परीक्षार्थीभन्दा पास हुनेको संख्या तेब्बर

बाग्लुङ, १७ साउन । बाग्लुङमा सवारी अनुमति पत्र (लाइसेन्स)को परीक्षामा सहभागी हुनेको संख्याभन्दा उत्तीर्ण हुनेको संख्या तेब्बर बढी देखिएको पाइएको छ । जनलेखा परीक्षण मञ्चले ७ र ८ साउनमा बांगेचौर खेलमैदानमा यातायात व्यवस्था कार्यालय धौलागिरिले लिएको लाइसेन्सको प्रयोगात्मक परीक्षामा दुई सय ४१ परीक्षा नै नदिई पास भएको दाबी गरेको हो ।

मोटरसाइकलको लाइसेन्सका लागि लिखित परीक्षा पास गरेका तीन सय ४७ परिक्षार्थीले प्रयोगात्मक परीक्षा दिएकोमा स्थलगत अनुगमनका क्रममा एक सय ४७ मात्र पास भएको मञ्चका अध्यक्ष तिलक सापकोटाले बताए । आफूहरूले दुई दिनसम्म परीक्षाको स्थलगत अनुगमन गर्दा सहभागीमध्ये परीक्षामा एकसय ६९ जना फेल भएको, २४ जनाले पुन: विचार गर्न सकिने गरी खुट्टा टेकेको र सातजनाले पोल टच गरेको उनले बताए ।
तर, यातायात व्यवस्था कार्यालयले सात सय ८७ जनाले प्रयोगात्मक परीक्षा दिएको र त्यसमा तीन सय ८८ जना परीक्षा पास गर्न सफल भएको दाबी गरेको छ । बाग्लुङमा लाइसेन्स निकाल्न सहज हुने भन्दै पोखरा, भैरहवा, चितवनलगायत स्थानबाट पनि परीक्षार्थी आउने गरेको ड्राइभिङ इन्टिस्च्युटले बताएका छन् । अन्यत्र सिसी क्यामरा जडान गरेर लाइसेन्स परीक्षा लिने भएकाले कठिन हुने र बाग्लुङमा फेल भए पनि भनसुन गरे लाइसेन्स पाइने भएकाले बाग्लुङमा आकर्षण बढेको धेरैको भनाइ छ । कतिपयले लाइसेन्स परीक्षालाई नै आम्दानीको स्रोत बनाएको स्थानीयको गुनासो छ ।
‘कार्यालयले कतै सुरुङभित्र गएर ट्रायल लिएको छैन होला,’ मञ्चका अध्यक्ष सापकोटाले भने, ‘त्यही चौरमा परीक्षा लिएको हो भने लाइसेन्स वितरणमा ठूलै आर्थिक चलखेल भएको छ ।’ स्थलगत अनुगमनको संख्या र कार्यालयले दिएको संख्यामा करिब तेब्बर फरक देखिनु गम्भीर विषय भएको उनले बताए ।
तर, यातायात व्यवस्था कार्यालय धौलागिरिका प्रमुख धर्मराज न्यौपानेले आफूहरूसँग पैसाको बार्गेनिङ गर्न मञ्चको नाममा अनुगमनको नाटक गरिएको प्रतिक्रिया दिए । ‘हामीले कम्युटर बिलिङमार्फत काम गरिरहेका छौँ,’ न्यौपानेले भने, ‘अलगअलग बिल छ, हामीले भनेका बेला रेकर्ड देखाउन तयार छौँ ।’ आफ्ना कर्मचारीबाट कुनै गल्ती भएको तथ्यसहित यथार्थ बाहिर ल्याए कारबाही भोग्न तयार रहेको उनले बताए । कार्यालयले एक महिनाको अन्तरमा बाग्लुङमा लाइसेन्सका लागि परीक्षा लिँदै आएको छ ।

प्रतिक्रिया