‘व्यवसायका लागि चलचित्र बनाएको हुँ’


चलचित्र सगुनबाट नायकका रूपमा देखा परेका रवि बस्नेत अब निर्माताका रूपमा देखिएका छन् । उनले निर्माण गरेको अल्झेछ क्यारे पछ्यौरी प्रदर्शनको तयारीमा छ । अनाथ, घातक, सौर्य, खोजलगायत आधा दर्जनजति चलचित्र अभिनयसमेत गरेका बस्नेतसँग निर्माता हुँदाको अनुभूतिबारे गरिएको कुराकानी :

तपाईं त नायक, एकाएक निर्माताका रूपमा देखिनुभयो नि ?
मैले यस क्षेत्रमा दस बर्ष बिताएको छु । यो अवधिमा यस क्षेत्रबाट हासिल गरेजति जानकारी पाउन अन्य क्षेत्रमा जाने हो भने पनि अब उत्ति समय लाग्छ । अरू विभिन्न क्षेत्र चहार्नुभन्दा जुन क्षेत्रको ज्ञान छ, त्यसमै लगानी गरौँ भन्ने लागेको हो ।
नायकको भूमिका पाउन छाडेपछि निर्माता बन्नुभएको हो कि ?
मैले आजसम्म चलचित्र दिनुपर्‍यो भनेर माग्न गएको छैन । अभिनय गरेका चलचित्र तीन/चारवटा प्रदर्शनमा आइसके, केही आउने तयारीमा छन् । चलचित्र नपाएर होइन । व्यवसायका लागि निर्माणमा हात हालेको हुँ ।
निर्माता बन्न सजिलो कि अभिनेता ?
अभिनय पनि गाह्रै छ । दुवैलाई तुलना गर्दाचाहिँ निर्माण नै गाह्रो हो ।
चलचित्रहरूले राम्रो व्यापार गर्न नसकिरहेका बेला कत्तिको सुरक्षित देख्नुहुन्छ आºनो लगानी ?
जसले पनि फाइदाका लागि चलचित्र बनाउने हो । मैले पनि त्यही देखेको छु । मैले राम्रोसँग बुझेर मात्र लगानी गरेको हो, त्यसैले घाटा हुँदैन भन्ने लागेको छ । चलचित्र बनाउने ठूलो व्यवसायी घाटामा गएका छैनन् ।
नबुझीकन लगानी गर्नेचाहिँ डुब्छन् भन्न खोज्नुभएको ?
आफूले केही नबुझी अरूको भरमा लगानी गर्ने पनि छन् यहाँ, तीचाहिँ डुब्ने सम्भावना रहन्छ । त्यसैले निर्माणमा हात हाल्नुअघि राम्ररी बुझ्नैपर्छ ।
अल्झेछ क्यारे पछ्यौरी कुन ट्रेन्डको चलचित्र हो ?
अहिलेको ट्रेन्डभन्दा फरक छ । चलचित्रमा सोझै सेक्स चाहिन्छ भन्ने होइन । नायिकालाई साडीमा पनि कलात्मक तरिकाले सेक्सी देखाउन सकिन्छ । चलचित्र समाजको ऐना हो, जसले देशको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । यी सबै कुरा बुझेर बनाएको छु । अहिले जस्तो पायो त्यस्तै चलचित्र बनाउनेहरूका कारण दर्शक घटेका छन् । परिवारसँग आरामले बसेर हेर्न सकिने चलचित्र छ मेरो । सेक्सबारे सबैलाई थाहा छ तर त्यो उदांगो बनाएरै देखाउनुपर्छ भन्ने छैन ।
समसामयिक भएन भनेर चलचित्रको पोस्टर चेन्ज गर्न लगाउनुभयो रे नि ?
त्यस्तो होइन । केही पुरानै छ । केही नयाँ डिजाइन दिऊँ भनेर चेन्ज गरेको हो ।
तपाईंको चलचित्र दर्शकले केका लागि हेर्ने ?
चलचित्र भनेको आन्नदप्राप्तिका लागि हो । केहीछिनलाई सबै टेन्सन भुलाइदिन सक्ने खुबी चलचित्रमा हुनुपर्छ । मेरो चलचित्र आनन्दसाथ मनोरञ्जन लिन चाहने दर्शकको भावनाअनुरूप बनेको छ ।
चलचित्रले व्यापार गर्ने मुख्य आधार के हो ?
चलचित्र चल्ने, दर्शकले मन पराउने भनेको त्यसको कथा र प्रस्तुतिले हो । कलाकारले होइन । कुनै पनि निर्माताले यी कुरामा ध्यान दिए चलचित्र चल्छ त्यसमा दुईमतै छैन ।

प्रतिक्रिया