प्राज्ञ नभएको प्रज्ञा प्रतिष्ठान

प्रज्ञा प्रतिष्ठानहरू प्रज्ञाविहीन प्रतिष्ठानमा फेरिएका छन् । पहिले राजाको हुकुमबाट त्यहाँ जाने महानुभावको काम पञ्चायतलाई टेवा दिनु हुन्थ्यो, अहिले राजनीतिक दल नामका शक्तिपीठहरूको हालीमुहाली चल्छ र प्रज्ञाको नजर उतैतिर ढल्किएको छ । प्राज्ञहरू प्रतिष्ठानबाहिर पारिएका छन् र राजनीतिक दलका चाटुकारहरू कुर्सीमा विराजमान छन् । प्रतिष्ठानलाई स्रोतसम्पन्न, कार्यमूलक र प्राज्ञिक उत्पादनमूलक बनाउन तिनको कुनै हैसियत छैन । नेपालको बाँझो प्राज्ञिक जीवन जोत्न पठाइएका साँढेहरू हरियो चस्मा लगाएर पराल चपाइरहेका छन् । हामी सबै त्यो हेरिबसेका छौँ । मुलुक कति कंगाल रहेछ भनी हेर्न बैरागी काइँला, अम्बर गुरुङ र किरण मानन्धरका कार्यालय पुगिहेरे थाहा हुन्छ । जुन देशको प्रज्ञा नै यति दरिद्र छ, त्यस देशको उन्नति नै कसरी सम्भव छ ?
भन्न त भनिन्छ– बौद्धिकहरूको थलो हो नेपाल प्रज्ञा प्रतिष्ठान । तर, प्रश्न उठ्छ यहाँभित्र पसेको मानिस कसरी ज्ञानी र बौद्धिक बन्छ ? प्राज्ञ प्रमाणपत्र हो वा कुनै ओहोदा ? यो कुनै पदाधिकारीले दिएको नियुक्तिपत्र कि उपाधि ? या नेपाली समाजका अवयवहरूको छिद्रान्वेषी अध्ययनबाट उत्पादन भएको ज्ञान ? मानिसलाई ज्ञानी वा अज्ञानी प्रमाणपत्र वा नियुक्तिपत्रले साबित गर्ने पद्धतिले प्रज्ञा प्रतिष्ठान अरूजस्तै मानिसहरूको जम्मा हुने र बैठक बस्ने थलोबाहेक केही हुन सकेको छैन । प्रज्ञाको अनुभूति मानिस स्वयंले अन्तरनिहित तत्त्वको बोधबाट गर्न सक्छ र त्यसको विस्तारले सिंगै समाजलाई पनि परिवर्तनको अनुभूति दिन्छ । तर, ज्ञान उत्पादन र विस्तार नगरी प्रज्ञा प्रतिष्ठान हुक्कामा पानी फेरेजस्तो केही थान मानिसहरू फेरबदलको यान्त्रिक निरन्तरता मात्र भएको छ ।
प्रजातन्त्रको पुनर्बहालीपछि प्रज्ञा प्रतिष्ठान केहीपटक पुनर्गठन भयो । प्रतिष्ठानमा रहेका र नरहेका अनुहार र उनीहरूको कृत्यको लेखाजोखा हुँदैन र मानिस आफ्ना लागि चाहिएको ज्ञानको मुहान कमलादीको निर्जीव घरबाट पाउँदैन । सिर्जनाका लागि मानिसका आज पनि उही स्रोत छन्– हिमाल, झरना, बगैँचा, पखेरा यस्तै–यस्तै । जीवनको निरर्थकतासँग हार खाएका मानिस सडकमा कुकुरसँग ढाड जोडेर रात बिताउँछ, परिवारलाई बोझ ठानेर सामूहिक आत्महत्याको बाटो रोज्छ, उसलाई हिमालको सौन्दर्यगाथाले बचाउन सकेको छैन । मानिसहरूको अर्काे तप्का छ– डिस्कोथेक र केएफसीमा रमाउने । अपराधको पछिल्लो ग्राफले भन्छ–मानिस आफूभित्रबाट मानिसलाई गुमाउँदै जान थालेको छ । समाजभित्रको यो खाडल, मानिस तत्त्वको आधारको विघटनलाई प्रज्ञा प्रतिष्ठानले के भन्छ ? त्यसका प्राज्ञहरूले के भन्छन् ? समाजको ऐना बनेर समाजलाई मार्गदर्शन गर्नसक्ने साहित्य, संस्कार र संस्कृतिको निर्माणमा प्रज्ञा प्रतिष्ठानको कुनै योगदान हुन सक्दैन ?
प्रतिष्ठान क्रियाशील कामका लागि भन्दा पनि गफ चुट्ने थलोका रूपमा विकसित हुँदै छ । प्राज्ञहरू ठीक समयमा आउँछन्, हाजिर गर्छन् र निजी काममा बाहिर जानु नपर्ने भए तातो घाममा ढाड सेकाउँदै मुलुकको राजनीतिक दुर्दशामाथि पाण्डित्य छाँट्छन् । प्राज्ञ भन्छन्–‘काम छैन, के गर्ने ?’ कामै नगरी तलब मात्र खुवाउने प्रवृत्ति प्रोत्साहित हुँदा यस्तो गम्भीर अवस्था सिर्जना भएको हो । प्रज्ञा–प्रतिष्ठानका नामहरू राष्ट्रिय पहिचान त भएका छन् तर तिनको कामले प्रतिष्ठानलाई पहिचानयुक्त बनाउन भने सकेका छैनन् ।
प्रज्ञा प्रतिष्ठानको घुमफिरले मलाई विरक्तिपन भरिदियो । ठूला–ठूला कोठाहरूमा रिक्तता छरिएको हुन्छ । प्रजातन्त्रको भावना र उत्साहअनुरूप यहाँ कुनै पनि काम भएको हुन्न । हेर्नुस् न, यहाँका वाद्ययन्त्रहरू बज्न नपाएर लामो समयदेखि अपांग भएर कुनामा रोइरहेछन् । त्यसो त सांस्कृतिक संस्थानको नयाँ अत्याधुनिक नाचघर पनि प्रयोगशून्य अवस्थामा छ । कार्यक्रम बनाउने र पछि हल
भाडामा लगाएर केही आम्दानी सोहोर्ने काममा मात्र संस्थान तल्लीन छ । सुनिन्छ–एकजना प्राज्ञ आफ्नै टेबुल ठटाएर गजल गाउँदै आगन्तुकहरूलाई पूरै मनोरञ्जन दिलाउँछन् ।

काठमाडौंको मध्यभागमा घन्टाघरबाट पूर्व र डिल्लीबजारबाट पश्चिममा छ, नेपाल प्रज्ञा प्रतिष्ठान (यसलाई पहिले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको नामले पुकारिन्थ्यो) । नेपालका सबै भाषा, साहित्य, कला, नाटक, संगीत, संस्कृति, दर्शनको संरक्षण, संवद्र्धन र विकासका लागि यो प्रतिष्ठान बनाइएको बताइयो । तर, यो आफ्नो उद्देश्यमा कति सफल छ/छैन त्यो अर्कै पाटो हो ।
केही समयअघि सरकारले तीनवटै प्रज्ञा प्रतिष्ठानका रिक्त पदमा नियुक्ति पूरा गरेको थियो, भलै त्यो राजनीतिक नियुक्ति नै किन नहोस् । यसको नियुक्तिसँगै नेपालले आफ्नो भाषा, संस्कृतिको ‘संरक्षक’ पायो । बैरागी काइँला, अम्बर गुरुङ र किरण मानन्धर क्रमश: नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति हुन् । नेपालका ‘बौद्धिक’ वर्ग भनेर चिनिने, चिनाइने धेरै प्राज्ञ बच्चा छन् । कला, साहित्य, संगीतजस्तो गम्भीर र जटिल विषयमा चिनजान र सोर्सफोर्सका आधारमा प्राज्ञ नियुक्ति हुनुले देशको भावी मार्गचित्र कस्तो हुनेछ भन्ने कुरा बताउँछ । यस्ता प्रतिष्ठानमा आफ्नो ‘फिल्डका’ आलाकाँचाको संख्या बढी छ । प्राज्ञिक होइन, पार्टीका मानिस धेरै छन् ।
उसो त प्रतिष्ठानले बेलाबेला भाषा, साहित्य, अनुवादसम्बन्धी कार्यक्रम, गोष्ठीजस्ता काम गरिरहेकै छ । एकेडेमीका पत्रिकाहरू प्रज्ञा, समकालीन साहित्य, कविता, सयपत्री (बहुभाषी), जर्नल अफ नेपाली लिटरेचर एन्ड कल्चर (अंग्रेजी), आँगन (मैथिली) र थायभू (नेपाल भाषा) को प्रकाशन (नियमित नभए पनि) भइरहेकै छ (तर साहित्य लेखनमा बामे सर्दै गरेकाहरू कहिल्यै अटाउँदैनन्) । यति मात्रै पर्याप्त काम हो त ? (किनभने, प्रज्ञा प्रतिष्ठान कुनै पनि राज्यमा कला, संस्कृति चिनाउन सबैभन्दा महत्त्वपूर्ण मानिन्छ ।) भन्न त प्रतिष्ठानले ‘एकेडेमी सबैको हो’ भन्छ । तर, ०१४ सालमा स्थापित नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञहरूको हालसम्मको कार्यकालतिर फर्केर हेर्दा नयाँ ह्यांगरमा पुराना र च्यातिएका स्वेटर झुड्याएजस्तो देखिन्छ ।
एउटा रोचक प्रसंग । मोहन कोइरालाको उपकुलपतित्वकाल समाप्त हुनलाग्दा प्रज्ञा–परिषद्ले एउटा निर्णय गर्‍यो, ‘हामीले पाँच वर्षमा केही गर्न सकेनौँ, त्यसैले यहाँबाट जाने बेलामा प्रत्येक प्राज्ञका एक–एकवटा कृति निकालौँ ।’ परिषद्को निर्णय तत्काल कार्यान्वयन भयो, सबैले एउटा–एउटा कृति छपाए तर तुलसी भट्टराईले छापेनन् । ती कृति प्रज्ञाको उद्देश्यअनुरूपचाहिँ थिएनन् । र, अनुसन्धानात्मक कृति पनि थिएनन् । ती कृति निकैपछिसम्म प्रकाशनमा आएनन् र प्रतिष्ठानको अँध्यारो गोदाममै थन्किए ।
प्रतिष्ठानको लामो समयपछिको पुनर्गठनसँगै धेरै मान्छेमा आशा जाग्यो– ‘यसले अब गति लिन्छ, भाषा–साहित्यका क्षेत्रमा थाती रहेका कामहरू छिट्टै फत्ते हुन्छन् ।’ तर, कार्यक्रमहरूको बजेट प्राज्ञहरूको सेवा–सुविधातिर पो छुट्याइयो । बिरामी हुँदाहुँदै कुलपति भएका अम्बर गुरुङ पछि झन् थलिए । उनको केही समय नेपाल र दिल्ली गर्दैमा बित्यो । वृद्ध उपकुलपति प्रचण्ड मल्ल पनि मेरुदण्डसम्बन्धी घातले आक्रान्त छन् । सबै रोगीहरूलाई संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठान जिम्मा लगाएर यसलाई झन् रोगी बनाउन ‘महारथीहरू’ लागेका छन् । प्रतिष्ठानहरूलाई एउटै रोग लागेको छ । उनीहरू भन्छन्– हामीसँग बजेटै छैन, कहाँबाट गर्ने † तर, यहाँका प्राज्ञहरूले पाएको सेवासुविधा हेर्दा सोध्न मन लाग्छ– तपाईंहरू प्राज्ञिक कामका लागि यहाँ आउनुभएको हो कि सुविधा मात्रै भोग्न ? यदि बजेटको कमी भएको हो भने सरकार र दातृराष्ट्रहरूलाई अनुरोध गर्न सकिन्छ– त्यतापट्टि कसले ध्यान देओस् ? बरु, प्राज्ञहरू नयाँ–नयाँ गाडी र सुविधाको होडबाजीमा छन् । कार्यक्रमका लागि बजेट अभावको गुनासो गर्छन्, अर्कोतिर महँगा गाडीहरूमा सयर गर्छन् । तलब–भत्ताबापत प्रतिमहिना औसत २५ हजार रुपियाँ बुझ्छन् । त्यसबाहेक घरभाडा, दैनिक भ्रमणभत्ताबाहेक वर्षको दुई महिना बिदा सुविधा पनि पाउँछन् । बिदा नलिनेका हकमा कार्यकाल सकिँदा वर्षको दुई महिना बराबरको एकमुष्ठ रकम बुझ्छन् ।

प्रज्ञा–प्रतिष्ठानहरू साइनबोर्डमा मात्रै जीवित लाग्छन् । प्रतिपक्षी दलका नेताहरू सरकार गिराउन जुटेझैँ यी प्राज्ञ पनि केही गरिरहेको भ्रम दिन जुटेका छन् । पहिले एउटै भएको प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, कला र संस्कृतिका यावत् विधामा थुप्रै काम गरेको फेहरिस्त निकाल्थे । कविता महोत्सव, नाटक महोत्सव हुन्थे । अनि, मुलुकभरिका प्रतिभावानहरूले आफ्नो प्रतिभाको परीक्षण गर्ने फोरम पाउँथे । तर, अहिले तीन–तीनवटा प्रज्ञा–प्रतिष्ठान छन्, तिनले के गरिरहेछन् कसैलाई थाहा हुन्न । तीनैवटा एकडेमीका प्राज्ञलाई सोध्नुस्, अहिले के काम भइरहेछ ? उत्तर आउँछ– ‘अनुसन्धानको काम भइरहेछ ।’

मातृभाषाको विकासको सवालमा पनि प्रज्ञा प्रतिष्ठान नै जिम्मेवार हुन्छ । डारिल बेब विल्सनले धेरै अघि भनेका थिए– ‘यस संसारमा बाँच्नका लागि हामीले सेतो (गोराहरूको) भाषा जान्नुपर्छ तर सधैँसधैँ बाँच्नका लागि हामीले हाम्रै भाषा जान्नुपर्छ ।’ सायद, ‘प्राज्ञ’ सुलोचना मानन्धरले यो पढ्नुभएको हुनुपर्छ । जसलाई मातृभाषा नजान्नु पहिचान गुमाउनु हो भन्ने लाग्छ, ऊ यो भनाइसँग पक्कै सहमत हुन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान नै मुख्य संस्था हो, जसले मातृभाषा संरक्षणमा ध्यान दिनुपर्छ । नेपालको अन्तरिम संविधान, २०६३ को भाग ३ को मौलिक हकको शिक्षा तथा संस्कृतिसम्बन्धी हक धारा १७.१ मा लेखिएको छ : ‘प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ ।’ यसैगरी, धारा १७.३ मा ‘नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र संवद्र्धन गर्ने हक हुनेछ ।’ तर, प्रज्ञा प्रतिष्ठानको ध्यान पनि यतातिर गएकै छैन । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका सन्दर्भमा प्रज्ञा प्रतिष्ठानले दुई/चार दर्जन मातृभाषाका कविता वाचन गराएर मात्रै केही हँुदैन । देशमा बोलिने मातृभाषाहरू ती भाषाका वक्ताको मात्र सरोकारको विषय होइन, राज्यकै सम्पदा हुन् । मुलुकको भाषा, संस्कृति, संस्कार, इतिहास जोगाउने काम प्रतिष्ठानको हो ।

‘नाटकलाई यथार्थको उद्घाटनसित मात्र नजोडी सामाजिक हितसँग पनि जोडेर हेरिन्छ र त्यसै प्रयोजनका लागि नाटक लेखिनुपर्छ,’ नाटककार बालकृष्ण समले धेरै अघि उठाएको यो विषयले अहिले नेपाली रंगमञ्चमा फराकिलो भूमि पाएको छ । मलाई यहाँ थिएटरको कुरा गर्न मन लागेको छ । आरोहण गुरुकुलजस्तो नियमित नाटक देखाएर नेपाली कला र साहित्यको सेवा गर्ने संस्था असामयिक घाइते हुँदा म बडो भावुक भएको थिएँ । जबकी प्रज्ञा प्रतिष्ठानले कहिल्यै गर्न नसकेको काम गुरुकुलले गरिरहेको थियो । सरकारी संस्थामा राष्ट्रिय सांस्कृतिक संस्थान (नाचघर) र नेपाल प्रज्ञा प्रतिष्ठानसँग एक–एकवटा हल छन् । तर, ती हलको रेट रंगकर्मीले धान्नै सक्दैनन् । जस्तो– नाचघरको हलको दैनिक भाडा ६० हजार रुपियाँ पर्छ भने प्रतिष्ठानको हललाई ४० हजार रुपियाँ ।
कला, साहित्य र संस्कृतिको अभिव्यक्तिका लागि सशक्त माध्यम एवं चेतना र शिक्षाका लागि बलियो विधा मानिएको नाट्यकर्मको यस्तो हविगतले सम्भवत: प्रज्ञा प्रतिष्ठानलाई गिज्याउँछ र नेपालकै दुर्दशा प्रतिविम्बित गर्छ । किनभने, यसको विकासमा नाट्यकर्मी मात्रै संलग्न छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले रंगमञ्चको उत्थानका लागि कुनै काम गर्न सकेको छैन । सायद, राज्यको नजरमा नाट्यकर्मको कुनै अर्थ छैन ।
प्रज्ञा प्रतिष्ठान यस्तो गएगुज्रेको निजी संस्थानजस्तो भएको छ, जसको सिर्जनात्मक स्रस्टाहरूसँग कुनै साइनो वा सम्बन्ध नै छैन । यहाँका प्राज्ञलाई हामीले कसरी मूल्यांकन गर्ने जबकि उनीहरू कुनै पार्टीको झन्डामुनि ओत लागेर मात्रै ‘बौद्धिक’ कहलाएका छन् ? बनारसका पण्डाहरूको जस्तो संस्कार भएका यी प्राज्ञ यहाँ आएको पैसाजति सबै आजीवन भत्ता भन्दै कामै नगरी पच पार्छन् । भत्ता र पेट्रोल हसुर्छन्– मात्र यत्तिमै उनीहरूको ‘सिर्जनात्मक मगज’ खेर गएको छ । पञ्चायती तानाशाहीमा सैतानहरूको डरलाग्दो अखडा बनेको यो, अहिले भ्रष्टाचारी र बेकम्माहरूको नांगो नाच नाच्ने डिस्कोथेक बनेको छ । प्राज्ञहरूलाई मेरो सुझाव–प्रतिष्ठानमा बसेर केही रचनात्मक काम गर्न सक्नुहुन्छ भने गर्नुस्, सक्नुहुन्न भने छाड्नुस् । पैसै कमाउने हो भने सहरको कुनै चोकमा मम पसल थाप्नुस्, त्यहाँको भन्दा धेरै पैसा कमाउन सक्नुहुन्छ । जनआन्दोलन–२ का बेला सडकमा नआउने ‘प्राज्ञ’हरू अहिलेको गणतन्त्र नेपालमा बाबुरामलाई थामेर बसेका छन् ।

प्रतिक्रिया