पठाउँछे,’ उनले भनिन् । त्यतिमात्रै होइन, उनका दुई भाइ र दुई बहिनीले पनि सहयोग गर्ने गरेका छन् । कतिपय सज्जन आफ्ना दिवंगत आमाबाबुको तिथिमा आमाघरका आमाहरूलाई खाना खुवाउन आउँछन् । कहिलेकाहीँका छाकहरू उनीहरूले नै चलाइदिन्छन् । साहराविहीन भएका वृद्धवृद्धा तथा बालबालिकाको संरक्षणका लागि सरकारका तर्फबाट भने कुनै योजना नभएकामा दिलशोभाको दिल दुखेको छ ।

प्रतिक्रिया