काठमाडौं, १५ साउन । नेपाल राष्ट्र बैंकले उत्पादनमूलक र जलविद्युत् क्षेत्रमा कुल कर्जा लगानीको १० प्रतिशत लगानी गर्नुपर्ने निर्देशन जारी गरेपछि कृषि क्षेत्रको कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको ११ महिनाको तथ्यांकअनुसार गत आवको जेठ महिनासम्म वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा मात्रै २२ अर्ब ७० करोड रुपियाँ ऋण लगानी गरेका छन् । यो गत वर्षको यस क्षेत्रमा गएको कर्जाभन्दा ६० प्रतिशतले बढी हो । अघिल्लो वर्ष कृषि क्षेत्रमा १४ अर्ब १९ करोड रुपियाँ कर्जा गएको थियो ।
नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा गएको कर्जाको वृद्धि दरलाई सकारात्मक रूपमा लिएको बताएको छ । राष्ट्र बैंककै नीतिगत सुधारका कारण कृषि कर्जामा वृद्धि भएको केन्द्रीय बैंकले दाबी गरेको छ । रियल स्टेट र सेयर बजारमा गएको कर्जा विस्तारै खराब कर्जामा परिणत भएर सोबापत ठूलो रकम छुट्याउनुपरेपछि बैंकरहरू नयाँ लगानीको क्षेत्र खोल्ने क्रममा कृषि क्षेत्रतर्फ आकर्षित भएको केन्द्रीय बैंकका अधिकारी बताउँछन् ।
तरलता अभाव हुँदा ब्याज बढाएर निक्षेप आकर्षित गर्ने वाणिज्य बैंकले अहिले विस्तारै कृषि कर्जा समावेश गरेर विज्ञापन गर्न थालेका छन् । यसबाट पनि बैंकहरू कृषि कर्जातिर विस्तारै आकर्षित भएको पुष्टि हुन्छ । केन्द्रीय बैंक अधिकारीका अनुसार सहर नजिकका जिल्लामा विस्तारै विकसित हुँदै गएको व्यावसायिक खेती गर्ने प्रचलनका कारण कृषि क्षेत्रको कर्जामा वृद्धि भएको हो । कोरिया, इजरायललगायत देशमा वैदेशिक रोजगारीमा गएर फर्केकाले विस्तारै नेपालमै कृषि कर्जा लिएर व्यावसायिक कर्जा लिन थालेको ती अधिकारीले बताए । केन्द्रीय बैंकले कृषि, ऊर्जालगायत उत्पादनमूलक क्षेत्रमा १० प्रतिशत कर्जा लगानी गर्न निर्देशन दिए पनि सो क्षेत्रमा नगए जरिवाना लगाउने काम भने केन्द्रीय बैंकले गरेको छैन ।
राष्ट्र बैंकले फार्मिङ, चिया, पशुपालन, वन तथा माछापालन र अन्य कृषिजन्य सेवा शीर्षकमा दिएको कर्जालाई कृषि क्षेत्र कर्जाअन्तर्गत राख्ने गरेको छ । गत वर्षको ११ महिने तथ्यांकअनुसार फार्मिङमा एक अर्ब ६५ करोड २६ लाख रुपियाँ, चिया उत्पादनका लागि एक अर्ब ४० करोड आठ लाख, पशुपालनका लागि दुई अर्ब ५९ करोड ३० लाख, वन तथा माछापालनका लागि २१ करोड २० लाख र अन्य कृषिजन्य सेवा कर्जामा १६ अर्ब ७९ करोड १६ लाख रुपियाँ कर्जा गएको देखाएको छ । ११ महिने तथ्यांकले कृषि कर्जा अत्यधिक बढेको देखाएपछि लगानी नभएर छटपटाइरहेका बैंकहरू कृषि कर्जा बढाउने लक्ष्यका साथ आफ्ना शाखा कार्यालयलाई टार्गेट दिन लागेका छन् ।
गत आवको पहिलो एघार महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा तथा लगानी १४ दशमलव १ प्रतिशत अर्थात् एक सय २० अर्ब १४ करोड रुपियाँले बढेको छ । समीक्षा अवधिमा वाणिज्य बैंक र विकास बैंकहरूको कर्जा तथा लगानी क्रमश: १६ दशमलव ९ प्रतिशत र १७ दशमलव ९ प्रतिशतले बढेको छ भने वित्त कम्पनीको कर्जा तथा लगानी १ दशमलव ७ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १० दशमलव ३ प्रतिशत अर्थात् ७१ अर्ब ५० करोड रुपियाँले बढेको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंक र विकास बैंकको कर्जा प्रवाह क्रमश: १४ प्रतिशत र ८ दशमलव ३ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको १० दशमलव ५ प्रतिशतले घटेको छ । वाणिज्य बैंकहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २६ अर्ब २६ करोड रुपियाँले बढेको छ । त्यसैगरी, निर्माण क्षेत्रतर्फको कर्जा आठ अर्ब ९७ करोडले, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १४ अर्ब ८१ करोडले र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा तीन अर्ब ६९ करोड रुपियाँले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन १८ दशमलव २ प्रतिशत अर्थात् एक सय ४९ अर्ब ९२ करोड रुपियाँले बढेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकको निक्षेप परिचालन २० दशमलव ४ प्रतिशतले, विकास बैंकको २४ दशमलव ३ प्रतिशतले बढेको छ भने वित्त कम्पनीको निक्षेप परिचालन शून्य दशमलव १ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया