नतिजा उही शून्य

काठमाडौं, २० साउन । बेलायतको राजधानी लन्डनमा जारी तीसौँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद सकिन अझै नौ दिन बाँकी छ । तर, ओलम्पिकमा नेपालको चुनौती आजबाट समाप्त हुने निश्चितप्राय: छ ।

ओलम्पिकमा नेपालको सहभागिता ‘अनुभव बटुल्ने’ भन्दा माथिल्लोस्तरमा हिजो पनि थिएन र आज पनि छैन । बढीमा राष्ट्रिय कीर्तिमान भंग गर्ने लक्ष्य लिएर गएका खेलाडी रित्तो हात फर्किनु कुनै आश्चर्यको विषय होइन । तर, यसरी केवल सहभागिताकै
लागि सहभागिताको सिलसिला कहिलेसम्म जारी राख्ने भन्नेमा बहस थालिनु जरुरी भइसकेको छ ।

विश्वभरका दस हजारभन्दा बढी खेलाडी सहभागी भएको यस खेलकुद महाकुम्भमा ५ नेपाली खेलाडी जंगलभित्र हराएको बालकजस्ता भएका छन् । चारजना खेलाडी प्रतियोगिताबाट बिहिरिइसकेका छन् भने पाँचौँ खेलाडीले शनिबार नै प्रतिस्पर्धा गर्दै छन् । तिलकराम थारूको भाग्यपरीक्षणसँगै नेपालको लन्डन सहभागिताको कथामा पनि पूर्णविराम लाग्नेछ ।
नेपालले लन्डन ओलम्पिक खेलकुद–०१२ को यात्रा बेइजिङ ओलम्पियाडपछि फेरि एकपटक ओलम्पियन प्रतिस्पर्धी बन्न गइरहेका पौडीवाज प्रसिद्धजंग शाहको अगुवाइमा गत शुक्रबार मार्चपासबाट गरेको थियो । चन्द्र र सूर्यअंकित तीनकुने राष्ट्रिय झन्डा बोकेका प्रसिद्धका पछाडि अरू चारजना नेपाली ओलम्पियन श्रेया धिताल, प्रमिला रिजाल, तिलकराम थारू र स्नेहाराज्यलक्ष्मी राणा थिए । उनीहरूलाई लन्डनमा नेपाल सहभागी तीन खेल पौडी, एथलेटिक्स र सुटिङका तीन प्रशिक्षकले पनि साथ दिएका थिए ।
नेपालका कुनै पनि खेलाडीले छनोट चरणका खेलमा आफूलाई योग्य प्रमाणित गर्न सकेनन् । तर, अन्तर्राष्ट्रिय भाइचारा र सद्भावका लागि मात्र भए पनि ओलम्पिक खेलकुदमा सहभागिता जनाउनैपर्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को नीति छ । यो नीतिअनुरूप आइओसीले त्यस्ता कमजोर राष्ट्रका केही खेलाडीका लागि सोझै खेल्ने अनुमति ‘वाइल्ड कार्ड’ दिने गर्छ ।
नेपाल ओलम्पिक कमिटी
(एनओसी) ले विभिन्न सात खेल एथलेटिक्स, पौडी, बक्सिङ, तेक्वान्दो, सुटिङ, जुडो र साइक्लिङका गरी जम्मा १८ खेलाडीका लागि ‘वाइल्ड कार्ड’ प्रवेश निम्ति आइओसीसित अनुरोध गरेको सार्वजनिक गरेको थियो । तर, तीमध्ये केवल पाँचजना एथलेटिक्सका प्रमिला र तिलकराम, पौडीका श्रेया र प्रसिद्धजंग र सुटिङकी स्नेहाले मात्र यस तीसौँ ग्रीष्मकालीन ओलम्पिकमा खेल्ने अनुमति पाएका थिए ।
श्रेयाद्वारा राष्ट्रिय कीर्तिमान
पौडीवाज श्रेया धितालले लन्डनमा महिलाको सय मिटर फ्रिस्टाइल इभेन्टमा प्रतिस्पर्धा गरिन् । त्यसक्रममा उनी पूर्वानुमानअनुसार नै हिट चरणबाटै बाहिरिइन् । तर, त्यत्तिमै पनि उनी सोही इभेन्टमा नेपालमा स्थापित राष्ट्रिय कीर्तिमानमा भने केही सेकेन्डले सुधार गर्न सफल भइन् । उनले उक्त दूरी एक मिनेट १० दशमलव ८० सेकेन्डमा पूरा गरिन् । यसअघि उक्त कीर्तिमान उनकै नाममा एक मिनेट १० दशमलव ८२ सेकेन्ड थियो ।
जम्मा ४८ खेलाडी सहभागी उक्त हिटमा १७ वर्षीया श्रेया ४७औँ स्थानमा रहिन् । उनीभन्दा पछाडि केवल कम्बोडियाकी साइमा अयुबा अली मात्र थिइन् । श्रेयाले ओलम्पिक सुरु हुनुभन्दा एक महिना पहिलेदेखि अन्य चार खेलाडीसँगै लन्डनछेउको केन्ट सहरमा नियमित प्रशिक्षण लिएकी थिइन् । उनले पछिल्लो छैटौँ राष्ट्रिय खेलकुदमा आठ स्वर्ण चार रजतसहित १२ पदक  जितेकी थिइन् ।
बिबिसीले जनाएअनुसार श्रेयालाई हौसला प्रदान गर्न उनका बुबा सुब्रत धिताल, आमा अनिता धिताल र बहिनी पनि लन्डन पुगेका थिए । आमा र बहिनीले उनको खेल प्रत्यक्ष हेर्न पाए भने टिकट नपाएकाले पिताले बाहिर रेस्टुरेन्टमा बसेर प्रत्यक्ष प्रसारण हेरेर चित्त बुझाएका थिए ।
खेलको समाप्तिपछि पत्रकारबाट आफूले राष्ट्रिय कीर्तिमान बनाएको थाहा पाएकी श्रेयाले आफ्नो उक्त सफलता आफैँलाई अविश्वसनीय लागेको प्रतिक्रिया दिएकी थिइन् । उनले यो सफलतापछि पौडी खेल्ने रहर अझ बढेको पनि बताइन् । उनका आमा र बुबाको प्रतिक्रिया थियो– ‘छोरीको ओलम्पिक उद्देश्य पूरा भएको छ उनले हाम्रो इच्छा पनि पूरा गरिदिएकी छन् ।’
प्रसिद्धजंग ४७औँ स्थानमा
अर्का पौडीवाज प्रसिद्धजंग शाह लन्डन ओलम्पिक्सको ५० मिटर फ्रिस्टाइल पुरुष स्पर्धामा सहभागी भए । त्यसमा उनले ५८ जना सहभागीमध्ये ४७औँ स्थान प्राप्त गरे । उनले उक्त दूरी २६ दशमलव ९३ सेकेन्डमा तय गरे । (सबैभन्दा छिटो समयमा पौडिएका ट्रिनिडाड एन्ड टोबागोका जर्ज रिचार्ड वाभेलले २१ दशमलव ७७ सेकेन्डमा उक्त दूरी तय गरेका थिए) ।
नेपालका लागि पुरुषको ५० मिटर फ्रिस्टाइलतर्फ राष्ट्रिय कीर्तिमान स्व. चित्रबहादुर गुरुङको नाममा छ, जसले उक्त दूरी २६ दशमलव ३९ सेकेन्डमा पूरा गरेका थिए । गुरुङले सिड्नी ओलम्पिक–२००० मा नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसो त २३ वर्षीय प्रसिद्धजंग शाह नेपालका त्यस्ता एक मात्र पौडी खेलाडी हुन् जसले तीनवटा फिना विश्व च्याम्पियनसिप र दुईवटा ओलम्पिक खेलकुदमा सहभागिता जनाइसकेका छन् ।
प्रमिलालाई अनुभव मात्र
प्रमिला रिजालले महिलाहरूको सय मिटर दौडमा नेपालको प्रतिनिधित्व गरिन् । २७ वर्षीय रिजालले उक्त दूरी १३ दशमलव ३३ सेकेन्ड समयमा पूरा गरिन् र सहभागी ३३ प्रतिस्पर्धीमध्ये २५औँ स्थान हासिल गरिन् । नेपालमा उनी एक सय, दुई सय र चार सय मिटरकी धाविका हुन् । उनले पछिल्लो छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चार स्वर्णपदक जितेकी थिइन् ।
महिलाहरूको यस इभेन्टमा नेपालको राष्ट्रिय कीर्तिमान देवीमाया पनेरूको नाममा छ । देवीमायाले करिब आठ वर्षपहिले राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा प्रतिस्पर्धा गर्दै उक्त दूरी १२ दशमलव०२ सेकेन्डमा पूरा गरेकी थिइन् । यही समय अहिलेसम्म महिला सय मिटरतर्फको राष्ट्रिय कीर्तिमानका रूपमा कायम रहिआएको छ ।
स्नेहाको निराशा
प्रतियोगिताको सुरुमै सुटिङको १० मिटर एअर राइफल इभेन्टमा नेपालको प्रतिनिधित्व गरेकी स्नेहा राज्यलक्ष्मी राणाले पूर्णत: निराशाजनक प्रदर्शन गरिन् । यी १९ वर्षीया सुटिङ खेलाडीसित पाँचौँ र छैटौँ राष्ट्रिय खेलकुद तथा सिंगापुरमा भएको एसियन युथ गेम्सको अनुभव थियो । लन्डनमा प्रतिस्पर्धा गर्दै ५६ जना सहभागीबीच ३ सय ८३ अंक स्कोर गर्दै स्नेहाले ५४औँ स्थान हासिल गरिन् । त्यसो त उनको व्यक्तिगत श्रेष्ठ स्कोर ३ सय ८८ अंक हो ।
अब तिलकराम मात्र बाँकी
नवलपरासीका २० वर्षीय तिलकराम थारू एक सय र दुई सय मिटरका च्याम्पियन धावक हुन् । उनीसित मनग्गे राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागिताको अनुभव छ । उनले नेपालको अन्तिम प्रतिस्पर्धीका रूपमा शनिबार पुरुषतर्फको सय मिटर दौडमा भाग्य जमाउनेछन् ।
स्पष्ट छ, श्रेयाले आफ्नै राष्ट्रिय कीर्तिमानमा झिनो सुधार गर्नुबाहेक अरू कुनै खेलाडीको प्रदर्शन उल्लेखनीय रहेन । कुरा घुमाइफिराई फेरि त्यहीँ रह्यो, अर्थात् ‘ओलम्पिकमा पदक जित्नु ठूलो होइन, सहभागिता नै प्रमुख कुरा हो ।’ नेपालले फेरि एकपटक यो सूत्रलाई पूर्णरूपले आत्मसात् गरेको छ । र, लन्डनको तीसौँ ओलम्पिक्स नेपालका लागि ‘सहभागिता र अनुभवकै कथा’ मात्र रहने भएको छ ।

प्रतिक्रिया