पूर्वमन्त्री खड्काको फैसला साउन–३० मा

काठमाडौं, १६ साउन । सर्वोच्च अदालतले पूर्व मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको भ्रष्टाचार विरुद्धको मुद्दाको अन्तिम फैसला साउन–३० गते गर्ने भएको छ ।
सर्वोच्चका न्यायाधिशद्वय कल्याण श्रेष्ठ र बैद्यनाथ उपाध्यायको संयुक्त इजलासले खड्काको भ्रष्टाचारको मुद्दाको फैसला साउन–३० गते गर्ने निर्णय गरेको हो । खड्काको भ्रष्टाचारको मुद्दामा हिजो र आज दुई दिनसम्म सुनुवाई चलेको थियो ।
गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा सफाइ दिने विशेष अदालतको फैसला विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वाेच्चमा पाँच वर्ष अघि मुद्दा दायर गरेको थियो । खड्काकी पत्नी शिला खड्कालाई पनि भ्रष्टाचारको सम्पत्ति लुकाएको अभियोग लागेको छ ।
पदको दुरुपयोग गरेर २ करोड ३६ लाख ८७ हजार बराबरको अवैध सम्पति आर्जन गरेको अभियोग अख्तियारले लगाए पनि विशेष अदालतले १२ लाख बराबरको सम्पतिको मात्रै स्रोत नखुलेको ठहर गरेको थियो ।

प्रतिक्रिया