काठमाडौं १७ साउन । सोना केसी सानैदेखि गीत, संगीत र नाचगानमा खुबै चाख राख्थिन् । त्यो सपना त्यतिबेला झन् उर्वर भइदियो, जतिबेला उनको नर्स बन्ने सपना तुहियो । ‘घरको आर्थिक अवस्थाले म नर्स बन्न सकिनँ,’ सोनाले भनिन्, ‘त्यसपछिको मेरो रुचि कलामै थियो, यसैमा लागेँ ।’
०४७ साल मंसिर २७ गते प्युठानमा जन्मिए पनि सोनाको बाल्यकाल भने सुदूरपश्चिमको कैलालीमा बितेको रहेछ । प्रारम्भिक शिक्षा कैलालीमा सुरु भए पनि प्रवेशिका परीक्षा भने प्युठानकै गंगा माविबाट पास गरिन् उनले । कैलालीको मसुरियास्थित जनप्रिय उच्च माविबाट दशजोड दुई पास गरेकी उनी अहिले मसुरियाकै खप्तड बहुमुखी क्याप्पसबाट बिएड गर्ने तयारीमा रहेको सुनाउँछिन् । तीन वर्षअघि मात्रै राजधानी पसेकी उनलाई कला क्षेत्रमा कसरी लागियो भन्नेबारे त्यस्तो विशेष स्मरण छैन । उनले भनिन्, ‘म सानैदेखि गाउँघर र स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन्थेँ, त्यसैको निरन्तरता हो कि ?’ जिम्वाल बाको आँगनीमा बोलको लोकप्रिय म्युजिकभिडियोमा मोडलिङ गरेर चर्चामा
आएकी सोनाले झन्डै दर्जन म्युजिकभिडियोमा आफ्नो कम्मर मर्काइसकेको बताइन् ।
शिरमा फुर्के रिबन म्युजिक भिडियोले अझै बढी हौसला मिलेको बताउने सोनाले गणबहादुर डिसीले निर्माण गरेको दुई दिनको जिन्दगानीमा नायिकाको भूमिका निर्वाह गरेकी छन् । ‘विडम्बना, त्यो फिलिम त चलेन, निर्माता नै हराए,’ सोनाले भनिन् । उसो त सोना आफँै गीतमा समेत स्वर पनि दिन्छिन् । शिरमा फुर्के रिबन बोलको गीतमा उनैको स्वर छ । अहिले पनि तीजगीतको तयारीमा लागेकी सोनालाई आफ्नो गीत ‘हिट हुने’ विश्वास छ । कुनै पनि काममा पटक्कै नआत्तिने स्वभावकी सोना राजनीतिमा पनि सक्रिय छिन् । अहिले खप्तड बहुमुखी क्याप्पसको स्ववियु कोषाध्यक्ष हु उनी । ‘राजनीति गर्नु पनि मेरो रुचि हो,’ सोना थप्छिन्, ‘मेरो राजनीतिक यात्रा माथिपुग्यो भने कलाकारका हकहितका पक्षमा बोल्नुपर्ला नि †’ रंगकर्मले नै बाँच्न भने असाध्यै धौधौ हुने अनुभव सँगालेकी सोना ‘यो सबै अग्रज कलाकारले बिगारेको परिपाटी हो,’ भन्छिन् । उनलाई चलचित्रका लागि ‘अफर’ आए पनि चपली हाइट, लुट, एटिएम र लास्ट किसजस्ता फिल्म खेल्ने रुचि नभएको बताउँछिन् ।
‘कमाउनु छ, हिट हुनु छ भन्दैमा सारा उदाङ्गो हुनु पनि त ठीक होइन नि’, सोनाले भनिन्, ‘कलाले त केही सन्देश पो दिनुपर्छ, अहिलेका फिल्मले समाजलाई कता लगिरहेको छ, सोच्नेबेला आएको छ ।’ मेरिबास्सै सिरियलका दुईवटा एपिसोडमा खेलिसकेकी सोनालाई एक डाइरेक्टरले ‘स्कुटी किनिदिन्छु, मैले भनेजस्तै गर,’ भन्दै अफर गरेका रहेछन् । उनले भनिन्, ‘यहाँ त नायिकाभन्दा ‘अरू’ नै बनाउने सोच–सपना बढी हुँदोरहेछ ।’ त्यसो गर्नु भनेको आमा कल्पना र बुबा भरतबहादुर केसीको विश्वासमा कुठाराघात गर्नुभएकाले आफू त्यतातिर कहिल्यै नलाग्ने जिकिर उनले गरिन् । गीतकार, मोडल, विद्यार्थी र विद्यार्थी राजनीति चारवटै क्षेत्रमा सन्तुलन मिलाउन कतिको गाह्रो हुन्छ त ? उनले भनिन्, ‘दुई नाउमा खुट्टा राख्न त गाह्रो छ, मैले चारवटामा राखेर
होला, कहिलेकाहीँ त के गर्ने, के नगर्ने भन्ने हुन्छ । तैपनि
सन्तुलन मिलाउँछु ।’
प्रतिक्रिया