संविधान भन्दा बाहिर जाँदिनः राष्ट्रपति

काठमाडौं, १९ साउन । राष्ट्रपति डा.रामवरण यादवले दलहरुलाई संविधान र कानून भन्दा बाहिर नजान आग्रह गरेका छन् ।
कांग्रेसका जिल्ला सभापतिहरुसँगको भेटका क्रममा डा.यादवले सहमतिबाटै संवैधानिक र राजनीतिक संकटको समाधान गर्नुपर्ने दोहराएका हुन् । उनले आफू संविधानको संरक्षक रहेकाले संविधान भन्दा बाहिर गएर कुनै कदम नचाल्ने जनाएको नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।
‘संविधान मिचेर अधिनायकवाद लाद्ने प्रयास कसैबाट गरिनु हुँदैन,’ डा.यादवले भने, ‘दलहरुले सहमतिबाटै समस्याको समाधान गर्नुपर्छ ।’
राष्ट्रपति डा.यादवसँगको भेटका क्रममा कांग्रेसका जिल्ला सभापतिहरुले कामचलाउ सरकारले अध्यादेशबाट मुलुक चलाउन सुरु गरेको भन्दै त्यस तर्फ ध्यान दिन आग्रह गरेका थिए ।
सभापतिहरुले सरकारको अधिनायकवाद आफूहरुलाई असैह्य रहेको जनाएको सभापति केसीले बताए ।
सिन्धुपाल्चोकमा सम्पन्न भेलामा सहभागी भएर राजधानी आएका कांग्रेसका जिल्ला सभापतिहरुले यस अघि सभपाति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवासँग भेटबार्ता गरेका थिए ।

प्रतिक्रिया