फुटबल प्रतियोगितामा तनाव

ताप्लेजुङ, १६ साउन । ताप्लेजुङमा जारी पूर्वाञ्चलस्तरीय कञ्चनजंघा च्यालेन्ज रनिङ कप फुटबल प्रतियोगितामा उत्पन्न तनाब शान्त पार्न प्रहरीले गरेको लाठी चार्जमा एकजना खेलाडी घाइते भएका छन् । डियर क्लब, तरहराका दीपेश थापामगर घाइते भएका हुन् । उनलाई तत्काल जिल्ला अस्पताल लगिएको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।
पाहुना टोली डियर क्लब, तरहराका खेलाडी सुर्वण लिम्बूमाथि एपिएफ ताप्लेजुङका एक खेलाडीले हातपात गरेपछि तनाब भएको हो । प्रहरीबाट पाहुना खेलाडीमाथि हातपात तथा लाठीचार्ज भएको भन्दै आयोजक खेल सञ्चालन गर्ने या नगर्ने भन्नेमा अन्योल भएको छ । मंगलबारका खेल सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा छलफल गर्न आयोजक समितिको आकस्मिक बैठक बसिरहेको छ ।
एपिएफका खेलाडीले के कारणले तरहराका खेलाडीलाई हातपात गरेको हो भन्ने अनुसन्धान भइरहेको बताइएको छ । एपिएफ र तरहराबीचको खेल सकिएलगत्तै हातपात भएकाले खेलकै विषयलाई लिएर विवाद भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यसअघि एपिएफ ताप्लेजुङ र डियर क्लब, तरहराबीचको खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमा एपिएफले तरहरालाई ३—० ले पछि पारेको थियो ।
निर्धारित समयमा तरहराका सुवर्ण लिम्बू तथा एपिएफका दीपक लिम्बूले एकएक गोल गरे भने ट्राइबेकरमा एपिएफका दीपक लिम्बू, प्रदीप चौधरी तथा उमेश राई तीनैजनाले प्रहार गरेको गोलले जाली चुमेको थियो । तरहराका तर्फबाट कसैले पनि गोल गर्न सकेन ।
भानुजन उच्च माविको खेलमैदानमा सोमबारै भएको अर्को खेलमा मनमाया स्पोर्टिङ क्लब, थुकिम्माले आयोजकलाई ८–१ गोलको फराकिलो अन्तरले पछाडि पारेको छ । विजेताका लागि बाबु धिमाल एक्लैले चार गोल गरे । विशाल राई, योगेश गुरुङ, आजत प्रधान, तथा विशाल लिम्बूले पनि विजयी टोलीका लागि एकएक गोल गरे । यस्तै, कर्णसिंह सोनाम स्मृति क्लब, फुङलिङ र संघर्ष स्पोर्टिङ क्लब, फुङलिङबीच भएको खेलमा शून्यका विरुद्ध १ गोल गर्दै कर्णसिंह सोनाम स्मृति क्लबले क्वार्टरफाइनलको यात्रा तय गरेको छ । संघर्षका लागि चिरन तामाङले गरेको गोल नै निर्णायक बन्यो ।
द राइजिङ स्पोर्टिङ क्लब, धरान र ब्राइट फ्युचर स्पोर्टिङ क्लब, दोखुबीच भएको अर्को खेलमा ब्राइट फ्युचर स्पोर्टिङ क्लब दोखुलाई २–० गोल अन्तरले पछाडि पार्दै द राइजिङ स्पोर्टिङ क्लब, धरान विजयी बनेको छ । धरानका लागि प्रकाश तामाङ एक्लैले २ गोल गरे । बेलबारी फुटवल क्लब, मोरङ र जिमी पोखरी स्पोर्टिङ क्लब फुङलिङबीच भएको खेलमा बेलबारीले जिमी पोखरीलाई ३—१ गोलले पराजित गरेको छ । बेलबारीका लागि विशाल तामाङ, प्रदीप तामाङ र राजु लिम्बूले एकएक गोल गरे भने जिमी पोखरीका किरण राईले एक मात्र सान्त्वना गोल गरे ।

प्रतिक्रिया