गाउँमा संगठन विस्तार गर्न निर्देशन

काठमाडौं, १८ साउन । कांग्रेस सभापति सुशील कोइरालाले गाउँगाउँमा गएर एकजुट भई संठन विस्तार एवं सुदृढिकरणमा लाग्न जिल्ला सभापतिहरुलाई निर्देशन दिएका छन् ।
उनले पार्टीमा आफूबाट भएका कमजोरी सच्चाउँदै अघि बढ्ने भन्दै अरुले गल्ती गरेको भए त्यसबारेमा जानकारी गराउन आग्रह गरेका छन् । उनले भने, ‘पार्टीमा अरुले पनि आफ्ना गल्ती सच्चाउन पर्छ ।’
आफ्नै निवास महाराजगञ्जमा आज जम्मा भएका जिल्ला सभापतिहरुसँगको भेटका क्रममा कोइरालाले भने, ‘पार्टीभित्र मैले गल्ती गरेको छु र कमी कमजोरी भएका छन् भने सुधार गर्न तयार छु ।’
कोइरालाले पार्टीमा अरुले गल्ती गरेका छन् भने जिल्ला सभापतिहरुले पनि बोल्नुपर्ने बताएको नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।
सभापति कोइरालाले संविधानसभा भंग भएपछि उत्पन्न राजनीतिक गतिरोधबाट समाधान खोज्न कांग्रेस अग्रसर रहँदै आएको बताए । ‘सहमति, एकता र मेलमिलापको विकल्प छैन,’ उनले भने, ‘कांग्रेसले अन्य दलहरुसँग छलफल चलाई रहेको छ छिट्टै निकास आउँछ ।’
भेटका क्रममा जिल्ला सभापतिहरुले कोइरालालाई राजनीतिक संकटको समाधानका लागि नेतृत्व लिन सुझाव दिएका थिए ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको दोस्रो भेलाबाट फर्किएका जिल्ला सभापतिहरुले संठन सुदृढिकरणका सम्बन्धमा पनि ध्यान दिन कोइरालालाई आग्रह गरे ।

प्रतिक्रिया