काठमाडौं, १८ साउन । एमाओवादीको महाधिवेशन आयोजक समिति १ सय ७५ सदस्यीय बन्ने भएको छ । बुधबार बसेको महाधिवेशन आयोजक समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ७१ जना नयाँ सदस्य मनोनीत गर्न प्रस्ताव गरेका छन् ।
बैठकमा अध्यक्ष दाहालले प्रस्ताव गरेका नाम समावेशी नभएको भन्दै सदस्यहरूले आपत्ति जनाएका छन् । उनीहरूले काठमाडौंमा साउनको पहिलो साता सम्पन्न सातौँ विस्तारित बैठकले निर्देश गरेअनुरूप महिला, मुस्लिम, दलित, पिछडिएको क्षेत्रलाई समेट्ने गरी मनोनीत गरिने सदस्यहरूको नाम ल्याउन नेतृत्वलाई सुझाव दिएका छन् ।
आयोजक समिति सदस्य स्वनाम साथीका अनुसार बिहीबार बस्ने बैठकले मनोनीत गर्ने सदस्यहरूको नाम टुंगो लगाउनेछ । ‘आयोजक समिति १ सय ७५ सदस्यीय पुर्याउने गरी अध्यक्षले नाम प्रस्ताव गर्नुभएको छ । भोलि (बिहीबार) बस्ने बैठकले टुंगो लगाउँछ,’ उनले भने ।
तत्कालीन उपाध्यक्ष मोहन वैद्यले पार्टी विभाजन गरेपछि अहिले एमाओवादीको महाधिवेशन आयोजक समिति १ सय ४ सदस्यीय छ । ४४ केन्द्रीय सदस्य वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीमा गएका थिए । समावेशी ढंगले ७१ जना सदस्य मनोनीत गरेर आयोजक समिति १ सय ७५ पुर्याउन दाहालले प्रस्ताव गरेका छन् ।
स्रोतका अनुसार दाहालले प्रस्ताव गरेका नाममा केही सल्लाहकार सदस्य र राज्य समितिका अगुवा नेताहरूको नाम छ । दाहाल र उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले आफूनिकट व्यक्तिलाई मनोनीत गर्न प्रस्ताव गरेका छन् । बिहान लाजिम्पाटस्थित दाहालनिवासमा बसेको पदाधिकारी बैठकमा मनोनीत गर्ने नामबारे विवाद नै भएको थियो । आयोजक समितिमा मनोनयनका लागि करिब साढे तीन सयजनाको हेडक्वार्टरमा आएको स्रोतको दाबी छ ।
उजुरीको समय लम्ब्याइयो
यसैबीच, एमाओवादीका नेताहरूको सम्पत्ति छानबिन आयोगले उजुरीका लागि समय थप गरेको छ । आयोगले उजुरी दिन पाउने समय १७ साउनदेखि बढाएर २५ साउन पुर्याएको छ । यसअघि आयोगले उजुरी दिन आह्वान गर्दै एक साता लामो म्यादसहितको सूचना जारी गरेको थियो । मंगलबार मात्रै आयोगले बेनामी उजुरीसमेत लिने जनाएको थियो ।
प्रतिक्रिया