‘टाइटानिक’का संगीतकार धनगढीमा

कैलाली, १८ साउन । विश्वप्रसिद्ध चलचित्र टाइटनिकका संगीतकार पल पिवडी धनगढी आइपुगेका छन् । कैलालीको धनगढीमा बिहीबार हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनी धनगढी आएका हुन् ।

संगीतकार पल पिवडी भारतको कोलकाता हुँदै कञ्चनपुरको महेन्द्रनगर नाकाबाट धनगढी आएका हुन् । धनगढीको ओम प्यालेसमा बिहीबार साँझ ६ बजे सांगीतक कार्यक्रम गरिँदैछ । सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा संगीतकार पलले मीठा सांगीतिक धुन प्रस्तुत गर्नेछन् भने केही नेपाली गीतमा समेत संगीत दिने आयोजकले बताएको छ । सांगीतिक कार्यक्रममा नेत्रहीन संघ काठमाडौंको सक्षम गु्रपका कलाकारले पनि संगीतकार पललाई साथ दिनेछन् । सक्षम गु्रपका सबै कलाकार न्यून दृष्टि र दृष्टिविहीन छन् ।
ओम गुप्र धनगढीको व्यवस्थापनमा नेपाल नेत्रज्योति संघ कैलालीस्थित गेटा आँखा अस्पतालको आयोजना र हेल्प मिसीको सहयोगमा आयोजना हुन लागेको हो । कार्यक्रमबाट उठेको रकमले गेटा आँखा अस्पतालमा धर्मशाला निर्माण गरिने अस्पतालका निर्देशक डा.विद्याप्रसाद पन्तले बताए ।
‘आँखा अस्पतालमा आउने आँखाका रोगीका लागि बस्न अप्ठयारो भएकोले धर्मशाला निर्माणका लागि आर्थिक जोहो गर्न सांगीतिक कार्यक्रम आयोजना गरिएको हो,’ डा.पन्तले भने, ‘पिवडीको सांगीतिक कार्यक्रमपछि धर्मशाला निर्माण हुने सम्भावना बढेको छ ।’ अस्पतालमा सुदूरपश्चिम, मध्यपश्चिमका साथै भारतबाट आँखाका रोगी उपचारका लागि आउने गर्छन् ।

प्रतिक्रिया