मायाज बारको पोस्टरमा किन अटाएनन् राजेश ?

काठमाडौं, १६ साउन । एक समय थियो, दुई मिनेटको छोटो भूमिका मात्रै भए पनि नायक राजेश हमाललाई चलचित्र चलाउने मसलाका रूपमा पब्लिसिटी गर्थे निर्माताहरू । पोस्टरमा उनकै ठूलो फोटो राख्थे, भिडियो प्रमोसनमा पनि उनैका क्लिप्स बढी हुन्थे ।
तर, हमालले पछिल्लोचोटि अभिनय गरेको चलचित्र मायाज बारको पोस्टरमा भने उनको कतै नामोनिसान देखिएन । भिडियो प्रमोसनमा पनि उनी प्राथमिकतामा परेनन् । अन्तिमचोटि प्रकाशित गरेको पोस्टरमा उनको फोटो त राखिएको छ तर विगतमा जस्तो छैन ।
मायाज बारका निर्देशक दिनेश डिसीका अनुसार पोस्टरमा राजेश हमाललाई प्राथमिकता दिँदा चलचित्रको मुख्य नायकै उनी हुन् कि भन्ने भ्रम पर्न सक्ने भएकाले पब्लिसिटीमा उनलाई ध्यान नदिइएको हो । डिसीले भने– ‘हमाललाई माइनस गरेको होइन, उनको भूमिकाअनुसार प्रमोसन गरिएको हो ।’
मायाज बारमा हमाल नेगेटिभ भूमिकामा छन् । हमाललाई काठमाडौंलाई लुट गर्ने स्तरीय भिलेनका रूपमा प्रस्तुत गरिएको डिसीले बताए । भने– ‘यसअघिका प्राय: सबै चलचित्रमा उनले मुख्य अभिनेता तथा अतिथि कलाकारका रूपमा काम गरे तर उनले भिलेनको रोलचाहिँ यही चलचित्रमा पहिलोचोटि गरेका छन् ।’ हमाल पुरानै कलाकार भएकाले नयाँ अनुहारलाई जसरी प्रोमोसन गर्न आवश्यकता पनि नरहेको डिसी सुनाउँछन् । ‘पछिल्लो समयका केही पोस्टरमा हमालको ठूलो फोटो देखिने तर भूमिकाचाहिँ दुई मिनेटको पनि नपाएपछि दर्शकले आफू झुक्किएको अनुभूति गर्न थालेका छन् । हमालको छोटो भूमिका त होला नि भन्दै पोस्टरलाई पत्याउनै छोडेका छन्, त्यसैकारण हामीले यसपालि राजेशको फोटो पब्लिसिटी नगरीकनै हेरौँ न त भन्ने सोच्यौंँ’, दिनेशले गाँठी कुरा सुनाए । पोस्टरमा हमाललाई प्राथमिकता नदिँदा ‘उनको जमाना गएको’ भनेरचाहिँ दर्शकहरूले बुझ्न नहुने डिसीले बताए । भने– ‘हमालको क्रेज दर्शकमा घटेको होइन, फरक भूमिका भएकाले मात्र पहिलेजसरी प्रोमोट नगरिएको हो ।’
कलाकारलाई पब्लिसिटीमा राख्नु/नराख्नु
आ–आफ्नो स्टाइल भएको उनी सुनाउँछन्, ‘कतिपय अवस्थामा कलाकारको नामै नभनीकन पनि पब्लिसिटी गर्न सकिन्छ ।’ मायाज बार साउन १२ गतेदेखि अल नेपाल रिलिज भइरहेको छ । शुक्रबार र शनिबारको व्यापारले दोस्रो साताका लागि होल्डओभर पुग्ने देखिएको निर्देशक डिसीले बताए । ‘दर्शकले मायाज बार–२ बनाउन सुझाब दिएका छन्’, उनले हौसिँदै भने ।

प्रतिक्रिया