नक्कली परीक्षार्थी पक्राउ

जाजरकोट, १९ साउन । एसएलसी पूरक परीक्षामा नक्कली परीक्षार्थी बनेका चारजना पक्राउ परेका छन् । बिहीबार भएको अनिवार्य नेपाली विषयको परीक्षामा अर्काको सट्टामा लेख्न बसेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जनप्रिय उच्च मावि दशेरामा कक्षा १२ मा अध्ययनरत अमृता थापा, जनता उच्च मावि पौकमा कक्षा १२ मा अध्ययनरत माधव शर्मा, इन्द्रज्योति मावि साल्मामा कक्षा १२ मा अध्ययनरत तुलबहादुर बुढा र भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत निमबहादुर चलाउने छन् ।
उनीहरूले क्रमश: सिम्बोल नम्बर ०६४२३१२ एच की विमला थापा, सिम्बोल नम्बर ०६४०५४० डी का भीमबहादुर आरसी, सिम्बोल नम्बर १६४२५९४ डी की सीता बुढा र सिम्बोल नम्बर ०६४०७४६ बी का लालबहादुर चलाउनेको सट्टामा परीक्षा दिएका थिए । परीक्षार्थी लालबहादुर चलाउने रोजगारीका लागि भारतमा रहेको र उनको नियमित परीक्षासमेत निमबहादुरले नै दिएको पाइएको छ ।
निमित्त जिल्ला शिक्षा अधिकारी यज्ञश्वर खत्रीले परीक्षाको मर्यादाविपरीत कार्य गरेको आरोपमा तीन निरीक्षकलाई पनि निष्कासन गरेको बताए । जाजरकोटबाट पूरक परीक्षामा पाँच हजार सात सय ६३ विद्यार्थीले फारम भरेको शिक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया