सिरियामा ४३ को मृत्यु

बेरुत : सिरियाको राजधानी दमास्कसनजिकै सिरियाली सुरक्षाबलले गरेको आक्रमणमा परी कम्तीमा ४३ व्यक्तिको मृत्यु भएको बिहीबार जनाइएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार कारबाहीमा परी अन्य सयौँ नागरिक घाइते भएका छन् ।
उता सिरियाको दोस्रो ठूलो सहर अलेप्पोमा सरकारी सैनिक र विद्रोहीबीचको भिडन्त अझै जारी छ । आक्रमणबाट भएको क्षतिको विवरण प्राप्त हुनसकेको छैन । सरकारले ती स्थानमा अधिकारवादी र पत्रकारको प्रवेशलाई रोक लगाएको छ । दक्षिणपश्चिम दमास्कसको जाइदेत आर्टुज जिल्लामा सरकारी सैनिक प्रवेश गरी एक विद्यालयबाट करिब सय युवालाई पक्राउ गरी यातना दिएको मानव अधिकारवादीको भनाइ छ । सिरियामा जारी आन्दोलनको पर्यवेक्षण गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार दक्षिणपश्चिम दमास्कसको सो जिल्लामा २८ जना सर्वसाधरणको मृत्यु भएको छ । बुधबार मात्र सिरियामा एक सय ६३ को मृत्यु भएको थियो । (एएफपी)

प्रतिक्रिया