मालपोतका कर्मचारीद्वारा घुस फिर्ता

बाग्लुङ, १९ साउन । मालपोत कार्यालयका कर्मचारीले किसानसँग दुई साताअघि लिएको रकम फिर्ता गरेका छन् । बाग्लुङ ताराखोलाका स्थानीयसँग लिएको रकम फिर्ता भएको हो ।

जग्गा नामसारीलगायत विभिन्न कामका लागि भन्दै कर्मचारीले रकम असुलेको समाचार सौर्य दैनिकले प्रकाशन गरेपछि उनीहरूले गाउँलेसँग लिएको करिब एक लाख रुपियाँ फिर्ता गरेका हुन् ।
मालपोत कार्यालयका नायब सुब्बा डिलबहादुर क्षत्रीको नेतृत्वमा कार्यालयका भूपेन्द्र केसी, लेखापढी व्यवसायी नारायण श्रेष्ठ, पूर्वअमिन शत्रुघ्न श्रेष्ठको टोलीले विभिन्न काम गरिदिने भन्दै लिएको रकममध्ये ८७ हजार रुपियाँ फिर्ता गरेको स्थानीय अकप्रसाद रोकाले बताए ।
कर्मचारीले उनको १५ हजार, हर्कबहादुर रोकाको ३४ हजार, अशिकला घर्तीको आठ हजार, हेमलाल रोका, भीमबहादुर रोका, रनबहादुर रोका, बमबहादुर रोका र गोविन्दप्रसाद रोकाको ६ हजार रुपियाँका दरले रकम फिर्ता गरेका हुन् । फिर्ता गर्न बाँकी रहेका स्थानीयको रकम केही दिनभित्रै फिर्ता गरिदिने कर्मचारीहरूले बताएको उनले बताए ।
दिवंगत बाबुआमाको नाममा रहेको जग्गा छोराको नाममा नामसारी गर्ने क्रममा नियमअनुसार दस रुपियाँ लाग्ने भए पनि मालपोतका कर्मचारीले एकै व्यक्तिबाट ६ हजार रुपियाँसम्म पैसा असुलेका थिए । ताराखोलास्थित सयपत्री लघु जलविद्युत् आयोजनाको नक्सांकनका लागि सदरमुकामबाट त्यहाँ पुगेको डोर टोलीले आयोजनाका साथै स्थानीयको काम गर्ने क्रममा रकम लिएको थियो । कर्मचारीले काम गरिदिने आश्वासन दिएर गाउँबाट करिब एक लाख रुपियाँ लिए पनि रसिद दिएका थिएनन् ।
गाउँलेबाट लिएको रकम टोलीका सदस्यले बाँडेर लिएका थिए । जिल्लाबाट गएको टोलीमा मालपोत अधिकृत शालिकराम शर्मासमेत सामेल भए पनि उनले आफू घुम्नका लागि गएको बताए । उनले कर्मचारीले रकम लिएको पाइए कारबाही गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया