एकै परिवारका चार मानसिक रोगी

राजविराज, १६ साउन । ‘पतिसहित छोराछोरी सबै रोगी भए,’ राजविराज–३ की ३० वर्षीया रामपरिदेवी शर्माले भनिन्, ‘परिवारका सबै कडा मानसिक रोगबाट ग्रसित भएपछि उपचारको चिन्ता बढेको छ ।’

३६ वर्षीय पति गणेश, २० वर्षीय छोरा मनोज तथा १७ वर्षीया छोरी पुनम र १३ वर्षीया छोरी कोशिलाकुमारीलाई ‘सिजोफ्रेनिया’ भएको छ । दुई महिनाअघि स्थानीय सगरमाथा अञ्चल अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनीहरूलाई सिजोफ्रेनिया भएको पुष्टि भएको हो ।
परिवारका चारजना बिरामी परेपछि रामपरी औषधि खुवाउने काममा तल्लीन छिन् । ‘सबै कुरा छाडेर औषधि छुट्ला भन्ने चिन्ताले सताउँछ,’ उनले भनिन् । वीरगन्ज मेडिकल कलेजका नसा तथा मानसिक रोग विशेषज्ञ भरतकुमार गोइतले सिफारिस गरेको औषधि उनीहरूले नियमित सेवन गरिरहेका छन् । तर, औषधि कहिलेसम्म खाने र रोग निको हुन्छ कि हुँदैन भन्ने चिन्ताले सताएको उनले बताइन् । ‘आर्थिक अवस्था कमजोर छ, पति लोहारको काम गर्नुहुन्छ,’ रामपरीदेवीले भनिन्, ‘दुईचार पैसाका लागि अर्काकोमा भाँडा माझ्ने काम गर्छु ।’
परिवारमा १३ जना छन् । करिब पाँच धुर जग्गामा बनेको झुप्रोमा जीवनयापन गर्दै आएका उनीहरूको दैनिक गुजारासमेत कठिन छ । रामपरीका अनुसार छोरा मनोज मानसिक रूपमा पूर्ण अशक्त छन्, पति र छोरीहरू पुनम र कोशिला सामान्य होस पाउने अवस्थामा छन् तर उनीहरूको समेत बेलाबखत सोच्ने, कुरा गर्ने र काम गर्ने कुरामा एकरूपता छैन ।
मानसिक रोग विशेषज्ञ डा. गोइतका अनुसार वंशाणुगतरूपमा सर्ने यो रोग अत्यन्त जटिल प्रकारको मानसिक रोग हो । विश्वका करिब एक प्रतिशत मानिसमा पाइने यो रोग नेपालमा एक दशमलव पाँच प्रतिशतभन्दा बढी व्यक्तिमा पाइएको छ । ३३ प्रतिशतसम्म रोगी उपचारपछि ठीक हुने गरेको पाइएको छ ।

प्रतिक्रिया