पहिलोचोटि बाबु बन्दा

सन्तानलाभ गरेपछि केही नायिका बच्चाको स्याहारमा अल्झनुपरेका कारण चलचित्रमा फर्किन सकिरहेका छैनन् । बजारका भित्तामा टाँसिने नयाँ पोस्टरमा अरुणिमा लम्साल, सञ्चिता लुइँटेल, मेलिना मानन्धर, ऋचा घिमिरेलगायतको तस्बिर नदेखिएको लामै समय भइसक्यो । सन्तानलाभ गरेर गृहस्थीमै अड्किइरहेका उनीहरू सबैका दम्पती चलचित्र क्षेत्रमा छन् । बच्चा जन्मेपछि यी नायिका मात्र होइन, उनीहरूका श्रीमान्ले पनि खुलेर चलचित्रमा समय दिन नपाएको बताएका छन् । भनिन्छ, नौ महिना गर्भमा राखेर जन्म दिएपछि आमाको दायित्व आधा कम हुन्छ । र, त्यो दायित्व पिताको काँधमा पनि बाँडिन्छ । बच्चा नहुर्कियुन्जेल आमा घरमा बाँधिएर बस्नुपरेजस्तै, पिताहरू पनि निष्फिक्री हुन पाइरहेका हुँदैनन् । बच्चाको माया र दायित्वबोधले पनि उनीहरूलाई बाँधिरहेको हुन्छ । यसै कारण भर्खरै पिता बनेका चलचित्रकर्मी वा संगीतकर्मीलाई हिजोआज केमा व्यस्त हुनुहुन्छ भनेर सोधे उत्तर यस्तो आउँछ– सबै काम छाडेर बच्चाको स्याहारसुसारमा व्यस्तु छु, सुत्केरी श्रीमतीको हेरविचार पनि गर्नैपर्‍यो †’

विवाहको तीन वर्षपछि गत १० असारमा निर्देशक शंकर घिमिरे र नायिका ऋचा घिमिरे दम्पतीलाई पुत्रलाभ भयो । पहिलोचोटि बाबु बनेका शंकर अहिले चलचित्रको कामै छाडेर श्रीमती र बच्चाको स्याहारसुसारमा व्यस्त भइरहेको सुनाउँछन् । ‘स्याहारसुसारमा अलि बढी नै खट्नुपरे पनि गाह्रो महसुसचाहिँ भएको छैन,’ उनको अनुभूति, ‘आमाले पेटमा नौ महिनासम्म पालेर कष्ट सहन्छिन्, त्यसपछिको पालनपोषणमा त बाबाले नै ध्यान दिनुपर्‍यो नि †’ बच्चालाई स्याहार्न पाउँदा आफूमा उत्साह बढेको र त्यसले सबै दु:ख बिर्साइदिएको उनले सुनाए । सुत्केरी श्रीमतीप्रति पतिले देखाउनुपर्ने कर्तव्य आफूले राम्रोसँग निर्वाह गरेको उनलाई लाग्छ । श्रीमतीको लुगा धोइदिनुपर्ने स्थिति नआए पनि आवश्यकता परेको भए त्यो पनि गरिदिने मनस्थिति उनले बनाएका रहेछन् । ‘त्यस्तो बेलामा उनी कमजोर भएकी हुन्छिन्, काम गर्ने मान्छे पनि पाइएन भने त आफैँले गर्नुपरिहाल्थ्यो नि †’ उनले भने । न्वारानमा जुरेको छोराको नाम मिजास रहेछ । तर, योभन्दा अझै राम्रो नाम खोजिरहेका छन् शंकर । बाबुले जति खटे पनि बच्चा हुर्काउँदाको अप्ठ्यारो आमालाई नै बढी हुने उनी ठम्याउँछन् । भन्छन्, ‘आमाले भन्दा बढी बच्चाको स्याहारमा खट्ने बाबु निकै कम मात्रै हुन्छन् तर संसारका हरेक आमा बच्चाको हेरचाहमा पिताभन्दा बढी नै खटिरहेका हुन्छन् ।’
नायक मुकेश ढकाल र नायिका मेलिना मानन्धरको जोडी बाबुआमा बनेको झन्डै दुई वर्ष हुन लाग्यो । मुकेशको विचार पनि शंकरसँग मिल्दोजुल्दो छ । उनलाई लाग्दो रहेछ, ‘सुत्केरी हुनुभन्दा पहिले र पछि पनि बच्चा हुर्काउनमा पिताको भन्दा आमाकै ठूलो भूमिका हुन्छ, बाबाले त प्राय: आमा र बच्चाको स्याहार सुसारको प्रबन्ध मिलाइदिने मात्र न हो ।’ नौ महिनादेखिको प्रतीक्षापछि डाक्टरले ‘तपाईंको बच्चा’ भनेर काखमा राखिदिँदा मानवजातिले पाउने खुसी सबै एकैचोटि पाएजस्तो अनुभूति भएको उनले सुनाए । सुत्केरी श्रीमती र बच्चाको हेरचाहमै समय बिताएका रहेछन्, उनले पनि । चलचित्रका कामलाई उति प्राथमिकता दिएनछन् । घरमा दिदी–बहिनी र भाउजूहरू भएकाले सुत्केरी श्रीमतीको लुगा धुनुपर्ने स्थिति भने उनले झेल्नुपरेनछ । ‘बरु श्रीमतीका लागि जाउलोलगायत खानेकुराचाहिँ आºनै हातले बनाएर खुवाएँ,’ उनी सुनाउँछन् । सुत्केरी हुनासाथ आमा कमजोर अवस्थामा रहने र त्यसबेला बाबुले अलि खट्नुपरे पनि त्यसपछिको अवधिमा
भने आमाले नै बढी दु:ख गर्नुपर्ने उनी बताउँछन् । भन्छन्, ‘समय मिलाएर बाबुहरू बाहिर पनि निस्किरहेका हुन्छन् तर आमाले बच्चालाई छाडेर बाहिर निस्कन मुस्किलै हुन्छ ।’
गायक उदय सोताङ पहिलोचोटि बाबु बन्दा जम्मा १७ वर्षका रहेछन् । गायिका मनिला सोताङ उनकी पत्नी हुन् । अहिलेकी युवा गायिका श्रेया सोताङ उनीहरूकी एक मात्र सन्तान हुन् । परिवार सबै साथमै रहेकाले उतिबेला आफूले सुत्केरी श्रीमती र बच्चाको स्याहारमा उति धेरै खट्नु नपरेको उनी सुनाउँछन् । ‘त्यही पनि आवश्यक सामग्री जुटाउन परिवारलाई सहयोगचाहिँ गर्थें,’ उनी सम्झन्छन्, ‘भन्न त जिस्क्याउनलाई लुगा धो पनि भन्थे, तर धुनुचाहिँ परिहालेन ।’ तैपनि श्रीमती र बच्चाका लागि गर्नुपर्ने सबै कर्तव्य आफूले पूरा गरेको उनी बताउँछन् । कक्षा १२ को परीक्षा दिँदादिँदै छोरी जन्मिँदा आफूलाई कुनै विशेष र नौलो अनुभूति नभएको उनी सुनाउँछन् । ‘बरु पछि आफैँ अलि ठूलो हुँदै जाँदाचाहिँ अचम्म लाग्यो । छोरी ठूली हुँदै गएपछि सबै कुरा सामान्य लाग्न थाले,’ उनी भन्छन् । बच्चा नहुर्किउन्जेल आमा र बाबा दुवैलाई उत्तिकै गाह्रो हुने उनलाई लाग्छ । भन्छन्, ‘जन्मिइसकेपछि बाबाको काँधमा थपिने जिम्मेवारी आमाको भन्दा ठूलो हुन्छ ।’
निर्माता सुनीलकुमार मानन्धर र नायिका झरना थापा दम्पतीको पनि एउटी छोरी छन्– सुहाना । छोरी जन्मिँदा सुनीलको उमेर २० वर्ष थियो रे † भन्छन्, ‘अहिले त छोरी नै २१ वर्ष पुगिसकिन्, त्यतिबेलाको चुलबुले समयमा छोरीको बुबा कसरी बनियो, खासै अनुभूति छैन ।’ छोरीलाई आमाबाबुले हुर्काइदिएकाले सुनीलले उति ध्यानै दिनुपरेनछ । तर, आºनो बच्चा जन्मिएपछि आफूभन्दा ठूलो उमेरका अरू मान्छे सानाजस्ता महसुस हुन्थ्यो रे † पहिलोचोटि पिता बन्दाको उनको अनुभव यस्तो थियो, ‘डाक्टरले श्रीमतीको अप्रेसन गर्नुपर्ने बताएका थिए, त्यसको तयारी गरेका थियौँ । प्रसूतिगृहमा लगियो । आºनै आँखाले उनको पीडा देखेपछि मलाई साह्रै माया लागेर आयो । गर्नै नहुने काम गरेछु कि क्या हो जस्तो पनि लाग्यो मनमनै ।’ तर, उमेर बढ्दै गएपछि यी सबै सामान्य प्रक्रिया हुन् भन्ने बुझ्दै गएछन् उनले । त्यसो त सानै उमेरमा बाबुआमा बन्दा लाइफ भनेजति स्वतन्त्र नहुने उनलाई लाग्दो रहेछ । सुनीलको भोगाइमा बच्चाका कारण बढी दु:ख त आमाले नै गर्नुपर्छ । भन्छन्, ‘जन्म दिँदा साह्रै गाह्रो हुँदो रहेछ आमालाई †’

प्रतिक्रिया