खानेपानीको मुहानमा कोलिफर्मका जीवाणु

कैलाली : डेढ महिनादेखि डोटीमा फैलिएको झाडापखाला प्रभावित क्षेत्रका पानीको मुहानमा कोलिफर्म जीवाणु भेटिएको छ ।
महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकु र विश्व स्वास्थ्य संगठनको संयुक्त टोलीले पखाला प्रभावित क्षेत्रको पानीको नमुना परीक्षण गर्दा कोलिफर्म जीवाणु भेटिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका सिनियर अहेव तेजविक्रम शाहीले बताए ।
एक साताअघि विशेषज्ञसहितको टोलीले पखाला प्रभावित क्षेत्र बगलेकको तीन, कलेनाको तीन, सानागाउँको तीन, काँडामाडौंको तीन र डोटीसिलगढी नगरपालिकाको दुई ठाउँको पानीको मुहानको पानी परीक्षण गरेको थियो । परीक्षणमा सबै पानीमा कोलिफर्म जीवाणु भेटिएको छ ।
जीवाणु मानिसको दिसामा हुने र पानीमा दिसा मिसिएर सबै ठाउँमा फैलिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए । पखाला प्रभावित व्यक्तिमध्ये आठजनाको दिसा परीक्षणका लागि पठाइएकामा ६ जनाको दिसामा हैजाको जीवाणु भेटिएको अधिकारीले जानकारी दिए ।
डोटीमा विनाफिल्टर र नउमाली तथा शुद्धीकरण नगरी पानी पिउने चलन छ । पखाला नियन्त्रण गर्न पानीको मुहान सरसफाइ, पानी शुद्धीकरणका लागि ट्यांकीमा ब्लिचिङ पाउडर राख्ने तथा पानी उमालेर मात्र पिउने अभियान चलाइएको अधिकृत शाहीले बताए । जेठ अन्तिमबाट फैलिएको पखालाले हालसम्म पाँच सय स्थानीय प्रभावित भएको र तीमध्ये नौ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । (सौस)

प्रतिक्रिया