ननिको निमोनिया

मौसम परिवर्तनसँगै सामान्य रुघाखोकी देखिनु स्वाभाविकै हो । छिनमै चर्को गर्मी त छिनमै झरर पानी पर्ने अहिलेको मौसममा रुखाखोकीको सम्भावना बढिरहेको हुन्छ । तर, यो रुघाखोकीलाई बेवास्ता गरियो भने यसले निमोनियासम्मको डरलाग्दो अवस्था पनि निम्त्याइदिन सक्छ । अहिले यस्तै भएको छ, देशभरि निमोनियाका बिरामी बढेका छन् । विशेष गरी यसले पाँच वर्षमुनिका बालबालिकालाई बढी च्यापिरहेको हुन्छ । त्यसैले सामान्य रुघाखोकी देख्नासाथ बच्चालाई उचित स्याहार गर्न थालिहाल्नुपर्छ । वर्षातको चिसो शरीरमा गड्न दिनु हुँदैन ।

चिकित्सकका अनुसार निमोनिया श्वासप्रश्वाससम्बन्धी रोग हो । यो रोग लाग्दा शिशुलाई खोकी लाग्छ, ज्वरो आउँछ र सास फेर्न गाह्रो हुन्छ । छिटो–छिटो सास फेर्छ । एक मिनेटमा एकवर्षे शिशुले ५० देखि ६० पटकसम्म सास फेर्छ भने त्यो छिटो मानिन्छ । कान्ति बालअस्पतालका निर्देशक डा. आरपी बिच्छा प्रतिमिनेट ४० पटकभन्दा कम सास फेर्ने शिशु निरोगी हुने बताउँछन् । ‘आँखाले देख्न नसकिने किटाणुबाट श्वासप्रश्वाससम्बन्धी फोक्सो र त्यसका सहायक अंगमा संक्रमण भई सास फेर्न असजिलो भएपछि निमोनिया हुने गर्छ,’ उनले भने, ‘निमोनियाले फोक्सो र त्यससँग सम्बन्धित अन्य
अंगमा असर पार्छ ।’ रुघाखोकी हुनेबित्तिकै घरेलु उपचारमा ध्यान दिने हो भने निमोनिया हुनबाट जोगाउन सकिने उनले बताए ।
विज्ञका अनुसार नेपालमा बालमृत्युको प्रमुख कारण निमोनिया नै हो । स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाको पछिल्लो तथ्यांकअनुसार श्वासप्रश्वाससम्बन्धी रोगबाट बर्सेनि २ लाख ८५ हजार बालबालिका पीडित हुने गरेका छन् । तीमध्ये १५ हजारको मृत्युको निमोनिया नै हुन्छ । पछिल्ला तीन वर्षयता निमोनियाबाट संक्रमित हुने बालबालिकाको संख्या बढिरहेकोप्रति महाशाखा चिन्तित छ ।
शिशुको कोखा हान्नुलाई पनि निमोनियाको लक्षण मानिन्छ । शिशुले सास लिँदा छातीको तल्लो भाग र पेटको माथिल्लो भागको छाला भित्र पसेमा कोखा हानेको हुन्छ । स्वस्थ शिशुले सास लिँदा छातीको तल्लो भागको छालाका साथै छातीको सम्पूर्ण भाग बाहिर आउने डा. बिच्छाले बताए । उनका अनुसार नङ तथा ओठ नीलो भएको अवस्थालाई गम्भीर रूपमा हेर्नुपर्छ, अक्सिजन दिनुपर्ने पनि हुन सक्छ । यी लक्षण देख्नासाथ एक मिनेट पनि ढिलो नगरी अस्पताल पुर्‍याउन उनी सुझाउँछन् । गम्भीर अवस्थामा पुगिसकेका बच्चामा ब्युँझाउन गाह्रो हुने, झोल कुरा तथा आमाको दूध राम्ररी पिउन नसक्ने, कडा कुपोषण देखिने, ज्वरो आउने, नाइटो पाक्ने, छालामा पिपले भरिएका फोका देखिने लक्षण पनि हुन सक्छ ।
कान्ति बाल अस्पताल रेकर्ड शाखाकी प्रमुख बिन्दु श्रेष्ठका अनुसार कान्तिमा श्वासप्रश्वाससम्बन्धी रोगबाट संक्रमित नौ सय बालबालिका हरेक महिना उपचारका लागि आउने गरेका छन् । तीमध्ये पाँच सयभन्दा बढीलाई निमोनिया हुन्छ । काठमाडौंमा वायु प्रदूषण र धुलो धुवाँका कारण छातीमा संक्रमण देखिनाले पनि पाँच वर्षमुनिका बालबालिकामा निमोनिया बढेको बालरोग विशेषज्ञ डा. रमेशचन्द्र अधिकारी बताउँछन् । उनका अनुसार बढी जनघनत्व, सरसफाइको कमी र हेरचाह अभावले पनि यो जोखिम बढाउन थप भूमिका खेलेको छ ।
निमोनियामा ज्वरो आयो भन्दैमा आफूखुसी सिटामोल अथवा अन्य औषधि खवाउन नहुने चिकित्सक बताउँछन् । साधारण रुघाखोकीमै औषधि प्रयोग गर्दा पनि शिशुमा नराम्रो असर पर्न सक्छ । निमोनिया औषधिबाट निको पार्न सकिन्छ तर त्यो औषधि चिकित्सकको परामर्शमा प्रयोग गरिएको हुनुपर्छ ।
घरेलु उपचार
निमोनिया औषधिले मात्र निको हुने होइन, यसको महत्त्वपूर्ण उपचार भनेको हेरचाहमा ध्यान दिनु नै हो । लक्षण देखिनासाथ बच्चालाई न्यानो पारेर राख्नुपर्छ, आमाको दूध पटक–पटक खुवाइराख्नुपर्छ । किनकि यस्तो बेला बच्चाले एकैपटक धेरै दूध चुस्न सक्दैन । बच्चालाई सास फेर्न असजिलो हुने भएकाले सफा कपडा नुनपानीमा चोबेर नाक सफा गरिरहनुपर्छ । खोकी बढी लागेमा घरेलु मह, अदुवाको रस, तुलसीको पात राखेर उमालेको पानीमा बेसार मिलाएर खुवाउनु राम्रो मानिन्छ । पीडित शिशुको उमेर ६ महिनाभन्दा बढी छ भने झोल पदार्थ र खानेकुरा पहिलेभन्दा बढी खुवाइरहनुपर्छ ।

लक्षण
बालबालिकालाई खोकी लाग्ने, सिँगान बग्ने र हल्का ज्वरो आउने गर्छ । छिटोछिटो सास फेर्ने, सास फेर्न असजिलो हुने, अत्यधिक ज्वरो आउने र कोखा हान्ने हुन्छ । कडा खालको निमोनिया भएमा बच्चा खान, पिउन नसक्ने, बेहोस हुने र आमाको दूधसमेत चुस्न नसक्ने हुन्छ । कुनै–कुनै बच्चाले सास फेर्दा पनि अस्वाभाविक आवाज निकाल्न सक्छन् ।

पूर्वसावधानी
– बच्चालाई न्यानो तर हावा आउन जान सक्ने कोठामा राख्नुपर्छ ।
– न्यानो लुगा लगाइदिनुपर्छ, सकभर भान्सा कोठामा राख्नुहुँदैन । धुवाँ, धुलो र मट्टीतेलको खारबाट जोगाउनुपर्छ ।
– जन्मेको एक वर्षभित्रै सम्पूर्ण खोपको मात्रा दिइसक्नुपर्छ ।
– जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । त्यसपछि पोसिलो र ताजा खानेकुरा पनि थप्नुपर्छ ।
– धुलो र फोहोर वातावरणमा खेल्न दिनु हँुदैन ।
– चिसोपानीले नुहाइदिनु हुँदैन ।
– बालबालिका भएको ठाउँमा धूमपान गर्नु हँुदैन ।
– बालबालिकालाई पानीमा भिज्न दिनु हुँदैन ।

प्रतिक्रिया