चामल किलोको एक सय ३० रुपियाँ

दैलेख, १९ साउन । कर्णाली राजमार्ग बन्द भएपछि कर्णालीका जिल्लामा दैनिक उपभोग्य सामानको अभावसँगै मूल्य अकासिएको छ । दुर्गम गाउँमा चामलको मूल्य प्रतिकिलो एक सय ३० रुपियाँसम्म पुगेको छ ।

अविरल वर्षाका कारण कर्णाली राजमार्गको दुई सय ३२ किलोमिटर सडकखण्डमा यातायात अवरुद्ध भएपछि एक महिनादेखि कर्णालीका जिल्लामा खाद्यान्न ढुवानी हुन सकेको छैन ।
कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि दैलेखको खिड्किजिउलासम्म ८५ किलोमिटर मात्र यातायात सञ्चालनमा छ । कालीकोटको पश्चिममा रहेका रकु, मेहोल्तोली, सिप्खाना, सिउना, नानीकोट, खिन, धौलागोह, राम्नाको र थ्रिपुलगायतका १७ गाविसमा खाद्यान्नको अभावसँगै महंगी बढेको स्थानीयले बताए ।
ढुवानी रोकिएपछि खाद्यान्न अभाव बढेर चामम प्रतिकिलो एक सय ३० रुपियाँमा किनबेच भइरहेको रकुका सत्तलसिंह बुढाले बताए ।
राजमार्गका ट्रयाक मात्र खोलेर कर्णालीमा मोटर पुर्‍याए पनि सडकको स्तरोन्नति नभएका कारण कर्णालीमा खाद्यान्नको अभाव हुने गरेको नेकपा (एमाले) दैलेखका उपाध्याक्ष नेसनल शाहीले बताए । कर्णालीका जनताले सहजरूपमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री पाउन नसकेको उनले बताए । डेढ महिनादेखि नै ग्रामीण भेगमा खाद्यान्न ढुवानी रोकिएपछि एक किलोग्राम चिनीको मूल्य एक सय २५ रुपियाँ पुगेको छ ।
आफ्नो खेतबारीको अन्नले चार महिना खान नपुग्ने कर्णालीका बासिन्दा राजमार्ग बन्दका कारण नुनसम्म खान नपाएको नेपाली कांग्रेसका सदस्य दमन शाहीले बताए । राजमार्ग बन्दका कारण भरिया र खच्चडबाट मालसामान ढुवानी गर्नुपरेका कारण मूल्यवृद्धि भएको हो ।
‘कालीकोटको मोटरबाटोमा काम गरिरहेका ठेकेदारलाई बाटो खुलाउन अपिल गरेका छौँ,’ कालीकोट उद्योग वाणिज्य संघका सचिव तीर्थबहादुर शाहीले भने, ‘खाद्यान्नलगायत दैनिक उपभोग्य सामानको अभावमा कालोबजारी गर्नेलाई कारबाही पनि भएको छैन ।’
सुर्खेतदेखि दैलेखको खिड्कीजिउलासम्म यातायात सञ्चालनमा आए पनि दैलेखको रामगाडमा समयमा पुल निर्माण हुन नसक्दा खोलामा पानीको बहाव बढेपछि यातायात अवरुद्ध हुने गरेको हो । खिड्कीजिउलादेखि किटु, दहीखोला, जित्यागडालगायत जिल्ला सदरमुकाम मान्मसम्म १२ ठाउँमा पहिरो गएका कारण कर्णाली राजमार्ग सञ्चालनमा आउन नसकेको हो ।

प्रतिक्रिया