काठमाडौं : सेलिब्रिटीका छोराछोरी पनि चलचित्र क्षेत्रमा भित्रिने क्रम बढ्दै गएको छ । केही समयअघि मात्रै नायक तथा निर्माता भुवन केसीका छोरा अनमोल नायकका रूपमा देखापरे । अब अभिनेत्री तथा निर्मात्री मौसमी मल्लका छोरा बिक्की पनि नायकका रूपमा देखापर्दै छन् । मौसमीले चलचित्र समयबाट छोरालाई नायकका रूपमा डेब्यु गराउने तयारी
गरेकी हुन् । त्यसो त २३ वर्षीय बिक्कीले यसअघि पनि चलचित्र गिरफ्तारको एउटा गीतमा डान्स भने गरिसकेका छन् ।
‘आमाको चलचित्र भए पनि अडिसन दिएर मात्र नायकको भूमिकामा छानिएको हुँ’, प्लस टुसम्मको अध्ययन सिध्याएका बिक्कीले दाबी गरे । यो चलचित्र प्रदर्शनमा नआउँदै अर्को चलचित्रबाट अफर आए पनि यसको रिजल्ट हेरेर मात्र अरू चलचित्र खेल्ने सोच उनको छ ।
बिक्कीको जन्मदिन पारेर निर्माणसमूहले आज बिहीबारबाट छायांकनका क्रममा खिचिएका उनका तस्बिरहरू सार्वजनिक गर्ने भएको छ । छोरा चलचित्रको मुख्य भूमिकामा देखिन लागेकाले मौसमी पनि दंग छिन् । भनिन्, ‘छोराले रहर गरेको थियो, काम पनि राम्रै गरेको छ, दर्शकले मन पराउने विश्वास लिएकी छु ।’ छायांकन सिध्याएर प्राविधिक कार्यमा रहेको चलचित्र आगामी कात्तिकमा प्रदर्शन गर्ने योजनामा निर्माणपक्ष छ । प्रेमकथामा आधारित चलचित्रमा बिक्कीसँगै नवनायिका सुरभी जैनले पनि डेब्यु गर्दै छिन् । यस चलचित्रमा मौसमीले पनि अभिनय गरेकी छन् । एसएम फिल्म्स्को ब्यानरमा मौसमीकै प्रस्तुति रहेको चलचित्रको निर्देशन दयाराम दाहालले गरेका छन् । (सौस)
प्रतिक्रिया